वीरेन्द्र जैसी,नेपालगन्ज :
नेपालगन्जमा अनुमति पाइनसक्दै ३ सय बेडको अस्पताल सञ्चालन गर्न लागेको प्रचार गरेको र नेपालगन्ज मेडिकल कलेज सञ्चालन भइरहेको संरचनामा रातारात आफ्नो बोर्ड टाँसेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्स प्रालिले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडलाई संरचना खाली गराउन पत्र लेखेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सञ्चालक संस्था लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सहायक निर्देशकसमेत रहेका र केही दिनअघि सञ्जीवनीको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त भएका डा. नितेश कनोडियाले आफ्नै नेतृत्वको अर्काे संस्थालाई संरचना खाली गराउन लेखेको उक्त पत्र सार्वजनिक भएको छ ।२०८१ माघ १५ गते लेखिएको उक्त पत्रमा फागुन १५ गतेसम्म सम्पूर्ण कर्मचारीहरूलाई हाल नेपालगन्ज मेडिकल कलेज सञ्चालन भइरहेको परिसरबाट लैजाने व्यवस्था गर्न भनिएको छ ।

उक्त पत्रमा २०५५ सालमा तत्कालीन नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग लिजमा लिएर लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजले लिजमा लिएर चिकित्सा शिक्षा अध्यापन गराउन थालेको उल्लेख छ । उक्त नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि २०८१ साउन १० गतेदेखि सञ्जीवनी कलेज अफ केडिकल साइन्स प्रालिसँग गाभिएको सञ्जीवनीले जारी गरेको कर्मचारी मागको विज्ञापनमा उल्लेख छ । यद्यपि यस विषयको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
डा. कनोडियाले लेखेको पत्रमा पनि सञ्जीवनीले २०८१ वैशाख ११ गतेको सञ्चालक समितिको बैठकले लर्ड बुद्धलाई दिइएको संरचनामा आफैँले अस्पताल सञ्चालन गर्ने निर्णय भएको उल्लेख छ । जबकि उक्त मिति नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग मर्ज भएकोभन्दा तीन महिनाअघिको हुन आउँछ । स्मरण रहोस् नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशत बढी सेयर भएका व्यक्ति खुमा अर्याल नै सञ्जीवनीका मालिक हुन् । सञ्जीवनी र मेडिकल कलेजको सञ्चालक तथा अधिकांश पदाधिकारीहरू पनि उही हुन् ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू २०८१ असार ९ गतेदेखि तलब भत्ता वृद्धि तथा सेवासुविधाको माग गर्दै आन्दोलनमा छन् । सञ्जीवनीले विज्ञापनमा उल्लेख गरेको मितिलाई आधार मान्ने हो भने कर्मचारीको आन्दोलन सुरु भएको एक महिनापछि नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग मर्ज गर्ने निर्णय भएको छ । अहिले आन्दोलनरत कर्मचारीहरू सञ्चालकहरूले पैसाको बलमा कानुन तथा विधि पद्धति मिचेर कर्मचारीलाई दबाबमा पार्न एकपछि अर्काे कदम चालिरहेको आरोप लगाउँछन् ।
सञ्जीवनीले विज्ञापनमा ३ सय बेडको अस्पताल सञ्चालनमा ल्याउन लागेको भनेर प्रचार गरे पनि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको २०८१ माघ २ गतेको पत्रमा सञ्जीवनीले नेपालगन्जमा अस्पताल सञ्चालनका लागि अनुमति लिएको अभिलेखमा नदेखिएको उल्लेख छ । यसैगरी, लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको माघ ६ गतेको एक पत्रमा पनि सञ्जीवनीले नेपालगन्ज वडा नम्बर १२ मा सञ्चालन गर्न कुनै अनुमति नलिएको उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्