नवलपरासी पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा



श्यामलाल पोखरेल । बुटवल ।

नवलपरासी जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि घोषणा गरिएको हो ।
नेपाल सरकारले प्रदान गरेका सबै खोपहरू जिल्लाका १५ महिनामुनिका सबै बालबालिकाहरूलाई लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

हालसम्म १५ महिनामुनिका खोप प्राप्त गरिरहेका बालबालिका ६ हजार ४ सय ५७ जना रहेको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । कार्यालयका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका पूर्णखोप प्राप्त गरिसकेका १८ हजार ४ सय ५९ जना बालबालिका छन् । स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख अंगदबहादुर शाहीले यस आर्थिक वर्षमा खोप लगाउन छुटेका १ सय ७३ जना बालबालिकालाई पनि खोप दिएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको बताए ।

नवलपरासीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नका लागि गत माघ महिनादेखि कार्यक्रम सञ्चालन गरिएको खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । उनका अनुसार २०८१ को माघ महिनादेखि घरभेट अभियान सञ्चालन गरिएको थियो । घरभेट अभियानमा ३ सय ५८ जना महिला स्वयंसेवीका, १ सय ६० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । सोही कामको अनुगमनका लागि ७६ जना स्वास्थ्य इन्चार्जहरू खटाइएको थियो ।

त्यस्तै ७ वटा पालिकाका ७ जना स्वास्थ्य शाखा प्रमुख, जिल्ला समन्वय समिति र पालिकास्तरीय खोप समिति र स्वास्थ्य कार्यालय नवलपरासी, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी, डब्लु एचओ र संघसंस्थाको प्रतिनिधिहरूको टोलीले सर्भे गरेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनुपर्ने बताए । उनले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेर नवलपरासीले समग्र देशका लागि सकरात्मक सन्देश दिएको बताए ।

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षता र खोप अधिकृत भेषराज शर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री खड्ग बस्नेत, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, निर्देशक रोशनलाल चौधरी, रामग्राम नगर प्रमुख धनपति यादव, उपप्रमुख सम्झना चौधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, काँग्रेस कार्यवाहक सभापति विक्रम यादव, स्वास्थ्य स्वयंसेविका सञ्जालकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार