शेरबहादुर ऐर । कैलाली ।
गर्मी तथा मौसम परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशसहित देशभरी किटजन्य प्रकोपका बिरामीहरू देखा पर्न थालेका छन् । हरेक वर्षझैँ अहिले पनि सुदूरपश्चिममा औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, श्वासप्रश्वास (सारी), गैस्ट्रोएंटेराइटिस फ्लु लगायतका बिरामीहरूको दर बढ्दै गएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हरेक हप्ता यी रोगको महाशाखामा जानकारीमा आएको प्रकोपबारे तथ्यांक राख्दै आएको छ । सन् २०२५ मे ५ अर्थात मंगलबारसम्म देशभरीमा सबैभन्दा बढी गैस्ट्रोएटेराइटिस फ्लुको प्रकोपको सङ्ख्या बढी रहेको उल्लेख छ ।
१७औँ हप्ता २०२५ मा गैस्ट्रोएटेराइटिस फ्लुका छ सय ७७ जना प्रभावित भएको उल्लेख छ । गतवर्ष यही अवधिमा यसबाट प्रभावित सङ्ख्या आठ सय ५५ रहेको थियो । गैस्ट्रोएटेराइटिस फ्लुबाट कैलालीमा ४४ जना बिरामी रहेको महाशाखाले जनाएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट देशभरी चार सय ३० जना रहेकोमा सुदूरपश्चिम प्रदेशको बैतडीमा १६ जनामा सो समस्या देखिएको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय मलेरिया, डेंगु, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्तै रोगका बिरामीहरू देखा पर्न थालेको महाशाखाले जनाएको छ । देशभरीमा डेंगुका बिरामी ३५ जना देखा परेकोमा कैलालीमा चार जनामा डेंगु संक्रमण पुष्टि भएको उल्लेख छ भने देशभरी मलेरियाका १० जना बिरामी रहेकोमा कैलालीमा तीन र बाजुरामा दुई जना बिरामी फेला परेको महाशाखाले जनाएको छ । सन् २०२४ मा गैस्ट्रोएंटेराइटिस फ्लुका प्रदेशमा दुई हजार तीन सय ६५, श्वासप्रश्वास सम्बन्धीका बिरामी एक हजार सात सय ५१, डेंगुका एक हजार चार सय ४४, मलेरियाका ३२, कालाजारका २२ र औलोका १० बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
स्क्रब टाइफसका बिरामी बढ्दै
सन् २०२५ को मेसम्म देशभरी ३७ जनामा स्क्रब टाइफस देखिएकोमा सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा आठ जनामा स्क्रब टाइफस देखिएको छ भने इन्फ्लुएन्जाजस्तै रोगका विरामी कैलालीमा ५४, अछाममा २२ जना फेला परेको महाशाखाको तथ्यांकमा रहेको छ । सन् २०२४ मा प्रदेशमा स्क्रब टाइफसका दुई हजार एक सय ८७ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा रहेको छ ।
निर्देशनालयका अनुसार स्क्रब टाइफसका सबैभन्दा बढी अछाममा तीन सय ८१ थिए भने सबैभन्दा कम बझाडमा ४५ जना बिरामी रहेका थिए । यस्तै, कैलालीमा चार सय २२, डडेल्धुरामा तीन सय ६५, बैतडीमा दुई सय २४, दार्चुलामा एक सय ८३, डोटीमा एक सय ८१, कञ्चनपुरमा एक सय ८० र बाजुरामा एक सय सात जना स्क्रब टाइफसबाट प्रभावित भएको जनाइएको छ ।
सन् २०२४ मा इन्फ्लुएन्जाजस्तै रोगका बिरामी तीन सय ८८ जना रहेको निर्देशनालयको तथ्यांकमा रहेको छ ।
डेंगुको जोखिम हरेक वर्ष कायम
उसो त वर्षायाम सुरु भएपछि डेंगुको जोखिम सुरु हुन्छ । तर, निर्देशनालयले उपलब्ध गराइएको सन् २०२४ को मासिक चार्टअनुसार जनवरीदेखिनै डेंगीका बिरामी फेला पर्ने गरेको उल्लेख छ ।
सन् २०२४ को जनवरीमा १३, फेब्रुअरीमा २५, मार्चमा ३९, अप्रिलमा ३८, मेमा २६ जना डेंगीका बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा रहेको छ । निर्देशनालयका अनुसार जुन, जुलाई, अगष्ट, सेप्टेम्बर, अक्टुवर र नोभेम्बरसम्मै डेंगीको जोखिम कायम रहने उल्लेख छ ।
सन् २०२४ मा प्रदेशका नौ वटै जिल्लामा डेंगुका बिरामी फेला परेका थिए । एक हजार चार सय ४४ जना डेंगुका बिरामी फेला परेकोमा सबैभन्दा बढी कैलालीमा पाँच सय २० जना रहेका थिए भने सबैभन्दा कम हिमाली जिल्ला बझाङमा ३१ जना डेंगुका बिरामी फेला परेका थिए ।
तराईकै दोस्रो ठूलो जिल्ला कञ्चनपुरमा दुई सय २७ जना डेंगुका बिरामी फेला परेको उल्लेख छ । प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा एक सय ७३, अछाममा एक सय ५५, बैतडीमा एक सय १७, डोटीमा एक सय १३ जना डेंगुका बिरामी फेला परेका थिए भने हिमाली जिल्ला दार्चुलामा ६२ र बाजुरामा ४६ जना डेंगुका बिरामी फेला परेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्