नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिकै जनस्तरबाट निर्माण गरिएको करिब एक करोड लागतको किरियापुत्री भवन तयार भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त किरियापुत्री भवनको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि रकम तथा जिन्सी दान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
नेपालगन्जका समाजसेवी सेमराज शाक्यसहितको एक समूहले अगुवाई गरेको उक्त भवन निर्माणको लागि नगरबासीहरुले नगद रकम दान गरेका थिए । भवन, शौचालय, ट्रस र बाउण्ड्रीससहित सबै संरचना तयार गरिएको छ । सबै दाताबाट गरेर करिब ९४ लाख रुपैयाँ संकलन भएको भवन निर्माण समितिकी कोषाध्यक्ष अनिता शाहले जानकारी दिइन् । जसमा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले पाँच–पाँच लाख रुपैयाँ प्रदान गरेको पनि शाहले जानकारी दिइन् । अब भवनमा एसी र केही उपकरणहरु जडान गर्न बाँकी रहेको समितिका सदस्य मधुसुदन शर्माले जानकारी दिए । सबै गरेर एक करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।
तीन तले भवनको भुइँतला र दोस्रो तलामा चार–चारवटा कोठा बनाइएको छ । जसमध्ये दुई–दुईवटा अट्याच बाथरुम सहितको महिला र पुरुष सदस्य बस्नका लागि अलग–अलग कक्षहरु छन् । जहाँ प्रत्येक तलामा सामूहिक रुपमा बसेर मन्त्रपाठ सुन्ने, आफन्त भेटघाट गर्ने लगायतका प्रयोजनका लागि एउटा कक्ष, र सानो भण्डार कक्ष तयार गरिएको छ । प्रांगणमा टिनको छानोमा अशौचको अन्तिम दिनको संस्कारका लागि दुईवटा कक्षहरु बनाइएको छ भने हिन्दु धार्मिक विधिअनुसार ढिकुरो राख्ने दुईवटा ठाउँहरु पनि बनाइएको छ । ‘हिन्दु धार्मिक विधिअनुसारको कुनै पनि कार्य कमी हुन नदिनेगरी व्यवस्था गर्दै छौँ,’ भवन निर्माण समितिका सचिव बसन्त लामिछानेले भने ।
समाजसेवी एवं प्रसिद्ध स्वास्थ्यकर्मी सेमराज शाक्यले कोभिड–१९ का बेला ज्यान गुमाएकाहरुका आफन्तले किरिया गर्ने ठाउँ नपाएर भौँतारिनु परेको देखेपछि भवन निर्माणको योजना बनाइएको जानकारी दिए । उक्त योजनाको अगुवाई गर्ने व्यक्ति थिइन्, नेपालगन्ज माइति भई काठमाडौंमा बस्दै आएकी माधवी शाह । उनले काठमाडौंमा किरियापुत्री भवनहरु प्रशस्त रहेकोमा नेपालगन्जमा त्यस्तो व्यवस्था नरहेको पाएपछि नगद १० लाख रुपैयाँ प्रदान गरेर काम अघि बढाउन हौसला प्रदान गरेकी शाक्यले जानकारी दिए । त्यसपछि नेपालगन्जबासी दाताहरुसँग रकम संकलन गरी भवन निर्माण पूरा गरिएको हो । उक्त भवन स्थानीय सन्तानेश्वर शिवपार्वती मन्दिरको जमिनमा निर्माण गरिएको हो । उक्त जमिन मन्दिरलाई नेपालगन्जका समाजसेवी माधवराम वर्माले दान गरेका थिए ।
शाक्यको अध्यक्षतामा रहेको किरियापुत्री भवन निर्माण समितिमा रविन्द्र कर्ण सह– संयोजक, सचिवमा बसन्त लामिछाने, अनिता शाह कोषध्यक्ष छन् भने मधुसुदन शर्मा, कृष्णप्रसाद श्रेष्ठ, चित्रबहादुर डाँगी सदस्य रहेका छन् ।उक्त भवनको प्रयोगमा सञ्चालन खर्च उठाउने गरी न्यूनतम शुल्क लगाइने र तिर्न नसक्नेहरुका लागि भने छुटको व्यवस्था गरिने समितिले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्