पाठेघर मुखको क्यान्सर र एचपीभी खोपबारे बुटवलमा अन्तरक्रिया



बुटवल, २० माघ :  सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सञ्चालन गर्न लागेको छ । सोही खोप र पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले बुटवलमा अन्तरक्रिया गरिएको छ ।क्यान्सरविरुद्धको खोप कक्षा ६ देखि १० का १४ वर्षसम्मका किशोरीलाई लगाइनेछ ।खोपबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला बुटवलमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सफल बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएका हो ।विद्यालयका छात्रा तथा विवाहित महिलाहरूलाई समावेश गराएर आयोजना गरिएको अन्तक्र्रियामा विशेषज्ञ डाक्टर र क्यान्सर न्यूनीरकणका लागि लामो समय काम गरेका व्यक्ति र सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

प्रतिवेदनले देखाएअनुसार सरकारले पाठेघरको मुखको क्यान्सरको न्यूनीकरणका लागि पहलकदमी चालेको छ । रोगलाई निवारण गर्नुभन्दा लाग्नै नदिने उपायअनुसार १० वर्षदेखि १४ वर्ष समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले आयोजना गरेको अन्तक्र्रियामा खोपबारे जानकारी दिँदै डाक्टर नारायण जीसीले खोपले ८० प्रतिशत काम गर्ने बताउँदै ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष खिमबहादुर हमाल, जनसंख्या अधिकृत उमा थापा, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष टंकप्रसाद गैरे, संस्थाका केन्द्रीय सदस्य मधुसूदन गैरे, लायन्स क्लब डिस्ट्रिक ३२५ पी गभर्नर पुरुषोत्तमभक्त प्रधानांगलगायतले बेल्दै रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय भएकाले खोप अभियान सफल पार्न सहयोग गर्नुपर्ने बताए ।

नेपालमा महिलाहरूमा देखा पर्ने गरेको क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनुमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार