कोहलपुर ।
‘कोहलपुर नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१’ आगामी चैत २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कोहलपुर नगर खेलकुद विकास समितिले आगामी चैत २२ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको हो । नगर स्तरीय फुटबल प्रतियोगिताबाट १५ वटै वडामा रहेका उत्कृष्ट फुटबल खेलाडीहरुको खोजी गर्नु मुख्य उदेश्य रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमला क्षेत्रीले बताए ।
उनका अनुसार उत्कृष्ट छनोट भएका खेलाडीलाई नवलपरासी गोल्डकप र चितवन राइनो गोल्डकपमा सहभागी गराइने जानकारी दिए ।बाँकेबाट प्रतिनिधित्व गर्दै जाने टिममा स्थानीय खेलाडीलाई विशेष प्राथमिकता दिइने उनले बताए । नगर स्तरीय फुटबल प्रतियोगिता बाट छनोट भएका उत्कृष्ट खेलाडीहरुलाई ‘क्लोज क्याम्प’मा राखेर प्रशिक्षण दिने जानकारी दिए ।
आफ्नो क्षमता र प्रतिभा देखाउन प्लेटफम नपाएका खेलाडीहरुको लागि यो सुवर्ण अवसर रहेको उनको भनाइ छ । खेलाडीहरुको लागि जर्सी नगर खेलकुद विकास समितिले नै उपलब्ध गराउने समेत उनले बताए । प्रतियोगिताको प्रथम पुरस्कार ७५ हजार र दोस्रो ३५ हजार रहेको उनले जानकारी दिए । यस्तै सर्वाेत्कृष्ट खेलाडी, ‘म्यान अफ दि सिरिज’,बेष्ट फरवार्ड,बेष्ट किपर, बेष्ट डिफेन्डर र बेष्ट कोचलाई समेत पुरस्कृत गरिने बताए ।
नगर खेलकुद विकास समितिको आयोजना र नगरपालिका आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको कोहलपुर–८ वडाध्यक्ष लालबहादुर रानाले बताए । उनका अनुसार नगरपालिका भित्र रहेका १५ वटै वडाका खेलाडीहरुको पहिचान गर्नुका साथै प्रतियोगिताबाट खेलकुदमा जोड्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्