स्वरोजगार बनाउन गाउँगाउँमा सिपमूलक तालिम



शिवु खनाल । दाङ ।

लमही नगरपालिका वडा नम्बर ९ हर्दवा निवासी तुसली वली गिरी गाउँमा साबुन र सर्फ बनाउने उपकरण थप गरी व्यवसाय सुरु गर्ने योजनामा छिन् । लमही नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको सातदिने साबुन र सर्फ बनाउने तालिममा सहभागी भई तालिम लिएपश्चात् गाउँमै उद्यम गर्ने योजनामा रहेको उनी बताउँछिन् ।

साबुन र सर्फ बनाउने सीप सिकेकी उनले एक उदाहरणीय उद्यमीका रूपमा परिचित भई गाउँमै साबुन र सर्फ बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्ने बताइन् । उनले सीप सिक्नुअघि स्थानीय सरकारसँग उद्यमी बन्न आफूले सहयोग मागेको समेत बताइन् । उनले भनिन्, ‘वडाध्यक्षसँग सहयोग माग्न जाँदा उहाँले यहीँ केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ । वडाको सहयोगमा आयोजना गरेको साबुन र सर्फ बनाउने तालिममा लैजानु भएपछि मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । अब उद्यम गर्ने योजना बनाएको छु ।’

उनले स्थानीयस्तरमा उत्पादन भएका, वातावरणमैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न तालिममा सहभागी अन्य महिलाहरूलाई समेत आग्रह गरिन् । यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले उद्यममा युवायुवतीलाई जोड्न आवश्यक रहेको बताइन् । उनले उद्यमी बन्ने योजना भएकालाई स्थानीय सरकारले रणनीति बनाएर प्रोत्साहन गरिरहेकोमा खुसी व्यक्त गरिन् ।

विपन्न समुदायका महिलाहरूलाई उद्यमी बनाउन साबुन र सर्फ बनाउने तालिम दिइएको छ । लमही नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले वडाभित्रका ३० जना महिलालाई सीप विकास तालिम दिएको हो । तालिममा सहभागी महिलाहरूलाई विभिन्न प्रकारका साबुन र सर्फ बनाउन सिकाइएको छ । तालिम सकिएलगत्तै आयआर्जनको बाटो समात्न सक्ने गरी महिलालाई साबुन र सर्फ बनाउन सिकाइएको छ । ‘सीप सिकाएर चटक्कै छोड्न यो कार्यक्रम गरेका होइनौँ,’ वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले भने, ‘तपाईँहरू उद्यमी बन्नुहोस्, हामी फेरि सहयोग गर्न तयार छौँ । तपाईँहरूले उत्पादन गरेको सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्छ ।’

वडा कार्यालयको आर्थिक सहयोग एवम् कर्मठ सामाजिक उद्यमी महिला सहकारीको अयोजनामा वडाअन्तर्गत रहेका महिलालाई साबुन तथा सर्फ बनाउने तालिम दिइएको हो । वडाको वार्षिक कार्यक्रमअनुसार वडाअन्तर्गत रहेका तीस जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको केसीले बताए ।

सात दिनसम्म सञ्चालन हुने तालिमपश्चात् आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भएपनि टेवा पुग्ने अपेक्षा गरिएको बताउँदै उनले सीप सिकेपछि परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उनले बताए । सीप विकासमार्फत विपन्न समुदायका महिलाहरूको जीवनस्तर उकास्न र महिलाहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि वडा कार्यालयले सहजीकरण गर्ने उनको भनाइ छ । स्थानीय सरकार रहेको अनुभूति हुने गरी महिलाहरूलाई स्वरोजगार बनाउन तालिम आयोजना गरेको भन्दै सिकेको सीपलाई आयआर्जनको आधार बनाउन उनले आग्रह गरे ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले लक्षित वर्गका महिला दिदीबहिनीहरूलाई उल्लेखित प्रकृतिका तालिमहरूको माध्यमबाट स्वरोजगारको वातावरण सृजना गरी विपन्न एवम् पिछडिएका महिलाहरूको आत्मनिर्भर क्षमता विकास गर्दै लगिने बताए । उनले अल्पकालीन तालिमहरू ग्रामीण समुदायका राज्यको श्रोत र साधनको उपभोगबाट वञ्चित वर्गसम्म पु¥याइ सञ्चालन गरिने बताए । उनले भने, ‘लक्षित वर्गहरू (विशेषगरी दलित, जनजाति, विपन्न एवम् पिछडिएका महिला, शहिदका परिवार पुनस्र्थापित, जनआन्दोलनका घाइते)का लागि प्राथमिकता दिई विशेष सीप विकास तालिम सञ्चालन गर्दै लगिने छ । विशेष सीप रोजगार अवसर उपलब्ध गराई युवावर्गको आय–आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिनेछ ।’

लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले व्यावसायिक एवम् सिपमूलक तालिम लिई स्वरोजगार (व्यवसाय)को लागि क्रियाशील महिला दिदीबहिनी तथा युवा वर्गहरूलाई लक्षित गरी उद्यमशीलता तालिम पनि सञ्चालन गर्दै लगिने बताए । उनले भने, ‘तालिमको माध्यमबाट जीवनयापनको गोरेटोमा अन्योलमा रहेका महिला दिदीबहिनी तथा युवा वर्गमा आशातित मार्गहरू प्रशस्त गर्ने कार्यमा टेवा पु¥याउने छ भने पेशा व्यवसायमा लागिसकेका वर्गलाई अझ उत्साहप्रद रूपमा मनोवल विकास भई पेशा व्यवसायको स्तरवृद्धिमा परिणाममुखी प्रतिफल प्राप्त हुनेछ ।’

स्थानीय साधन स्रोतमा जोडेर युवालाई स्वरोजगार बनाएमात्र मुलुक समृद्धिको यात्रामा जाने अधिकृत देवकोटाको भनाइ छ । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार