मलाई सबैले बुझ्नु भएको छ



दीपक अर्याल
महासचिव पदका उम्मेदवार
प्रगतिशील व्यावसायिक प्यानल

१. बाणिज्य संघको चुनावमा महासचिवको उम्मेदवारका रूपमा आम मतदातामा गइरहँदा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

प्रचारप्रसारका क्रममा आम मतदातासम्म पुग्दा उहाँहरूले अत्यन्तै उत्साहपूर्ण तरिकाले हामीलाई स्वागत गर्नुभएको छ । उहाँहरूको सकारात्मक प्रतिक्रियाले हामीलाई पनि उत्साहित बनाएको छ ।

२. तपाईंले के कुरालाई प्राथमिकतामा राख्नुभएको छ ?

म पहिलोपटक संघमा जाँदै छु । संघमा गएपछि हामीले गर्ने कामका बारेमा प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छौँ । म अन्य संघसंस्थामा पनि आबद्ध रहेको र हार्डवेयर व्यवसायी संघको उपाध्यक्ष पनि भएकाले सबै साथीहरूका गुनासा र समस्याहरूलाई यथोचित ढंगले समाधान गर्ने प्रयास गर्नेछु । हरेक उद्योगी व्यवसायीसँग उनीहरूकै सुझावका आधारमा उनीहरूका समस्या समाधान गर्ने मेरो प्रयास हुनेछ ।

३. तपाईंले आफूले चुनाव जित्ने आधारहरू केके देख्नुहुन्छ ?

म विगत १७–१८ वर्षदेखि यहीँ व्यवसाय गर्दै आएको छु । हरेक समयमा म यहीँका उद्योगी व्यवसायीहरूसँग नजिक भएर काम गरिरहेको छु । उहाँहरूका समस्याप्रति म धेरै हदसम्म जानकार पनि छु ।

उहाँहरूका सप्ठेरा–अप्ठेरा अवस्थाहरूमा सहभागी हुँदै आएको छु । उहाँहरूले मलाई राम्रोसँग चिन्नु, बुझ्नु भएको छ । त्यसैले उहाँहरूले मलाई यो स्थानका लागि योग्य देख्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

४. तपाईंले देखेका यो क्षेत्रका व्यापारी व्यवसायीहरूका मूल समस्या के हुन् ?

यहाँको व्यापारमा मूल समस्याका रूपमा त खुला सीमा नाका नै हो । यसका कारण हरेक व्यक्तिको सीमापारिको बजारमा सहज पहुँच छ । अर्कातिर हाम्रा आफ्ना उत्पादन कम छन् ।

भएका स्थानीय उत्पादनहरूले पनि महत्व पाइरहेका छैनन् । त्यसैले हामीले आफ्नो प्रतिबद्धतापत्रमा पनि स्थानीय उत्पादनलाई प्राथमिकताका दिने कुरा जोडतोडका साथ उठाएका छौँ ।

५. तपाईं व्यापारीहरूले आफैँ पनि सीमापारिका सामान ल्याएर बिक्री वितरण गर्नुहुन्छ होला नि ?

हामीले सीमापारिका सामान ल्याए पनि वैधानिक रूपमा सरकारलाई कर तिरेर ल्याएका हुन्छौँ जसका कारण मूल्यमा अलिकति महँगो पनि पर्न जान्छ । तर भन्सार छलेर अवैध किसिमले कतिपय सामान नेपाल आइपुग्ने भएकाले हामीलाई त्यस्ता सामानसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो भइरहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार