कैलालीमा उच्च रक्तचाप र मधुमेहका बिरामी बढ्दै



शेरबहादुर ऐर । कैलाली ।

सोमबार स्वास्थ्य कार्यालय कैलालीले स्वास्थ्य दिवसको अवसरमा धनगढीको पार्कमोडमा स्वास्थ्य परीक्षण कार्यक्रम ग¥यो । त्यहाँ चेकजाँच गराउन आउने अधिकांशमा मधुमेह र उच्च रक्तचापको समस्या देखियो । अहिले स्वास्थ्य शिविर, अस्पतालमा उपचार गराउन जाने अधिकांशमा यो समस्या देखिने गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार कुल बिरामी सङ्ख्यामध्ये ३५ प्रतिशतमा मधुमेह र ४८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप देखिने गरेको छ ।

अहिले कैलालीको सुगमभन्दा दुर्गम क्षेत्रका मानिसमा यो समस्या देखा परिरहेको जनाइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ४४ हजार ६२ जनामा मधुमेह र १४ हजार दुई सय २७ जनामा उच्च रक्तचाप देखा परेको कार्यालयको तथ्यांकमा रहेको छ । कार्यालयका अनुसार उच्च रक्तचाप र मधुमेहका बिरामी सबैभन्दा बढी कैलारी गाउँपालिकामा रहेको छ । कैलारीमा आठ हजार एक सय ७१ जनामा मधुमेह र एक हजार छ सय २१ मा उच्च रक्तचाप देखा परेको तथ्यांकमा उल्लेख छ । सबैभन्दा ठूलो जनसङ्ख्या रहेको धनगढीमा चार हजार दुई सय ८४ जनामा उच्च रक्तचाप र छ हजार तीन सय ६९ जनामा मधुमेह देखिएको थियो ।

स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले एक लाख २४ हजार चार सय ५८ जना उच्च रक्तचापका बिरामी हुन सक्ने अनुमान गरेको र २९ हजार आठ सय ७० जनालाई मधुमेह हुनसक्ने अनुमान गरेको बताए । उनले मानिसको सबैभन्दा महत्वपूर्ण विषय भनेको नै स्वास्थ्य भएकाले बिरामी पर्दा मात्र नभई आफू स्वस्थ छु कि छैन भन्ने कुरा जान्न पनि समय समयमा स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

उनले ग्रामीण क्षेत्रका जनतामा पनि पछिल्लो समय मधुमेह र उच्च रक्तचापको समस्या धेरै देखिएको बताउँदै विषादी, खानपानमा अनियमितता, तनावलगायतका कारण यो रोग बढेको बताए । उनले नेपालमा अधिकांश मानिसलाई मधुमेह रोग देखिने गरेको बताए । ‘नेपालमा बच्चामा लाग्ने मधुमेह त्यति देखा परेको पाइँदैन । तर, उमेर ढल्किँदै गएपछि मधुमेहको अवस्था भयावह नै छ । यसको मुख्य कारण भनेको अव्यवस्थित खानपान, भद्दा जीवनशैली र मोटोपन हो,’ उनले भने, ‘यो वंशानुगत समस्या पनि हो । मधुमेह यसकारण पनि खतरनाक हो कि यसले शरीरमा अन्य धेरै रोग पनि निम्त्याउने गर्छ । जसले गर्दा ब्लडप्रेसरको समस्या निम्तिन्छ, मिर्गाैला, नसासम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ ।’

उनले अव्यवस्थित जीवनशैली र नुनको बढी प्रयोगका कारण ब्लडप्रेसरको समस्या निम्तिने गरेको बताए । ‘ब्लडप्रेसरले पनि शरीरमा अनेक समस्या निम्त्याउने गर्छ । यसले हृदयाघात, मिर्गाैलामा समस्या, ब्रेन स्ट्रोकलगायतका समस्याको जोखिम पनि निम्त्याउने गर्छ’ उनले भने ।

उनले उच्च रक्तचाप र मधुमेह जीवनशैलीसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी रहेको बताए । ‘जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यअनुकूल बनाउनु हो । अत्यधिक मात्रामा नुन सेवन नगर्ने, तारेको, भुटेको धेरै नखाने । सामान्य व्यक्तिले प्रत्येक महिना प्रेसर जाँँच गर्नुपर्छ,’ उनले भने, ‘प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधी सेवन गर्नुपर्छ । प्रेसरको औषधी खाइरहेका व्यक्तिले तीन–तीन महिनामा चेकजाँच गर्नुपर्ने हुन्छ ।’

उनले व्यायाम गर्ने, फलफूल खाने, फाइबरयुक्त खाना खाने, समयै सुत्ने–उठ्ने अभ्यासको सुरुवात गर्नुपर्ने बताए । ‘तनावपूर्ण जीवन, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका कारण पनि यस्ता रोग निम्तिन्छन् । तसर्थ, तनाव व्यवस्थापन गर्न जरुरी छ’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार