किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड



नेपालगन्ज ।

नेपालगन्जमा आयोजित एक कार्यक्रमका वक्ताहरूले किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल जडिबुटी ब्यवसायी संघको २६औँ साधारणसभा उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले किसानहरूलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्न सकिए आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा पाइने दुर्लभ र अमूल्य जडिबुटीहरूको व्यवसायिक खेती गरी संरक्षण, संबद्र्धन र सदुपयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो । जडिबुटी व्यवसायीहरूले नेपालमा जडिबुटीसम्बन्धी नीतिलाई केही परिमार्जन गरिएपनि कार्यान्वयन प्रभावकारी हुन नसकेको गुनासो पनि गरेका छन् ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सांसद मिनाकुमारी सिद्दिकीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपाल जडिबुटी व्यवसायी संघका निवर्तमान अध्यक्ष मो.याकुब अन्सारी, संघका सल्लाहकार शकिल अहमद जसगढलगायतले बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सिद्दिकीले जडिबुटी नेपालको समृद्धिको आधार भएको भन्दै जडिबुटी खेतीलाई प्रवद्र्धन गर्दै अघि बढ्न सक्नुपर्नेमा जोड दिइन् । नीतिगत उल्झन फुकाउन आफ्नो तर्फबाट प्रयास गर्ने उनको भनाइ छ । त्यस अवसरमा जडिबुटीको व्यवसायिक खेती गरिरहेका सल्यान छत्रेश्वरीका किर्तिबहादुर वली र सुर्खेत सिम्ताका लालबहादुर बुढालाई संघले सम्मान पनि गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार