बैकुण्ठधामको प्रथम साधारण सभा



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीमा व्यवस्थित शवदाहस्थल निर्माणका लागि भनेर स्थापित बैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

शनिबार नेपालगन्जमा सम्पन्न साधारण सभामा शवदाहस्थल निर्माणका लागि हालसम्म एक बिगाह ७ कठ्ठा जग्गा खरिद भएको, डीपीआर स्वीकृत भएको र संघीय सरकारबाट आएको दुई करोड रूपैयाँ बजेटबाट निर्माण कार्यका लागि टेण्डर आह्वान भएको जानकारी दिइएको छ ।

संस्थाका महासचिव श्रीराम सिग्देलले सरकारबाट प्राप्त दुई करोड रूपैयाँ यसवर्ष खर्च हुन नसकेमा आगामी वर्षमा पनि खर्च गर्न सकिनेगरी व्यवस्थापन गर्न सरकार तयार भएको पनि जानकारी दिए । साथै थप तीन करोड रूपैयाँ बजेट आगामी वर्ष प्राप्त हुने आश्वासन पनि पाइएको सिग्देलले बताएका छन् ।

अब थप करिब एक बिगाह जग्गा खरिद गरी बैकुण्ठधामको परिकल्पनाअनुसार उद्यान निर्माणको काम अघि बढाउने, शवदाहगृह निर्माण गर्ने लगायतका काममा संस्था अघि बढ्ने पनि कार्यक्रममा जानकारी दिइएको छ । साधारण सभामा संस्थाले बैकुण्ठधामको लागि जग्गा खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको महायज्ञ र संस्थाको हालसम्मको उपलब्धी तथा गतिविधिहरू समेटिएको स्मारिका पनि विमोचन गरिएको थियो ।

बैकुण्ठधाम सिधनियाँघाटका अध्यक्ष सुरेशकुमार कनोडिया अध्यक्षता र धर्मगुरु योगानन्द गिरी महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा प्रतिनिधि सभा सदस्य दीपा शर्मा, प्रदेश सभा सदस्य बादशाह कुर्मीलगायतको समेत उपस्थिति थियो । कार्यक्रमका वक्ताहरूले राप्ती नदीमा व्यवस्थित शवदाहस्थल जरुरी रहेको र जतिसक्दो चाँडो निर्माण हुनुपर्नेमा जोड दिएका थिए । वैकुण्ठधामले शवदाहस्थलसँगै मन्दिर, किरियापुत्री भवन र उद्यानलगायतको निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिइएको छ ।

कार्यसमितिमा छानिए नौजना

बैकुण्ठधाम सिधनियाघाटको नयाँ कार्यसमितिका लागि नौ जना सदस्यहरू सर्वसम्मत छानिएका छन् । संस्थाका सबै किसिमका सदस्यहरूको प्रतिनिधित्व हुनेगरी कार्यसमितिका लागि नौ जना सदस्यहरू छनौट गरिएको प्रमुख निर्वाचन अधिकृत प्रह्लाद बहादुर कार्कीले जानकारी दिएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुरेश डा. कुमार कनोडिया, डा. केदार अग्रवाल, डा. बद्रि चापागार्इं, शशी स्वाँर, कमल कुमार कार्की, कृष्णप्रसाद श्रेष्ठ, उमा थापा, श्रीराम सिग्देल र राकेश मिश्र चयन भएका छन् । चयन भएका सदस्यहरूबाट पदाधिकारीको टुंगो लगाइने जनाइएको छ । अध्यक्षमा तदर्थ समितिका अध्यक्ष सुरेश कुमार कनोडिया नै चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

बैकुण्ठधाम सिधनियाघाटमा सदस्यता शुल्क अनुसार दिक्पाल, नक्षत्र, कुटुम्ब, सहर्ष र साधारण गरी पाँच किसिमका सदस्यहरू रहेका छन् । ती सदस्यहरूमध्येबाट दिक्पाल सदस्यको प्रतिनिधित्व हुने गरी एक जना र बाँकी सदस्यको प्रतिनिधित्व हुनेगरी दुई–दुई जना कार्यसमितिमा छानिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार