रूकुम पश्चिम ।
स्वरोजगार कोषको रकम नतिर्ने रूकुम पश्चिमका ८७ जनाको सम्पत्ति रोक्का गरिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट करोडौँ रकम ऋण लिएर वर्षौंसम्म नतिर्ने सहकारी सञ्चालक र कर्मचारीहरूको घर, जग्गा जमिन रोक्का गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको स्वरोजगार कोष सचिवालयको कार्यालय, कुपण्डोल–१० ललितपुरका अनुसार घर जग्गा रोक्का हुनेमा रूकुम पश्चिमका ७ वटा सहकारी सञ्चालक, कर्जा र लेखा उपसमिति पदाधिकारी तथा सदस्यहरू रहेका छन् । यी सहकारीका ८७ जनाको ५ सय ५० कित्ता जग्गा मालपोत कार्यालयले रोक्का गरेको हो ।
स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले लक्षित वर्गमा रकम लगानी गर्ने र नियमानुसार कोषलाई बुझाउने सम्झौता अनुसार यी सहकारीले ३ करोड १४ लाख कर्जा लिएको बताए । उनले भने, ‘हालसम्म सावाँ, ब्याज र हर्जानासमेत तिरेका छैनन् । कोषलाई गत भदौसम्म मात्र २ करोड १९ लाख ५४ हजार ५ सय ९६ रूपैयाँ बुझाउन बाँकी छ ।’
उनका अनुसार असुल उपर गर्नका लागि कोष सचिवालयबाट पटक पटक मौखिक र लिखित ताकेता गरेपनि कोषमा रकम प्राप्त हुन सकेको छैन । रकम नउठेपछि सचिवालयले उनीहरूको सम्पत्ति रोक्का गर्न गत भदौ पहिलो साता मालपोत कार्यालय रूकुम पश्चिमलाई पत्राचार गरेको थियो ।
कोषबाट ऋण लिएर रकम नतिर्नेहरूमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीदेखि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट र वडाध्यक्ष भुपालसिंह ओलीसम्मको नाम उल्लेख छ । कोषको रकम समयमा नतिरी नबुझाई बाँकी राखेको अवस्थामा कोष (सञ्चालन) नियामावली, कर्जा लगानी तथा असुली कार्यविधि, कोष र सहकारी संस्थाबीच भएको कर्जा सम्झौता एवम् लिखत तमसुकबमोजिम उनीहरूका नाममा भएको चल अचल सम्पत्ति रोक्का गरिएको हो ।
कोषले घरजग्गा कुनै पनि प्रकारको बेचबिखन, हक हस्तान्तरण र दान दातव्य समेत गर्न नपाउने गरी रोक्का गरिदिन भनेर पत्राचार गरेपछि गत भदौ महिनामा कानुनबमोजिम प्रक्रिया अपनाइएको मालपोत कार्यालय रूकुम पश्चिमले जनाएको छ । यता सम्पत्ति रोक्काको विषयमा आफूलाई जानकारी नभएको मुसिकोट नगर प्रमुख महेन्द्र केसी बताउँछन् । पालिका प्रमुख हुनुअघि नै सहकारी संस्थाबाट आफूले राजीनामा दिएको उल्लेख गर्दै यस सम्बन्धमा बुझेर समस्या समाधान गरिने उनले बताए ।
कोष सचिवालयका अनुसार कोषले आफैँ प्रत्यक्ष ऋण प्रदान गर्दैन । यसले बैंक, वित्तीय संस्था तथा सहकारीहरूमार्फत् प्राप्त गरेको कर्जा स्वरोजगार कार्यक्रममा लगानी गर्छ । सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारीहरूले कोषबाट प्रतिवर्ष ४ प्रतिशतका दरले ऋण प्राप्त गर्छन् र संस्थाले व्यक्ति वा समूहलाई प्रतिवर्ष ८ प्रतिशतका दरले ऋण प्रदान गर्छन् ।
यसरी प्राप्त कर्जा बेरोजगार युवाहरूलाई प्रतिव्यक्ति बिना धितो ५ लाखसम्म आवधिक ऋण उपलब्ध गराउने र समूहमा कर्जा लिने भएमा बढीमा १५ जनाको समूहलाई प्रतिव्यक्ति ५ लाख ननाघ्नेगरी बढीमा ५० लाख ऋण उपलब्ध गराइन्छ । कोषले हाल सहकारीमार्फत् युवा बेरोजगारहरूलाई स्वरोजगार कर्जा उपलब्ध गराउने कार्यलाई जोड दिएको छ । हाल ७७ वटै जिल्लाका १९ सय ६८ सहकारी संस्था मार्फत् स्वरोजगार कर्जा उपलब्ध भइरहेको छ ।
कसले कति रकम तिर्न बाँकी ?
कोषको सचिवालयका अनुसार मुसिकोट नगरपालिका –१ स्थित बलिदान जनकृषि सहकारी संस्था लिले २०७२ साल असार २८ गते ७५ लाख रूपैयाँ कर्जा सम्झौता गरेपछि सहकारीका नाममा ७५ लाख निकासा भएको थियो । तर गत भदौ महिनासम्म मात्र ५२ लाख ७६ हजार रकम कोषको सचिवालयलाई तिर्न बाँकी छ । यो सहकारीले सावाँ, ब्याज र हर्जाना नतिरेपछि सञ्चालक समितिका सचिव तोकबहादुर खत्रीसहित सात जना सहकारी सञ्चालकहरूको ३२ कित्ता अचल सम्पत्ति रोक्का गरिएको छ ।
मुसिकोट नगरपालिका–१ को हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्यबहादुर गिरी र हाल नगर प्रमुखसमेत रहेका सहकारीका उपाध्यक्ष महेन्द्र केसीसहित ९ जनाको ३४ कित्ता अचल सम्पत्ति पनि रोक्का छ । यस सहकारीले २०७२ असार २८ मा ५२ लाखकोे कर्जा सम्झौता गरी ५२ लाख नै भुक्तानी लिएको थियो । यो सहकारीको पनि कर्जा भुक्तानी अवधि नाघेको छ भने कोषलाई बुझाउनुपर्ने रकम सावाँ, ब्याज र हर्जानासमेत गरेर ८ लाख ६० हजार रकम तिरेको छैन । यो सहकारीको सञ्चालक समितिमा व्यवसायीहरू छन् ।
यता चौरजहारी नगरपालिका–२ स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिक्रम बिष्टसहित सञ्चालक समिति, लेखा र कर्जा उपसमितिका १४ जनाको १२२ कित्ता सम्पत्ति रोक्का भएको छ । यस सहकारीले २०७३ चैत १६ मा ५० लाखको कर्जा सम्झौता गरेर ५० लाख नै भुक्तानी लिएको थियो । हाल सावाँ, ब्याज र हर्जानासमेत गरेर २९ लाख ७५ हजार रूपैयाँ कोषको सचिवालयलाई तिर्न बाँकी छ ।
यसैगरी चौरजहारी नगरपालिका–२ कै बिहानी बचत तथा ऋण सहकारी संस्थाले पनि कोषलाई ५० लाख ८० हजार १ सय ७२ रूपैयाँ तिरेको छैन । यस सहकारीले २०७४ माघ २१ मा ५० लाखको कर्जा सम्झौता गरेपछि ५० लाख नै निकासा गरिएको थियो । सावाँ, ब्याज र हर्जानासमेत नतिरेपछि सञ्चालक समितिका अध्यक्ष धनमाया गर्वुजा पुनमगर, उपाध्यक्ष कृष्णबहादुर रानासहित सञ्चालक समितिका सदस्यहरू, लेखा समितिका संयोजक र सदस्यहरू र कर्जा उपसमिति संयोजक र सदस्यहरू गरेर १३ जनाको ७९ कित्ता सम्पत्ति रोक्का गरिएको छ ।
त्यस्तै सानीभेरी गाउँपालिका–३ को सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले पनि कोषबाट लिएको रकम, ब्याज र हर्जना तिरेको छैन । यो सहकारीले कोषलाई ४४ लाख ९० हजार रकम तिर्न बाँकी छ । हाल गाउँपालिका अध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष बिर्खबहादुर बिष्ट, संस्थाका उपाध्यक्ष तथा वडाध्यक्ष भुपालसिंह ओलीलगायत १३ जना सहकारी सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति रोक्का भएको छ ।
यो सहकारीको नाममा रहेको जग्गा र घर समेत रोक्का छ । यो सहकारीले कोषसँग २०७२ साल चैत १७ गते ५२ लाख कर्जा सम्झौता गरेर ५२ लाख नै भुुक्तानी लिएको थियो । यसैगरी सानीभेरी गाउँपालिका–५ स्थित असल कृषि सहकारी संस्थाका अध्यक्ष भुवन पुन, उपाध्यक्ष दल्जित बस्नेतसहित १६ जनाको ८२ कित्ता सम्पत्ति रोक्का भएको छ । यो सहकारीले कोषसँग २०७६ भदौ ३० गते ५० लाख रूपैयाँ कर्जा सम्झौता गरेर २५ लाख भुक्तानी लिएको थियो । जसमा २४ लाख ३२ हजार रकम कोषलाई तिर्न बाँकी छ ।
यता आठबिसकोट नगरपालिका–८ दाँजेस्थित कुरेपानी कृषि सहकारी संस्थाका अध्यक्ष भीमबहादुर महतारा, उपाध्यक्ष शशे बुढासहित १५ जनाको १५५ कित्ता अचल सम्पत्ति रोक्का गरिएको छ । यो सहकारीले २०७४ चैत १५ मा २० लाखको कर्जा सम्झौता गरेर १० लाख मात्र निकासा लिएको थियो । तर गत भदौसम्म साँवा, ब्याज र हर्जानासमेत गरेर ८ लाख ३८ हजार रूपैयाँ तिर्न बाँकी छ । सहकारीका सञ्चालक समिति, कर्जा समिति र लेखा उपसमितिका १५ जनाको घर जग्गा रोक्का गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्