आजदेखि मुस्लिम समुदायको रमजान



बाँके ।

आजदेखि इस्लाम धर्माबलम्बीहरूको महान् पर्व रमजान सुरु हुँदैछ । एक महिनासम्म चल्ने रमजान महिनामा मुसलमानहरू दिनमा निराहार व्रत बस्ने गर्दछन् । उर्दू क्यालेन्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिनामा पर्दछ । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता रहँदै आएको छ । रमजानको महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने इस्लाम धर्मावलम्बीहरूमा विश्वास रहेको छ ।

नेपालगन्जस्थित दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले आइतबारदेखि सुरु हुने रमजानको मुस्लिम समुदायले सबै तयारी पूरा गरिसकेको बताए । उनका अनुसार रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेन्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब)को आजान सुनेर रोजा खोल्ने (व्रत तोड्ने) चलन रहेको छ ।

निराहार अर्थात् पानी समेत ननिली बस्नुलाई इस्लाम धर्ममा रोजा भनिने मियाँले बताए । उनका अनुसार रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

दान दिनु गरिब र दीन दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता रहेको मियाँले बताए । रमजान सुरु हुने दिनको अघिल्लो साँझ मुसलमानहरूले चन्द्रमा हेरेपछि रमजानको प्रारम्भ हुन्छ । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार