कात्तिक कृष्ण त्रयोदशीःआज काग तिहार



काठमाडौँ ।

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ । कागको पूजा आराधना गरी मिठामिठा खानेकुरा खान दिएसँगै यस वर्षको यमपञ्चक औपचारिक रूपमा प्रारम्भ भएको हो । धार्मिक अनुष्ठानसँगै प्रकृति, जीवजन्तु, धनसम्पत्ति र सामाजिक सद्भावलाई एउटै उत्सवमा जोड्ने नेपाली समाजको विशिष्ट सांस्कृतिक पर्वका रूपमा तिहारको पहिचान छ ।

पाँच दिनसम्म मनाइने यस पर्वले मानिस र प्रकृतिबीचको सम्बन्धदेखि दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई समेत जीवन्त बनाउने गरेको छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । वैदिक तथा हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत र सन्देशवाहकका रूपमा लिइन्छ । कागले ल्याउने सन्देश शुभ रहोस्, परिवारमा दुःख, अनिष्ट र संकट नआओस् भन्ने कामनासहित कागलाई खानेकुरा अर्पण गर्ने परम्परा छ ।

धार्मिक विश्वासअनुसार आज कागलाई पूजा नगरी आफूले भोजन गरे पाप लाग्ने मान्यता पनि रहिआएको छ । यस परम्पराले कागजस्ता चराचुरुङ्गीप्रति मानिसको सहअस्तित्व र सम्मानको भावसमेत अभिव्यक्त गर्छ । प्रकृतिमा रहेका हरेक जीवको आ–आफ्नै महत्व हुन्छ भन्ने सांस्कृतिक सन्देश तिहारमा देखिने संस्कृतविद रमानन्द आचार्य बताउँछन् ।

उनका अनुसार तिहारको पहिलो दिन काग तिहारसँगै सुरु हुने यमपञ्चकमा क्रमशः कुकुर, गाई, गोरु तथा गोवर्धन पूजा र भाइटीका मनाइन्छ । जसमा कार्तिक २१ गते यमपञ्चकको पहिलो दिन कागको पूजा गरी मिठामिठा खानेकुरा दिइन्छ । भने कार्तिक २२ गते कुकुरलाई टीका, माला र मिठा खानेकुरा दिएर पूजा गरिन्छ । कुकुरलाई यमराजको द्वारपाल तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्ने परम्परा छ ।

कार्तिक २३ गते कार्तिक कृष्ण औँसीका दिन धनधान्य, सुख, समृद्धि र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरआँगन सफा गरी दीप प्रज्वलन तथा घर उज्यालो बनाउने परम्परा छ । कार्तिक २४ गते कार्तिक शुक्ल प्रतिपदाका दिन गोरु तथा गोवर्धन पूजा गरिन्छ । नेवारी समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् ११४७ मनाउनुका साथै म्हपूजा अर्थात् आत्मपूजा पनि गर्छन् । कार्तिक २५ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइदिई दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार