कोहलपुर डेरी एसोसिएसनको भित्तपात्रो विमोचन



कोहलपुर (बाँके) ।

कोहलपुर डेरी एसोसिएसनको २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच एसोसिएसनले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको हो । कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले भित्तेपात्रोको विमोचन गरेका थिए ।

भित्तेपात्रो विमोचन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख आचार्यले कोहलपुरमा पाउडर प्लान्ट स्थापनाका लागि संघीय सरकारका मन्त्रीलाई आग्रह गरिएको बताए । उनका अनुसार गुरुयोजनाका अनुसार पश्चिम नेपाललाई लक्षित गरेर मन्त्रीले प्रतिबद्धता जनाएका छन् । त्यसको लागि प्राविधिकहरू कोहलपुर पुगेर सर्भेसमेत गरेर फिर्ता भएको नगर प्रमुख आचार्यले बताए ।

दुग्ध उत्पादनमा लागेका किसानहरूलाई सहयोगको लागि नगरपालिका तयार रहेको उनले बताए । ‘व्यवसाय गर्दा कानुनी प्रक्रिया पूरा गर्नुहोला । कानुनको दायरामा रहेर व्यवसाय गर्दा उपयुक्त हुन्छ । अन्य सहयोग लिने दिने कुरामा पनि सहज हुन्छ । स्थानीय सरकार तपाईँहरूसँगै छ ।’ उनले भने । गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादनका लागि व्यवसायीहरूको सीप विकासको लागि नगरपालिका सहयोग गर्न सकारात्मक रहेको उनको भनाइ थियो ।

उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चक्रप्रसाद अधिकारीले कोहलपुरलाई दुग्धजन्य उत्पादनको क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । उनका अनुसार कोहलपुर दुग्ध उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले वडास्तरमा दुग्ध उत्पादन, बिक्री वितरण गर्न आवश्यक रहेको बताए । कोहलपुर डेरी एसोसिएसनका अध्यक्ष सन्तोष पौडेलका अनुसार एसोसिएसन कोहलपुरका डेरी व्यवसायीहरूको हकहितका लागि सक्रिय रूपमा लागिपरेको छ ।

उनले नयाँ वर्षको अवसरमा एसोसिएसनले वार्षिक रूपमा गरेका गतिविधि समेटेर भित्तेपात्रो प्रकाशित गरिएको बताए । साथै भित्तेपात्रोको लागि विज्ञापन दिएर सहयोग गर्ने महानुभावहरूप्रति उनले कृतज्ञता प्रकट गरेका थिए । भित्तेपात्रो विमोचन कार्यक्रममा एसोसिएसनका सदस्य, सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार