नेपालगन्ज ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले गठन गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले चाडै नियमनको काम थालनी गर्ने बताएका छन् । मन्त्री अधिकारीले प्राधिकरणले जेठको पहिलो साताभित्र निर्देशन जारी गर्ने र त्यसपछि निर्देशिकाअनुसार नियमनको काम अघि बढाउने बतएका छन् ।
नेपालगन्जमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्सकुन)द्वारा आयोजित तीन प्रदेशस्तरीय साकोस गोष्ठी उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारीभित्रका अनियमितताका विषयलाई नियमनमा ल्याएर विधिसम्मत रुपले सञ्चालन गर्न गराउन अव प्राधिकरण मार्फत काम सुरु गरिने बताए ।
मन्त्री अधिकारीले केही सहकारी सञ्चालकहरू नियम, विधिको आधारमा नचलेका कारण अनियमितता बढेको त्यसले असल सहकारीलाई पनि असर गरेको बताए । मन्त्री अधिकारीले भने, ‘एकदुई सहकारीले गलत गरेको आधारमा सहकारी गलत छन् भन्ने भाष्य उत्पन्न गरिएको छ, यसको अन्त्य गर्नुपर्छ । अब हामीले गाउँ गाउँमा सहकारी सफल रूपमा सञ्चालन भइरहेका छन् भन्ने कुराको उदाहरण देखाएर पुष्टि गर्नुपर्ने समय आएको छ ।’
उनले सहकारी चाहिन्न् भन्ने केही व्यक्तिहरूले सबै सहकारीहरू गलत हुन् भन्ने भाष्य निर्माण गर्न खोजेको पनि बताएका छन् । निम्न वर्गसम्म वित्तीय सेवा पु¥याउन सहकारी बाहेक अर्को विकल्प नरहेको भन्दै मन्त्री अधिकारीले सहकारीको विकास, प्रवद्र्धन र संरक्षणमा सरकारसँगै हातेमालो गरेर अगाडि बढ्न सहकारीकर्मीहरूलाई अनुरोध गरे । ‘सहकारीलाई सफल बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको छ, यसमा गलत गर्नेलाई कारबाही र राम्रोलाई प्रोत्साहन गर्ने काम हुन्छ,’ उनले भने ।
मन्त्री अधिकारीले सहकारीका सम्बन्धमा नेपाल राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयसँग समन्वय नै नगरी मापदण्ड जारी गरेको पनि बताएका छन् । उनले आफूले उक्त विषयमा राष्ट्र बैंकलाई जानकारीसमेत गराइसकेको बताए । उनले भने, ‘सहकारीको नियमन राष्ट्र बैंकले होइन राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गर्ने हो, त्यसमा सहकारीकर्मीहरू कत्तिपनि आत्तिनु पर्दैन ।’
साकोस गोष्ठी सम्पन्न
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्सकुन)ले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साकोस गोष्ठी नेपालगन्जमा सम्पन्न गरेको छ । ‘सञ्जाल सबलीकरणका लागि एकता र सहकार्य’ नारासहित आयोजित गोष्ठीको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरेका थिए । नेफ्सकुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित गोष्ठीमा तीनवटा कार्यपत्रहरू प्रस्तुत गरियो भने ती कार्यपत्रमाथि छलफलसमेत भएको थियो ।
गोष्ठीमा ‘साकोस अभियानको प्रवद्र्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्सकुनका सिईओ डा.शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि लुम्बिनी प्रदेश सरकारका सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख मधुकृष्ण पौड्यालले टिप्पणी गरेका थिए ।
त्यसैगरी ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीले पस्तुति गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी नेपालगन्ज उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले गरेका थिए ।
तेस्रो सत्र ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवम् प्रवक्ता रविन ढकालले कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलले टिप्पणी गरेका थिए ।
नेफ्सकुनले वैशाख २५ र २८ मा कोशी र मधेश प्रदेशस्तरीय साकोस गोष्ठी भव्यरूपमा सम्पन्न गरिसकेको छ । गोष्ठीमा तीन प्रदेशका बचत तथा ऋण सहकारी संघ संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् व्यवस्थापन प्रमुखहरू गरी २५० जना भन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्