बैजनाथमा सामुदायिक स्कुलका ५३ प्रतिशत विद्यार्थी फेल



कोहलपुर (बाँके) ।

आधारभूत तह परीक्षा २०८१ को परीक्षाफलमा बैजनाथ गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका ५३ प्रतिशत विद्यार्थी फेल ‐अनुत्तीर्ण) भएका छन् । बैजनाथ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले प्रकाशित गरेको परीक्षाफल अनुसार बैजनाथमा सामुदायिक तर्फ जम्मा ४७.२८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

परीक्षामा सामेल २७ वटा सामुदायिक विद्यालयका जम्मा १ हजार ६६ जना परीक्षार्थीमध्ये ५०४ जनामात्रै उत्तीर्ण भएको शाखाले जनाएको छ । ५६२ जना विद्यार्थीको नतिजा एनजी ‐नन ग्रेडेड) रहेको छ । कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी ‐नन ग्रेडेड) उल्लेख गरिन्छ ।

शाखा प्रमुख विश्वराज ढकालले आधारभूत तहको परीक्षामा सहभागी आधारभूत विद्यालयहरूमध्ये सबैभन्दा धेरै श्री सम्झना आधारभूत विद्यालयका ७७.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए । उक्त विद्यालयबाट परीक्षामा सहभागी ९ जनामध्ये ७ विद्यार्थी उत्तीर्ण भएका छन् । उक्त विद्यालयका २ जना विद्यार्थीको नतिजा भने नन ग्रेडेड रहेको छ ।

उनका अनुसार सामुदायिक विद्यालयमध्ये आधारभूत तहतर्फ सबैभन्दा कम श्री सिंह भवानी आधारभूत विद्यालय बैजनाथ–५ का जम्मा ७.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उक्त विद्यालयका २६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये जम्मा २ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २४ जनाको नतिजा एनजी ‐नन ग्रेडेड) रहेको छ । सामुदायिक र संस्थागत विद्यालयतर्फ सबैभन्दा धेरै श्री प्रभात मावि ‘जी’ गाउँ पालिकाभरी नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले जानकारी दिए ।

प्रभात माविका ७२.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा उक्त विद्यालयबाट १०५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ७६ जना विद्यार्थी उत्तीर्ण भएको र २९ जना विद्यार्थीको नतिजा एनजी ‐नन ग्रेडेड) रहेको उनको भनाइ थियो । पालिकाभरी नै सबैभन्दा राम्रो नतिजा ल्याएको प्रभातका २९ जना विद्यार्थीले कुनैपनि विषयमा ३५ अंक कटाउन सकेनन् ।

आधारभूत र माध्यमिक तहगरी जम्मा ११ विद्यालयको मात्रै उत्तीर्ण प्रतिशत ५० प्रतिशतभन्दा माथि छ ।
शाखाको परीक्षाफल अनुसार श्री नेपाल राष्ट्रिय मावि नौवस्ताका ५७.९७, जन सहयोगी आधारभूत विद्यालयका ६६.६७ प्रतिशत, श्री वागेश्वरी माविका ६१.५६ प्रतिशत र जनता आदर्श मावि र सुर्योदय माविका समान ५४.५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यसैगरी सरस्वती माविका ५७.४१ प्रतिशत, श्री रारा माविका ५२ प्रतिशत र ज्योति आधारभूत विद्यालयका ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै संस्थागततर्फ ९८.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शाखा प्रमुख ढकाल बताउँछन् । उनका अनुसार संस्थागततर्फ १६ वटा विद्यालयका कूल ४१७ जना विद्यार्थी आधारभूत तह परीक्षामा सामेल भएका थिए । तीमध्ये ४११ जना उत्तीर्ण भएको उनको भनाइ छ । सामुदायिकतर्फ ६ जना विद्यार्थी मात्रै फेल भएका छन् भने तीन जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार