नेपालगन्ज ।
सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण भएको स्थानमा जग्गाधनीहरू आयोजनाले दिन लागेको मुआब्जा नै लिन नआएको पाइएको छ । सिक्टा सिँचाइ आयोजनाका अनुसार २०७७ सालदेखि मुआब्जा लिन आउन सूचना जारी गरिएपनि अझै केही जग्गाधनीहरू मुआब्जा लिन आएका छैनन् ।
जग्गाधनीहरू नआउँदा आयोजनाले दिनुपर्ने करिब डेढ करोड रूपैयाँ मुआब्जा वितरण हुन सकेको छैन । आयोजनाका अनुसार गुुरुवा गाउँ नहरमा पर्ने बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ र ६ एवम् खजुरा गाउँपालिकाको ५, ७ र ८ का एक सय २७ कित्ताको मुआब्जा वितरण हुन सकेको छैन ।
जसमा २०७७ सालमा अधिग्रहण भएका १४ हजार तीन सय ९१ वर्गमिटर क्षेत्रफल हुने ५७ कित्ताको र २०७९ सालमा अधिग्रहण भएका ३० हजार चार सय ६१ वर्गमिटर क्षेत्रफल हुने ७० कित्ताको मुआब्जा वितरण हुन सकेको छैन ।
मुआब्जा लिन आउनका लागि आयोजनाले २०७७ साल र २०७९ सालनमा सूचना प्रकाशित गरेपनि जग्गाधनीहरूले मुआब्जाका लागि निवेदन पेश नगरेको आयोजनाका प्रमुख राजु आचार्यले जानकारी दिए ।
चालू आर्थिक वर्षमा पनि मुआब्जा वितरणका लागि बजेट आएपनि अहिलेसम्म जग्गाधनीहरूको निवेदन नपरेकोले बजेट फ्रिज भएर जाने अवस्था आएको उनको भनाइ छ । यसवर्ष मुआब्जा वितरण हुन नसकेमा आगामी वर्ष पर्याप्त बजेट आउन नसक्ने आचार्यको भनाइ छ ।
जग्गाधनीहरूले मुआब्जाका बारेमा जानकारी नपाएर पनि निवेदन नपरेको हुनसक्ने अनुमानका आधारमा यसवर्ष पुनः सूचना जारी गरिएको उनले बताएका छन् । जग्गाधनीहरूसम्म सूचना पु¥याउनका लागि स्थानीय सरकारसँग पनि समन्वय गरिएको उनको भनाइ छ । मुआब्जा लिनका लागि जग्गाधनीले नहरमा परेको जग्गाको लालपुर्जा र नागरिकताको प्रतिलिपीसहित आयोजनाको कार्यालय नेपालगन्जमा निवेदन दिनुपर्ने प्रक्रिया रहेको छ ।









प्रतिक्रिया दिनुहोस्