नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ । शनिबार एक १० दिने सुत्केरी महिलाको पहिलो पटक कारण भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । भने दोस्रो संक्रमित बाँकेको नरैनापुर गाउँपालिका– ५ का २५ वर्षीय युवक हुन् । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि नरैनापुर कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यहाँ अहिले उच्च सर्तकता समेत अपनाइएको छ । पछिल्लो नरैनापुरका पाँचको अवस्था के छ ? स्थानीयमा कस्तो प्रकारको असर परेको छ र समग्रमा नरैनापुरमा गाउँपालिकामा के भइरहेको छ भनेर शुभाकर विश्वकर्माले नरैनापुर गाउँपालिका–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यसँग गरेको कुराकानी ।
१. नरैनापुरको पछिल्लो अवस्था के छ बताइदिनुहोस् न ?
अहिले मान्छेहरु त्रसित अवस्थामा छ । आइतबार वडा नम्बर ५ कै एक जना युवकको मृत्युले निकै त्रसित बनाएको छ । पछिल्लो अवस्थाको कुरा गर्नु पर्दा वडा नम्बर पाँचलाई पूर्ण रुपमा शिल गरिएको छ । चार वटै नाकामा सुरक्षाकर्मी खटिएका छन् । मानिसहरुलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । बाहिर निकस्दा एक जना मात्रै बाहिर निस्किन अनुरोध गरेका छौं । सुरक्षाकर्मी त छँदैछ ठूलो संख्यामा यहाँका युवाहरु परिचालन गरिएको छ । उनीहरुले मानिसहरुको आवागमनमा विशेष सुरक्षाका साथ सहयोग गरिरहेका छन् । सुरक्षाको बाहिरी घेरामा सुरक्षाकर्मी छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले पहरा दिइरहेको छ । वडामा प्रवेशको लागि पूर्णत बन्देज लगाएका छांै । वडाबाट बाहिरिन समेत दिएका छैनांै । सम्पूर्ण काम पूर्ण रुपमा सामाजिक दुरी कायम गरेर भइरहेको छ । वडा शिल छ ।
२. मृत्युपछि मात्रै कोरोना पोजेटिभ भएको भनियो, खास कस्तो थियो उनको अवस्था ?
ती युवकको मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको आधिकारिक निकायबाट पुष्टि भइसकेको छ । म तपाईलाई के भन्न चाहन्छु भने भारतमा यस्ता धेरै केस छन् । जो कोरोना संक्रमण भएर निको भएका छन् । विश्वका कति उदाहरण छन् । हाम्रो नेपालकै कुरा गर्ने हो भने पनि अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका
छन् । यसबाट के बुझ्न सकिन्छ भने यो रोग लाग्ने वित्तिकै मरिहाल्ने रोग भने होइन । समयमै उपचार पाएर निको भइरहेको हामीले पाइरहेका छौ । तर जो आइतबार मृत्यु भएको युवकको प्रसंग छ । यो केही हदसम्म लापरबाही हो । अब हामीले यसबाट निकै ठूलो पाठ सिकाएको छ । सरकारले समेत यस घटनाबाट पाठ सिकेर क्वारेन्टिइन स्थल पूर्ण रुपमा सुरक्षित बनाउनुपर्छ ।
३. तपाईले यदि समयमै उपचार पाएको भए तीन युवक मर्ने थिएनन् भन्न खोज्नु भएको हो ?
वडा नम्बर ५ को दिपेन्द्र माविको क्वारेन्टाइनमा उनी सहित ३९ जना बसिरहेका थिए । उनीहरुका बैशाख ३० गते भारतबाट आएका हुन् । उनी भने मुम्बईबाट आएका हुन् । उनका भाइ समेत क्वारेन्टिनमा थिए, छन् । पछि बुझ्दा राती तीन बजेतिर वान्ता भएको रहेछ । लगातार वान्ता भएपछि उपचार नपाएरै उनको मृत्यु भयो । मलाई भने विहान मात्रै थाहा भयो । क्वारेन्टिनमा रहेका युवाको मृत्यु भयो भनेर । यति मलाई अगाडी नै जानकारी गराइदिएको भएर, म एम्बुलेन्स बोलाउँथे । अन्यसँग समन्वय गर्थे । एक प्रतिनिधि भइकन मैले सबै कुराको जानकारी पाउँन सकिन । मलाई पछुतो छ । क्वारेन्टिन व्यवस्थापनको जिम्मा प्रमुखलाई छ । उहाँले आ आफ्ना मान्छे मात्रै राख्नु भयो । मलाई लाग्छ राम्रो तरिकाबाट समन्वय हुन सकेन । परिणाम एक युवकले ज्यान गुमाउनुप¥र्यो ।
४. मृतक युवकको पारिवारिक अवस्था कस्तो छ ?
उनको परिवार निम्न आए स्तर भएको परिवार हो । घरमा श्रीमती छिन् । भाइहरु छन् । एउटा छोरा, दुई वटा छोरी छन् । मृतक युवक चाही भारतमा मजदुरी गर्थे । लकडाउनको समयमा भारतबाटै आएका हुन् । उनीसँगै भाइ समेत गएका थिए । भाइ अहिले क्वारेन्टिनमा छन् । उनको परिवारको विचल्ली भएको छ । उनको मृत्युबाट परिवारलाई एकमात्र क्षती भएको छैन । श्रीमतीको सिउँदो पुछिएको छ । छोराछोरी टुहुरा भएका छन् । आर्थिक उपार्जनको प्रमुख स्रोत समेत गुमेको छ । उनको परिवारको भविस्य अन्धारमय भयो ।
५. मृतकको परिवारलाई राहतको लागि केही निर्णय भएको की छैन ?
हामीले उनको परिवारलाई व्यक्तिगत रुपमा समेत सान्त्वना दिइरहेका छौं । यस्तो विपत्तिमा भएको अकल्पनीय मृत्युले उनको परिवारको मात्रै होइन वडालाई समेत मर्माहत बनाएको छ । मैले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग उनको परिवारलाई राहत दिने विषयमा कुराकानी गरिरहेको छु । उनको परिवारलाई सरकार र स्थानीय सरकारले राहत दिनैपर्ने मैले अडान राखेको छु । गाउँपालिकालाई आग्रह गरेको छु । हेरौ अब गाउँपालिकाले के गर्छ । जोखिम बढेको छ । गाउँपालिकाले पनि निर्णय पक्कै गर्ला हामीले चाँही उच्च सतर्कता अपनाएका छौं । वडाबासीहरुले आगामी दिनमा अकालमा ज्यान नगुमाउनु भनेर सक्रिय भएका छौं । वडामा रहेको जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टिनमा राखिएका ३८ जनालाई जय किसान माविको क्वारेन्टाइनमा राखिएको छ । थप जोखिम नहोस् भनेर हामीले उनीहरुलाई त्यहाँ लिएर राखेका हौं ।
६. वडा शिल गरिएको छ भन्नु भयो, समग्र गाउँपालिकामा सुरक्षा व्यवस्था कसरी अपनाइएको छ ?
एकदम कडा छ । सुरु देखि नै सुरक्षा जोखिमको आंकलन गरेर वडा लकको निर्णय समेत भएको थियो । बीचमा विरोध भयो । प्रशासनले समेत हामीलाई त्यसो नगर्न भन्यो । हो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै हाम्रो वडालाई शिल जस्तै गरेका छौं । उच्च सुरक्षा व्यवस्थापन भएको छ । तर औपचारिक शिल होइन । हामीले शिल गर्नुपर्छ भन्दा प्रशासनले नै आदेश विपरित शिल गरेमा कारबाही गर्ने चेतावनी दियो । हामी डरायौ । अहिले चाही त्यस्तै भएकै छ । उच्च सतर्कता अपनाउनुको अर्को विकल्प छैन । यहाँ त परीक्षणको खाँचो भएको छ । सबै वडाबासीलाई परीक्षणको दायरामा ल्याउनुपर्ने देखिएको छ ।
७. एकातिर जोखिम अर्कातिर स्थानीयको दैनिक कष्टकर भएको अवस्थामा कसरी व्यवस्थापन भइरहेको छ ?
लामो समयको लकडाउनका कारण मानिसहरुले राम्रो काम गर्न पाएका थिएनन् । पछिल्लो मृत्युको प्रत्यक्ष असर समेत वडामा परेको छ । त्यसैले दैनिक खेती किसानी गर्ने मानिसहरुलाई समेत झन दुःख हुने अवस्था देखिन्छ । त्यसैले हामीले के गरेका छौ । अहिलेको यो खेतीपातीको अवस्थामा सामाजिक दुरीलाई अनिवार्य बनाएका छांै । सुरक्षा अपनाउने, सरसफाई गर्ने सकभर घरबाट बाहिर ननिस्कने । हामीले सबैलाई अपिल गरेका छौ । वडाबाट यस अघि राहत वितरण पनि भएको थियो । केही मानिसहरु छुटेका छन् । उनीहरु आइतबार सम्म वडामा राहत माग्न आइरहेका थिए । खेत जोत्दा होस बाहिर निस्कदाँ होस सामाजिक दुरी अनिवार्य गरिएको छ । खेत जोत्न जाँदा पनि एक्लै जानुहोस । सजक रहनुहोस् । विउ व्यवस्थापनको लागि गाउँपालिकाले सहजीकरण गरिदियो भने राम्रो हुन्छ । यो वीचमा हामीले राहत वितरण समेत गरेका छौ । बाँकी रहेको छ धेरै परिवार । डेढ सय जति होलान् । अहिले राहत रोकिएको छ । यो बेलामा वितरण गर्दा जोखिम हुन्छ भन्ने उहाँको भनाई छ ।
८. अन्त्यमा, सिंगो गाउँपालिका जोखिम रहेको अवस्थामा कसरी अघि बढ्नु हुन्छ नि ?
हो तपाईले सही भन्नु भयो, हाम्रो वडा त जोखिम छँदैछ । गाउँपालिका समेत उच्च जोखिम युक्त क्षेत्र हो । किन भने यहाँका अन्य मानिसमा समेत यस अघि नै कोरोना देखिसकेको छ । सीमा क्षेत्र भएकोले समेत निकै गाह्रो अवस्था छ । यस्तो जोखिमको बेला सबैले मिलेर अघि बढ्नुको विकल्प म देख्दिन । महामारीसँग जुध्न एकताबद्ध भएर अघि बढौं । गाउँपालिकामा समेत त्रासको वातावरण भएकोले त्यहाँका नागरिक आफै सचेत भएका छन् । कोही छन् भने गाउँपालिकाले सम्झाउँछ । सुरक्षाको लागि म के भन्न चाहन्छु भने सीमा नाका पूर्ण रुपमा बन्द गरिनुपर्छ । तपाइलाई जानकारी गराउ । अहिले पनि सीमामा मानिसहरु अलपत्र अवस्थामा छन् । वडा नम्बर पाँचकै आठ, दश जना रहेका छन् । यता यस्तो जोखिम छ । उता जनता विलौना गर्छन् । सीमा खटिएका सुरक्षा अधिकारीले माथिको आदेश नभएको भन्दै भित्र छिर्न दिएका छैनन् । मानिसहरु चित्कार गर्छन् । उनीहरु अनिवार्य ल्याउनुपर्ने अवस्था रहेको छ । उनीहरुलाई गाउँपालिकामा ल्याएर पूर्ण रुपमा स्वास्थ्य उपाय अपनाउनु पर्छ । गाउँपालिकामा रहेका क्वारेन्टिनमा बसेकाको स्वास्थ्यको ख्याल गरिएन भने फेरी जोखिम छ । नरैनापुरमा अहिले त्रासमा छ । त्यसैले राज्यले समयमा नै ध्यान दिनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्