नेपालगन्ज ।
भनभन भाइ हो–देउसिरे
स्वर मिलाइ भन–देउसिरे
हामी त्यसै आएनौँ–देउसिरे
बलिराजाले पठाए–देउसिरे
ए देउसिरे भन–देउसिरे
तिहारमा गाउँघरदेखि सहरबजारसम्म रौनक लिएर आउने एउटा सांस्कृतिक पक्ष देउसीभैलो पनि हो । समूह बनाएर लोकलयमा विशिष्ट शैलीमा एक जनाले भट्याउने र अरुले देउसिरे र भैलो भन्दै आसपासका सबै घरआँगनमा गएर खेलिने यो खेल नेपालको एक विशिष्ट सांस्कृतिक परम्परा हो । साँझ परेपछि समूह बनाएर घरघर पुग्ने, मादल र खैँजडीको तालमा गीत गाउने, नाच्ने र घरपरिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा नेपाली समाजमा लामो समयदेखि चल्दै आएको छ ।
तर पछिल्लो समय देउसी खेल्ने शैलीमा परिवर्तन आउन थालेको छ । देउसीभैलोमा प्रयोग गरिने मौलिक बाजा, गीतको प्रयोग घट्दै गएको छ भने आधुनिक गीत तथा डिजेको प्रयोग बढ्दो छ । साथै, देउसीभैलोको मौलिकता जोगाउनेभन्दा पनि दक्षिणामा नयाँ पुस्ता बढी केन्द्रित हुन थालेको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ की बसन्ती तिमिल्सैनालाई तिहारको समयमा देउसिरेभन्दा चर्काे स्वरमा घन्किने डिजेको स्वरले दिक्क लगाउँछ ।
अछाम पुख्र्यौली घर भएकी उनी आफ्नो बाल्यकालको देउसी सम्झिन्छिन् । गाउँका सबै युवायुवतीहरू जम्मा भएर समूह बनाउने, मादल र मुरलीको तालमा भट्याउने र बीचबीचमा मौलिक गीत गाउँदै रमाउने त्यतिबेलाको देउसीभैलो निकै सम्झना आउने गरेको उनी बतउँछिन् । ‘अहिले त न भट्याउन जानेको हुन्छन् न गाउन । आँगनमा टेकेकै हुँदैन भट्याउन सकेर गीत बजाउन थालिहाल्छन् । गीत पनि हिन्दी बजाउँछन्,’ उनले भनिन् ।
बसन्तीकै छिमेकी रुपा विष्टले पनि अहिले देउसीभैलोको मौलिकता गुम्दै गएको बताइन् । कमसेकम मादलको तालमा नाच्ने र भट्याउने हो भने धेरै हदसम्म मौलिकता जोगिने उनको बुझाइ छ । तर, अहिले परम्परागत मौलिक भाका र बाजागाजाको स्थान आधुनिक गीतसङ्गीत, साउन्ड सिस्टम र मनोरन्जनका नयाँ शैलीले लिएका छन् । यदाकदा केही समूहहरूले नेपाली पोशाकमा सजिएर मादलकै प्रयोग गरेर भट्याइरहेका देखिन्छन् ।
नभए कतिपयले त भट्याउनसमेत दुःख नगरी रेकर्डेड गीत बजाएर देउसी खेल्ने गरेका छन् । खासमा देउसीको भट्याउने शैलीमा नेपाली समाजको स्थानीय परिवेश, सामाजिक सम्बन्ध, कृषि जीवन, धार्मिक आस्था र समुदायका विविध पक्ष समेटिएका हुने साहित्यकार खगेन्द्र गिरी कोपिला बताउँछन् । देउसी भट्याउने व्यक्तिले एउटा पङ्क्ति सुनाउने र समूहले त्यसलाई दोहो¥याउने शैलीले वातावरण नै उल्लासमय बनाउने गरेको उनको स्मृति छ ।
घरधनीको प्रशंसा गर्दै आशीर्वाद दिने र कहिलेकाहीँ रमाइलो व्यङ्ग्यसमेत गर्ने परम्पराले देउसीलाई मनोरञ्जनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने माध्यम बनाएको उनले बताए । तर, अहिले सहरको देउसीमा दक्षिणा उठाउनेबाहेक पुरानो आत्मियताको पक्ष कतै छुटेको महसुस हुने उनको बुझाइ छ । नयाँ पुस्ताका युवाहरू भने समयसँगै शैलीहरू परिवर्तन भइरहने बताउँछन् । नेपालगन्ज ४ का १९ वर्षीय दिपेश पुनमगरले सबै कुराहरू परम्पराकै जस्तो खोजेर नहुने बताए ।
‘अहिलेको आधुनिक समयमा प्रविधिको सदुपयोग त गनै प¥यो नि । बरु पुराना बाजागाजाको पनि प्रयोग भने गरिराख्नुपर्छ । दुवैको फ्युजन भयो भने राम्रो हुन्छ,’ पुनले भने । देउसीभैलो खेल्ने शैलीमा आएको अर्काे परिवर्तन भनेको दक्षिणाको माग गर्ने तरिकामा पनि हो । पहिले राम्रो भट्याएरै घरबेटीलाई फकाएर र मिठो गीत गाउँदै नाचेर दक्षिणा धेरै दिन घरबेटीलाई उत्साहित गराउने गरिन्थ्यो । भट्याउने क्रममा घरबेटीको प्रशंसा गरेर फकाउन खोजिन्थ्यो ।
तर, अहिले त सिधै यति दक्षिणा चाहिन्छ भनेर माग्ने चलन बढेको धेरैको अनुभव छ । यसले नयाँ पुस्तामा देउसीभैलो पैसा माग्नकै लागि मात्र खेलिन्छ भन्ने गलत धारणाको विकास हुने कोपिलाको बुझाइ छ । ‘यसमा अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई यसको महत्वका बारेमा बुझाउनुपर्ने देखिन्छ । विद्यालयहरूले पनि यस सांस्कृतिक पक्षको राम्रा पक्षबारे बालबालिकालाई बुझाउनुपर्छ,’ कोपिलाले भने ।
पछिल्लो समय देउसीभैलोमा एउटा सकारात्मक पक्ष पनि बढेको छ । त्यो हो सामाजिक कार्यका लागि कोष जम्मा गर्नका लागि यस अवसरलाई सदुपयोग गर्ने । कतिपय विद्यालय, क्याम्पस, युवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थाहरूले देउसीभैलो खेलेर कोष जम्मा गर्ने गरेका छन् । यसले तिहारलाई सामूहिक रूपमा मनाउने वातावरण सिर्जना गर्नुका साथै सामाजिक कार्यका लागि आर्थिक स्रोत संकलन गर्ने अवसरसमेत दिएको छ ।
यतिमात्रै होइन कतिपय सांस्कृतिक क्लबहरूले देउसीभैलोको महत्व जोगाउन मौलिक देउसीभैलो कार्यक्रम नै आयोजना गर्ने गरेका छन् । यस्ता गतिविधिले देउसीभैलोलाई कलासँग जोड्नुका साथै गुम्दै गएका मौलिक पक्षहरूको संरक्षणमा पनि टेवा पुगिरहेको देखिन्छ । अहिले पनि पहाडी भूभाग तथा ग्रामीण क्षेत्रमा देउसीको मौलिकता देख्न पाइन्छ ।
ठूलो समूह बनाएर गाउँ गाउँ डुल्दै खेलिने यस्ता देउसीभैलो खेलिएका दृश्यहरू सामाजिक सञ्जालमा पनि भाइरल हुने गरेका छन् । देउसीभैलोको इतिहासबारे प्रमाणिक कुराहरू कमै भए पनि यसलाई पौराणिक समयमा बलिराजाको पालाबाट सुरु भएको मान्यता रहीआएको छ । निकै अहंकारी र घमन्डी रहेका बलिराजाको घमण्ड तोड्न भगवान विष्णुले बाउन्ने रूप धारण गरेर राजाको घरमा पुगेको र बलिराजाले जे मागे पनि दिने प्रतिबद्धता गरेको कथन छ ।
त्यसपछि विष्णुले तीन पाइला जमिन मागेर एक पाइलामा पृथ्वी र अर्को पाइलामा अन्तरिक्ष ढाकिदिएपछि तेस्रो पाइलामा भने राजाले आफ्नो शिर राखेर विष्णुको खुट्टा ढोेग्दै अंहकार छाडेको वचन दिएको किंवदन्ती छ । त्यही दिनबाट बलिराजाले खुसीयालीमा रैतीहरूलाई देउसी खेल्न पठाएको विश्वास गरिन्छ । त्यही किंवदन्तीलाई सम्झेर देउसी भट्याउँदा बलीराजाले पठाएको भन्ने चलन रहेको छ ।









प्रतिक्रिया दिनुहोस्