नेपालगन्ज ।
वीरगन्ज निवासी साहित्यकार गोपाल अश्कद्वारा लिखित कथासंग्रह ‘कालो गुलाफ’ सनत रचना कथा सम्मान २०८० बाट नेपालगन्जमा सम्मानित भएको छ ।
मध्यपश्चिम स्रष्टा समाजले अर्पण गर्दै आएको उक्त सम्मान नेपालगन्जमा एक कार्यक्रम गरी अश्कलाई प्रदान गरिएको हो । साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अश्कलाई उक्त सम्मानपत्र हस्तान्तरण गरियो । पुरस्कार हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरेले अश्क अनुभूतिलाई विचारमा घोलेर रचना गर्ने कथाकार भएको टिप्पणी गरे ।
नगद ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको उक्त सम्मान कार्यक्रममा अश्कको व्यक्तित्वमाथि साहित्यकार हरि तिमिल्सेना र ‘कालो गुलाफ’ कृतिमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीले प्रकाश पारेका थिए ।
कथा, कविता, गजललगायतका विभिन्न विधामा रचना गर्दै आएका अश्क भाषा आयोगका सदस्यसमेत हुन् । अश्क साहित्यिक कृतिका अनुवादक र सम्पादकसमेत हुन् । प्राज्ञ कार्कीले अश्कका कथाहरू यथार्थवादी धारका रहेका र अधिकांश कथामा वीरगन्ज तथा मधेसको परिवेश आउने गरेको बताए ।
कार्यक्रममा बोल्दै सम्मानित कथाकार अश्कले आफूले धेरैजसो पात्रहरू आफ्नो वरिपरिका र कतिपय पात्रमा आफैँलाई लेखेको बताए । उनले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको पनि बताए ।
सनत रचना कथा सम्मान वरिष्ठ कथाकार सनत रेग्मीद्वारा आफू र जीवनसंगिनीको नाममा स्थापित सम्मान हो ।
प्रतिक्रिया दिनुहोस्