बाँके ।
फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रणको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी द्रुतगतिमा अघि बढाइएको छ । प्रतियोगिता उद्घाटनको झण्डै १० दिन बाँकी भएको अवस्थामा प्राथमिकताका आधारमा कामको गतिलाई दु्रतगतिमा अघि बढाइएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
उनका अनुसार यसअघि भएका प्रतियोगिताका कारण धुलाम्मे भएको फुटबल ग्राउण्डमा अहिले पानी चाहार्ने काम भइरहेको छ । उनले भने, ‘ग्राउण्डमा अहिले सबैखाले खेल प्रतियोगिता तथा अभ्यासका कार्यक्रम रोकिएका छन् ।’ यसैगरी नेपालगन्ज रंगशालाको प्याराफिटको मर्मत सम्भार, रंगरोगन, विद्युतीकरणमा सुधार तथा सरसफाइ लगायतका कामलाई पनि द्रुतगतिमा बढाइएको छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्न लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुने जनाइएको छ । प्रतियोगिताको लोगो यसअघि नै सार्वजनिक भइसकेको छ भने प्रतियोगितालाई व्यवस्थितरूपमा सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरूले पनि आप्mना कामलाई तीव्रता दिएका छन् ।
संघीय सरकारका पूर्वखेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’, बाँके क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, संघीय सांसद दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वप्रवक्ता मोहना अन्सारी लगायतका विशिष्ट व्यक्तिहरूले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धतासमेत जनाइसकेका छन् ।
प्रतियोगिता आयोजनाकै सन्दर्भमा जिल्लास्थित विभिन्न पेशागत संघ संगठनहरूसँग समन्वयात्मक बैठकसमेत हुने गरेको छ । सोही क्रममा गैरसरकारी संस्था महासंघ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, फातिमा फाउण्डेशन, बहुमुखी सेवा केन्द्र, गैरसरकारी संस्था महासंघ, सामूहिक अभियान नेपाल, नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा, प्याब्सन, बाँके खेलकुद महासंघ लगायत संघ संगठनहरूसँग बैठक बसी प्रतियोगिता सफल बनाउन आपसी सहयोगका सन्दर्भमा छलफल भएको प्रतियोगिताका मिडिया संयोजक नीरज गौतमले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्