कोहलपुर (बाँके) ।
आइतबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा बाँकेमा कारागार र दुई बाल सुधार गृहबाट ५३ जना सामेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीका अनुसार डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहबाट ३० जना, नौबस्ता बाल सुधार गृहबाट २० जना जिल्ला कारागार, नेपालगन्ज बाँकेबाट ३ जनाले परीक्षा दिएका हुन् ।
उनीहरूले सम्बन्धित क्षेत्रमै व्यवस्था गरिएको परीक्षा केन्द्रबाट परीक्षा दिएको उनले बताए । आइतबारबाट सुरु भएको परीक्षामा कूल १२ हजार ३ सय ९० जना परीक्षार्थी परीक्षामा सामेल रहेका छन् । तीमध्ये नियमिततर्फ ८ हजार ९ सय ४ र ग्रेडवृद्धितर्फ ३ हजार ४ सय ८६ जनाले परीक्षा दिने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
परीक्षाका लागि जिल्लाभर ३० वटा परीक्षा केन्द्र रहेका छन् । १४ परीक्षा केन्द्र रहेको नेपालगन्जमा ४ हजार ९ सय २९ जना, दुई वटा परीक्षा केन्द्र रहेको खजुरामा ६७६ जना, १० वटा परीक्षा केन्द्र रहेको कोहलपुरबाट ३ हजार ३ सय८ जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् । यस्तै दुई वटा परीक्षा केन्द्र तोकिएको बैजनाथमा ५४० जना र राप्ती सोनारीमा रहेका २ वटा परीक्षा केन्द्रबाट ५ सय ३७ जनाले परीक्षा दिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।
उनले भने, ‘नरैनापुर,जानकी र डुडुवामा परीक्षा केन्द्र छैन, उनीहरू राप्ती सोनारी र नेपालगन्ज परीक्षा केन्द्रबाट परीक्षामा सामेल भएका छन् ।’ कक्षा १२ को परीक्षाका लागि निरीक्षक, कर्मचारी, सहायक केन्द्राध्यक्ष र केन्द्राध्यक्षसहित नेपालगन्जमा ३ सय ३२ जना, खजुरामा ७ सय २१ जना, कोहलपुरमा २ सय ३२ जना र बैजनाथ र राप्ती सोनारीमा समान ३८÷३८ जना जनशक्ति खटिएका छन् ।
जिल्लाका ३० वटै परीक्षा केन्द्रको सुरक्षाका लागि प्रति केन्द्रमा ८ देखि १२ जनासम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेका सूचना अधिकारी भगवान यादवले मिसन टुडेलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्