तिलोत्तमाका किसानलाई १२ लाखसम्म अनुदान



श्यामलाल पोखरेल । बुटवल ।

विकासका कामदेखि सरसफाइ, मानवमुक्त सडकदेखि हरेक कामले नाम कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।

तिलोत्तमा नगरपालिकाले कृषिबाट नगरलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित किसानलाई प्रोत्सान गर्ने गरी २० हजारदेखि १२ लाखसम्म अनुदान दिने गरेको छ । कृषि उत्पादनका लागि उर्भरभूमि तिलोत्तमा खाद्यान्न बालीका लागि आत्मनिर्भर मानिन्छ । प्राङगारिक तरकारी प्रवद्र्वनका लागि रासायनिक मल न्यूनीकरण गरेर १० कठ्ठा जमिनमा तरकारीखेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिने गरिएको कृषि शाखा प्रमुख दोमला भुसालले जानकारी दिए ।

कृषि शाखा प्रमुख भुसालका अनुसार तिलोत्तमा नगर सरकारले साना कृषि औजार खरिदका लागि ५० प्रतिशत अनुदान दिने गरेको छ । साना ठूला किसानहरूलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याएको छ । कृषिका लागि मौसमी र बेमौसमी दुवै खेती राम्रोसँग उत्पादन हुने तिलोत्तमामा अहिले २ सय ५० वटा कृषक समूह रहेका छन् ।

तिलोत्तमा नगर क्षेत्रमा खाद्यान्न बाली अन्तर्गत धान खेती ६ हजार ८ सय ४ हेक्टर क्षेत्रफलमा हुने गर्दछ । गहुँबाली २ हजार ७ सय १ हेक्टर र मकैबाली ९ सय ८० हेक्टर खेती हुने गरेको शाखा प्रमुख भुसाल बताए । भुसालका अनुसार ३ हजार ५० हेक्टर क्षेत्रफको जमिनमा तरकारीखेती हुने गरेको छ । जसमा १२ सय ५० हेक्टरमा बर्खे तरकारीखेती र १८ सय हेक्टरमा हिउँदे तरकारीखेती हुने गर्दछ ।

तिलोत्तमा नगरपालिकाको कृषि शाखाको तथ्यांक अनुसार तिलोत्तममा ६० प्रतिशत बढी क्षेत्रमा हिउँदमा पनि सिँचाइ हुने गर्दछ । त्यस्तै तिलोत्तममा नगरपालिकाले आर्थिक वर्ष २०७६–२०७७ सालदेखि दूध उत्पादक किसानहरूलाई पनि अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०८०–२०८१ मा दूध उत्पादन गरेर बिक्री गरेका किसानहरूलाई नगरपालिकाले प्रति लिटर दूधको २ रूपैयाँका दरले अनुदान दिएको छ ।

तिलोत्तमा नगरपालिकाले १९ वटा सहकारीमार्फत २ हजार ६२ जना किसानलाई ३१ लाख २४ हजार ५ सय ८१ लिटर दूधको विभिन्न १९ वटा सहकारीहरूको माध्यमबाट दुग्ध किसानलाई प्रति लिटर २ रूपैयाँका दरले ६२ लाख ४९ हजार १ सय ६२ रूपैयाँ वितरण गरिएको छ । नगरपालिकाले आइतबार १० वटा सहकारीका अध्यक्ष तथा प्रतिनिधि, कृषि तथा पशुपालन क्षेत्रका विज्ञ, सञ्चारकर्मी र सरोकारवालाहरूको सहभागितामा नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

किसानहरूले सहकारीबाट प्रति लिटर २ रूपैयाँका दरले पाउने छन् । कृषि उत्पादनलाई बढाएर नगरलाई आत्मनिर्भर गराउने गरी सबै क्षेत्रका किसानहरूलाई आवश्यक अनुसार सहयोग पुराउने नगर प्रमुख खाँणले बताए । हरेक क्षेत्रमा आशा र सम्भावना बोकेको तिलोत्तमालाई कृषिमा पूर्णआत्मनिर्भर बनाउने गरी कृषि कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए ।

कृषि तथा पशुपालनबाट समग्र देशलाई आत्मनिर्भर बनाउनु पर्ने बताउँदै उनले भने, ‘तिलोत्तमाले यो काम सुरु गरेको छ । यसलाई हामीले निरन्तरता दिन्छौँ र आत्मर्निभर बनाउछौँ । अब कृषिलाई प्रविधिमैत्री बनाउनु पर्छ ।’ उपप्रमुख चौधरीले नगरलाई कृषिमा आत्मनिर्भर गराउनु पर्ने र त्यसका लागि सबैको साथ सहयोग चाहिने बताइन् ।

तिलोत्तमा नगरपालिकाले सिँचाइका लागि विशेष चासो दिँदै आएको छ । सिँचाइ डिभिजन कार्यालयले मोटरको माध्यमबाट सिँचाइका लागि किसानहरूलाई सहयोग गरेको छ । तर सबैभन्दा भरपर्दो पुस्तौँ पुस्तादेखि सिँचाइ गरिने तिनाउ नदीको नहरबाटै कुलोमा पानी कम आउन थालेपछि तिलोत्तमाको अधिकांश ठाउँमा मोटरको प्रयोग गरी जमिनमुनिको पानीबाट किसानहरूले सिँचाइ गर्न थालेका छन् ।

मानवबस्ती बढेपछि भएको उत्पादमूलक कृषि गर्ने जमिन खण्डहर हुँदै गएपछि तिलोत्तमाको खेती हुने धेरैजसो ठाउँ शहर बजार जस्तै बनेको छ । मानवीय बस्ती र भौतिक विकासले फड्को मारेपनि तिलोत्तमाको खेतीयोग्य जमिन घट्दै गएको छ ।

रुपन्देहीबाटै र रुपन्देही बाहिरबाट बसाइँसराई गरेर आउनेहरूको सङ्ख्या बढ्दै जाँदा तिलोत्तमाको खेतीयोग्य जमिन घडेरीका रूपमा बिक्री भएपछि खाद्यान्न बाली लगाउने तथा खेतीगर्ने जमिनको क्षेत्रफल घट्दै गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार