बारबर्दियामा हाजिरी र राजस्व सिस्टममा अनाधिकृत हेरफेरको आशंकामा छानबिन समिति गठन



नेपालगन्ज ।

बर्दियाको बारबर्दिया नगरपालिकामा हाजिरी मेसिन र राजस्व सम्बन्धिको सिस्टममा अनाधिकृत हेरफेर भएको हुनसक्ने आशंकामा छानबिन समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले नगरपालिकाकै आइटी इन्जिनियरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार डिजिटल हाजिरी मेसिन र राजस्व सम्बन्धिको सिस्टममा सम्बन्धित कर्मचारीहरूले अनाधिकृत हेरफेर गरेको हुनसक्ने आशंकामा आइटी इन्जिनियरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

पुस १४ गते गठित उक्त समितिलाई करिब १० दिनको समय दिएर सिस्टममा अनाधिकृत हेरफेर भए नभएको पत्ता लगाउने र भएको भए त्यसो हुन नदिने व्यवस्था मिलाउन आदेश दिइएको आचार्यले मिसन टुडेलाई जानकारी दिए ।

उनले त्यस्तो हुनसक्ने सम्बन्धमा आशंका भएपछि आफूले सिस्टमका सम्भावित कमजोरीहरू तत्काल सुधारका लागि प्रक्रिया थालेको बताए । ‘आफूलाई शंका लागेकोमा तुरून्त करेक्सन गर्नुपर्छ भन्ने मान्यताले उक्त समिति गठन गरेको हुँ । यो धेरै ठूलो विषय होइन । नियमित प्रक्रिया नै हो,’ आचार्यले मिसन टुडेसँग बुधबार भने ।

बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारू पनि उक्त विषय कर्मचारीस्तरबाटै समाधान गर्न सकिने विषय भएको बताउँछन् । ‘यदि केही खराबी छन् भने सच्याउनका लागि प्रमुख प्रशासकीय अधिकृतज्यूले प्रक्रिया थाल्नुभएको भनेर हामीले बुझेका छौँ,’ थारूले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार