राप्ती नदीमा डुबेर युवतीको मृत्यु



बाँके ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीले बगाउँदा डुबेर एक युवतीको मृत्यु भएको छ । शनिबार माछा मारेर घर फर्किने क्रममा राप्ती सोनारी– ३ सिनाबास निवासी २० वर्षीया दिक्षिका थारूको राप्ती नदीमा डुबेर ज्यान गएको हो ।

उनीसँगै माछा मार्न गएकी २० वर्षीया शर्मिला थारू पनि नदीमा डुबेर बेहोस भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शर्मिलाको राप्ती सोनारी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा रेफर गरिएको थियो ।

प्रहरीका अनुसार राप्ती नदीको सिनाबासघाट पारी करिब ११ जनाको समूहमा माछा मार्न गएका युवतीहरू घर फर्किने क्रममा नदीले बगाएर दिक्षिकालाई करिब ५० मिटर दक्षिण पु¥याएको थियो । माछा मार्न गएका युवतीहरू समूहमा सँगै फर्किने क्रममा सबैलाई नदीले बगाएर गहिरो ठाउँमा लगेको र अरुलाई उद्दार गरिएपनि दिक्षिकालाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार अन्य युवतीलाई स्थानीय कृष्ण चौधरीले उद्दार गरेका थिए । मृतक दिक्षिकाको शवलाई करिब एक घण्टापछि ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र स्थानीयले पानीमा डुबेको अवस्थामा फेला पारेका थिए । प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार