नवराज पौडेल । कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नम्बर ३ मा डि ब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । एक कार्यक्रमकाबीच वडाका १ सय ८७ जनालाई पुर्जा वितरण गरिएको हो । वडामा आयोजना गरिएको कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गाउँ ब्लक पुर्जा वितरण गरेका थिए ।
नापी कार्यालय तौलिहवाका प्रमुख अधिकृत जनकबहादुर भण्डारीले शिवराज नगरपालिकाको वडा नम्बर ३ मा वडामै पुगेर गाउँ ब्लक पुर्जा वितरण गरिएको जानकारी दिए । पुस्तौँदेखि भोगचलन गर्दै आएपनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका वडावासीलाई अहिले जग्गाधनी पुर्जा वितरण गरिएको हो । वडा नम्बर ३ मा ४ वटा बस्ती रहेका छन् । कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले वर्षाैदेखि बसोबास गर्दै आएका तर जग्गा पुर्जा नभएको नागरिकलाई लालपुर्जा वितरण गरिएको बताए ।
तीन वटै सरकारले मिलेर जनताको काममा लाग्नुपर्ने मन्त्री अधिकारीले बताए । नागरिकले पनि पूर्ण सहयोग गरे मात्र काम गर्न सजिलो हुने उनको भनाइ थियो ।
उनले असार मसान्तसम्म पालिकाका अन्य वडाको समेत काम सकाउने गरी लाग्न निर्देशन दिए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व वनमन्त्री अर्जुनकुमार केसीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोग बनाएर काम सुरु गर्न अनुरोध गरे । सरकारले भूमि समस्या समाधानका लागि नियम, कानुन बनाएर लालपुर्जा वितरण गर्ने कुरामा लाग्न सुझाव उनले सुझाव दिएका थिए ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले लामो समयपछि जग्गा पुर्जा विहीन वडाबासीले पुर्जा प्राप्त गर्न सफल भएको बताए । नगर प्रमुख थापाका अनुसार अन्य वडामा समेत पुर्जा वितरण कार्यको थालनीका लागि पालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको छ ।









प्रतिक्रिया दिनुहोस्