कर्णाली सरकारले जगदुल्ला हाइड्रोपावरमा ४१ करोड बढी शेयर लगानी गर्ने



नन्दराम जैशी । सुर्खेत ।

जगदुल्ला जलविद्युत आयोजनामा (हाइड्रोपावर) कर्णाली प्रदेश सरकारले शेयर लगानी गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार प्रदेश सरकारले आयोजनामा ४१ करोड ४९ लाख ३० हजार ३ सय ६० रूपैयाँ शेयर लगानी गर्नेछ । अर्ध जलासययूक्त एक सय २० मेगावाटको जगदुल्ला जलविद्युत आयोजनालाई कर्णाली प्रदेशकै आकर्षक परियोजनाका रूपमा लिइएको छ ।

प्रदेश सरकारद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहले आयोजनामा प्रदेश सरकारले पनि शेयर लगानी गर्ने निर्णय गरेको जानकारी दिए । लामो समयदेखि रोकिएको यो परियोजना अब भौतिक संरचना निर्माणको अन्तिम तयारीमा पुगेको छ । पछिल्लो समय भएको ग्लोबल टेन्डरमा ७ निर्माण कम्पनीलेसमेत आवेदन दिएका छन् ।

जसको अहिले प्राविधिक मूल्यांकन अन्तिम चरणमा पुगेको छ । यो आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्राविधिक रूपमा छनोट भएपछि आर्थिक प्रस्ताव मागिने र सोही प्रस्तावमा उपयुक्त कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिने तयारी रहेको जगदुल्ला जलविद्युत् हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका अनुसार आयोजना निर्माणका लागि २३ अर्ब बढी रकम लागत अनुमान गरिएको छ । जसमा कम्पनीले १६ अर्ब ऋण र ७ अर्ब रूपैयाँ स्वपुँजीबाट जुटाउने तयारी छ । संस्थापक शेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको सेयर स्वामित्व छ ।

शेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत,आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत,प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ७ अर्ब १ करोड र चुक्ता पुँजी १ अर्ब १ करोड रूपैयाँ बराबर छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ ।

नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको काम भइरहेको छ । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र भने २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद् बिक्रीसम्बन्धी सम्झौतामा गत बैशाखमा हस्ताक्षर भएको थियो ।

अर्धजलाशययुक्त आयोजनाको ग्रस हेड ७ सय ८९ मिटर छ । आयोजनाले ६ सय २३ मेगावट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ । आयोजनामा कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेगरी डिजाइन तयार पारिएको छ । जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी ६.१ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार