बुटवल, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रूपन्देहीमा आफ्ना कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ । नेकपा रूपन्देहीले जिल्लाको बुटवल र भैरहवामा प्रशिक्षण दिएको हो ।
रूपन्देहीको उत्तरी भागका पालिकाहरूको बुटवलमा र दक्षिणी भागका पालिकाहरूको भैरहवामा दुई चरणमा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिइएको सो पार्टीले जनाएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज बसन्त सीको आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
दुबै ठाउँका प्रशिक्षण कार्यक्रममा नेता बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पुँजीपति तथा भ्रष्टहरूले कब्जा गरेकाले त्यसविरुद्ध नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै समाजवादी गणतन्त्रका लागि जुनसुकै अवस्थामा पनि पार्टी लड्न तयार रहेको बताउँदै उनले सहिदको रगत खेर जान नदिने दाबी गरे ।
उनले कम्युनिस्टहरू जस्तोसुकै अवस्थाको पनि सामना गर्नका लागि तयार हुनुपर्ने बताउँदै विश्वका कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिएर अगाडी बढ्नुको विकल्प नभएको बताए । पार्टीको पछिल्लो केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय भएको बताउँदै उनले भ्रष्ट दलाल सत्ताको भण्डाफोर निर्वाचनको माध्यमबाट गर्नुपर्ने र मुलुकलाई समाजवादमा रुपान्तरणका लागि देशभक्त र कम्युनिस्ट शक्तिहरू एकजुट हुन जरुरी रहेको बताए ।
प्रशिक्षण कार्यक्रममा समाजवादी मधेसी मुक्तिमोर्चाका अध्यक्ष विनोद सीले मधेस आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी तथा मधेसी जनताले ठूलो बलिदानी गरेको बताउँदै आन्दोलनका उपलब्धिलाई रक्षा गर्दै नेपाली विशेषताको समाजवाद स्थापनामा जोड दिए ।
नेकपाका केन्द्रीय सदस्य शरद सीले स्थानीय सत्तामा हुने अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्नुपर्नेमा जोडदिँदै रूपन्देही जिल्लामा गर्ने संगठन विस्तार तथा संघर्षका योजनाबारे जानकारी गराएका थिए । अर्का केन्द्रीय सदस्य विश्वास सीले पार्टीले उत्पादनमा जोड दिएकाले उत्पादनका आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए ।
केन्द्रीय सदस्य नवीन सीले आफ्नो पार्टी अरु दलाल संसदीय पार्टी भन्दा किन फरक छ ? अन्यभन्दा आफू किन फरक छौँ ? किन पार्टी सबैको समर्थन जोडिन आवश्यक छ भन्ने विषयमा स्पष्ट पारेका थिए । केन्द्रीय सदस्य उषा सीले मधेसी महिलाहरूले नेपालको क्रान्तिकारी आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाबारे प्रशिक्षण दिएकी थिइन । नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही सेक्रेटरी वीरेन्द्र सीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्