एक दललाई बहुमत दिनु आवश्यक : महासचिव पोखरेल



नेपालगन्ज ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकासका लागि एक दललाई बहुमत दिनु आवश्यक रहेको बताएका छन् । नेपालगन्जमा नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले देशमा स्थिरता नआइकन विकास हुन नसक्ने देखिएको बताउँदै त्यसका लागि बहुमत प्राप्त दलले पूरा कार्यकाल सरकार चलाउन पाउनुपर्ने बताए ।

उनले नेकपा माओवादी केन्द्रको उदाहरण दिँदै एक दलले बहुमत नपाउँदा तेस्रो दलले सरकारको नेतृत्व पाउने अवस्था आएको बताए । ‘जनताले ३२ सिट दिएका छन् । तर, त्यसैलाई म्याजिक नम्बर भन्दै तेस्रो दलले कहिले पहिलो दलसँग कहिले दोस्रो दलसँग मिलेर सरकारको नेतृत्व गर्ने अवस्था आयो । त्यसकारण यसलाई रोक्न पनि कुनै एक दलको बहुमत आवश्यक छ,’ पोखरेलले भने ।

पोखरेलले अहिलेको संसदको संरचनाले माओवादी केन्द्रलाई सरकार ढल्छ भन्ने हल्ला फैलाउने ठाउँ दिएको पनि दाबी गरे । उनले भने, ‘हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाईरहेको छ । अहिले हामीसँग जुन प्रकारको संसद छ, त्यसले हल्लाखोरहरूलाई मौका मिलेको छ ।’

महासचिव पोखरेलले नेकपा एमालेले मात्रै देशलाई समृद्ध बनाउन सक्ने दाबी गर्दै २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिनका लागि मुस्लिम समुदायसँग अपिल पनि गरे । उनले नेकपा एमालेले मुस्लिम आयोग गठन गर्नेदेखि लिएर मदरसाहरूलाई सूचीकरण गर्ने, मदरसाहरूलाई शिक्षक उपलब्ध गराउने र मक्का मदिनाको यात्रामा अनुदान दिने जस्ता काममा अगुवाई गरेको दाबी गरे । यसका साथै आफू लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री हुँदा मुस्लिम बोर्ड गठन गर्ने काम गरेको पनि स्मरण गराउँदै मुस्लिम समुदायले एमालेलाई साथ दिनुपर्ने तर्क गरे ।

महासचिव पोखरेलले पछिल्लो समय राजतन्त्र पक्षधरहरूले गलत अफवाह फैलाइरहेको बताउँदै त्यसलाई चिरेर अघि बढ्नुपर्ने पनि बताएका छन् । उनले राजतन्त्रकालमा भन्दा अहिले प्रतिव्यक्ति आय, अर्थतन्त्रको आकार, सडकको पहुँच र बिस्तारमा उल्लेख्य प्रगति भएको तथ्य प्रस्तुत गर्दै गणतन्त्रको पक्षमा एकजुट हुन आग्रह गरे । ‘केही मान्छेहरूले हिजो राजामाहाराजाहरूको पालामा देशमा समद्धि थियो, कोही दुःखी थिएन भनेर जनतामा भ्रम छरिरहेका छन् । जसलाई चिरेर अघि बढ्नु जरुरी छ,’ उनले भने । पोखरेलले राजतन्त्रकालभरी तयार भएको अर्थतन्त्रको आकार गणतन्त्रकालमा चार वर्षमै बढोत्तरी गर्न सकिन्छ भन्ने आत्मविश्वास आएको दाबी पनि गरे ।

पोखरेलले मुस्लिम समुदाय श्रमजीवी समुदाय भएको बताउँदै मुस्लिम समुदायका लागि एमाले सही संगठन भएको बताए । उनले एमालेलाई मुस्लिम समुदायमा स्थापित गर्ने संगठन मुस्लिम इत्तेहाद संगठन भएको पनि उल्लेख गरे । महाधिवेशनको उद्घाटन सत्रमा एमाले सचिव पद्मा अर्याल, जनवर्गीय संगठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, मो. हारुन लगायतले समेत बोलेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार