वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणाले नेपालगन्जको चाइना बजारको जग्गाका विषयमा पत्रकार सम्मेलन गरे । उनले यो विषयलाई राजनीतिकरुपमा प्रयोग गर्न खोजिएको बताए । चाइना बजारको जग्गाका विषयमा आफूमाथि उठेका प्रश्नबारे स्पष्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा डा. राणाले दोहोरो अभिव्यक्तिसमेत दिए ।
डा. राणाले चाइना बजारको जग्गा व्यक्तिकै भएको दाबी पनि गरे भने आफ्नो कार्यपालिका बैठकले भोगाधिकार दिँदा कित्ता नम्बर २५ किटान नगरेको पनि बताए । उनले २५ नम्बर कित्ता व्यक्तिको नाममा भएको अन्य कागजातहरुले पुष्टि गर्ने बताए । त्यसको पुष्ट्याइँ गर्न उनले नगर विकास समितिले उपमहानगरपालिकालाई जग्गा हस्तान्तरण गर्दा दिएको पत्रमा २५ नम्बर कित्तामा आफ्नो दाबी गरेर निवेदन दिएकाहरुको कित्ता नम्बर उल्लेख गरेको पत्र देखाए ।
तर, नापी कार्यालय बाँकेमा उक्त कित्तामा आफ्नो जग्गा दाबी गर्नेहरुले निवेदन दिए पनि ती निवेदनका सन्दर्भमा हालसम्म कुनै निर्णय भएको छैन । अहिलेसम्म नापीमा उक्त जग्गा नगर विकासले रोक्का गरेको र केही व्यक्तिहरुले निवेदन दिएकोबाहेक अरु रेकर्ड छैन । डा. राणाले पनि नापी कार्यालयको सोही फिल्डबुक उतारको कागजात देखाए । जसमा उक्त जग्गा आफ्नो भएको दाबी गर्नेहरुले आफ्नो नाममा गरिदिन भन्दै दिएको निवेदन नम्बर मात्रै उल्लेख छ । नाम, थर र वतन उल्लेख छैन ।
डा. राणाले आफूले तल्लो तहबाट आएका राय र कागजका आधारमा नक्सा पनि पास गरेको र पछिल्लो कार्यकालमा कानुनी सल्लाहकारको रायका आधारमा भोगाधिकार दिएको बताए । नापी शाखाबाट सुझाव किन लिनुभएन भन्ने प्रश्नमा उनले भने, ‘त्यो काम मैले कानुनी सल्लाहकारलाई नै दिएको थिए । मेरो सरोकारको विषय भएन ।’ उनले यो विषयलाई अहिले राजनीतिक मसलाको रुपमा प्रयोग गर्न खोजिएको पनि दाबी गरे । डा. राणाले पत्रकार सम्मेलनमा केही प्रश्नहरुको जवाफ स्पष्ट दिन सकेनन् । उनले अन्तिम निर्णय अदालतले नै गर्ने बताए ।
पत्रकार सम्मेलनमा धवलशमशेरले व्यक्त गरेका विचार र अनुत्तरित प्रश्नहरु यस प्रकार छन्:
धवलशमशेर: मैले २५ नम्बर कित्ता उल्लेख गरेर निर्णय गरेको छैन ।
प्रश्न: त्यसो भए उक्त निर्णयपछि त्यही कित्तामा भएका व्यापारीबाट १० वर्षदेखि उठाउँदै आएको भाडा लिन किन बन्द गरेको ?
धवलशमशेर: मैले पहिलो कार्यकालमै उक्त जग्गाको नक्सा पास गरिदिएको थिएँ ।
प्रश्नः त्यसो भए नक्सा पास गर्दा नैै किन भोगाधिकार नदिएको र पसलेहरुबाट भाडा उठाएको ?
प्रश्न: नापी कार्यालयमा २५ नम्बर कित्ता अहिलेसम्म कुनै व्यक्तिको नाममा पनि किटान किन नभएको ?
प्रश्न: उपमहानगरपालिकाले व्यक्तिहरुलाई दिएको पत्रमा उल्लेखित ‘अदालतको आदेशअनुसार’ भन्ने वाक्यांशको अर्थ के हो ?
‘अब अरु जग्गा पनि नगर मातहत ल्याउँछौँ’
अहिले नेपालगन्जका निवर्तमान मेयर डा. धवलशमशेर राणा र वर्तमान मेयर प्रशान्त विष्ट चाइना बजारको जग्गाको विषयलाई लिएर आमनेसामने भएका छन् ।
सोमबार धवलशमशेर पत्रकार सम्मेलन गर्नुअघि मेयर विष्ट चाइना बजारका व्यापारीहरुले आयोजना गरेको कार्यक्रममा उभिएर भनिएरहेका थिए, ‘चाइना बजारको जग्गा त हामीले नगर मातहत ल्याउन सक्यौँ ।
अब अरु यस्ता जग्गा पनि यसैगरी नगर मातहत ल्याउँछौँ ।’ चाइना बजारका व्यापारीहरु जग्गा नगर मातहत आएको भन्दै खुसी भएका छन् । उनीहरुले सोमबार एक कार्यक्रम गरी जग्गा संरक्षण सरोकार पक्षलाई सम्मान कार्यक्रम गरे ।
तर, अझै उक्त जग्गाको यथार्थ टुंगो लाग्न बाँकी नै छ । वर्तमान उपमहानगरपालिका र निवर्तमान मेयरबीचका बाँझिएका तथ्यहरुको छिनोफनो हुन आवश्यक छ । साथै हातमा कागज बोकेर हिँडेका स्थानीयहरुको जग्गा कहाँ छ ? भन्ने टुंगो लगाइदिनु पनि उपमहानगरपालिकाको कर्तव्य हुन आउँछ ।
प्रतिक्रिया दिनुहोस्