मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विद्यार्थीसँग छलफल



बर्दिया ।

मानव र वन्यजन्तु बीचचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरूको रहनसहनबारे सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरूको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बीचको द्वन्द्वन्यूनीकरण गर्न सहज हुने उनीहरूले बताएका हुन् ।

मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कक्षा १० मा अध्ययनरत छात्रा सीता थारूले वन वन्यजन्तु तथा वातावरण संरक्षणको कुरा आफूहरूले अहिल्यैदेखि सिक्न सके यसक्षेत्रमा हुने मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने बताइन् । उनले विद्यालय आउजाउ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रोसँग ध्यान दिन नसकेको बताइन् ।

कार्यक्रमका बोल्दै अर्का कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बार अन्र्तगत मानव र वन्यजन्तु बीचको सह–अस्तित्वको सम्बन्धबारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।

कक्षा ९ र १० का ८० जना विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा विषय विज्ञ मदन ज्ञवालीले छलफलको सहजीकरण गरेका थिए । उनले विद्यार्थीहरूलाई वातावरणको महत्व तथा जैविक विविधताको विषयमा जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार