उपचार खर्च नहुँदा आइसियूमा छट्पटाउँदै किशोरी



कोहलपुर,  कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँकी १३ वर्षीया ममता बुढा आर्थिक अभावले आइसियुमै छटपटाई रहेकी छन् । बाँयापट्टिको फोक्सो सुकिसकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँपट्टिको शरीर चल्न छोडेको समस्याबाट ग्रसित ममताको चार दिनदेखि कोहलपुर मेडिकल कलेजको आइसियुमा उपचार भइरहे पनि अझै होस नखुलेको मामा नाता पर्ने सन्तोष बोहोराले बताए ।


उनले भने, ‘डाक्टरहरको सल्लाहअनुसार भेन्टिलेटरमा लिनुको विकल्प छैन । चार दिनदेखि होस बन्द छ । भेन्टिलेटरमा प्रतिदिन १४ हजार बढी खर्च लाग्ने देखिन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा भेन्टिलेटरमा लिने पैसा जोहो नहुँदा ममताले मृत्यु कुरिरहेकी छन् ।’ बुबा खुमबहादुर बुढा छोरी त्यो अवस्था देखेर पागल जस्तै भएका छन् । कालापहाड जाने र सामान्य व्यापार गरी परिवार चलाउँदै आएका खुमबहादुर छोरीको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको खोजीमा भौतारिकएका छन् ।
गाउँले साथीभाइको सहयोगमा आइसियुमा उपचार भए पनि होस नखुलेपछि भेन्टिलेटरमा लिनै पर्ने बाध्यता छ । तर आर्थिक अभावले भेन्टिलेटरमा लिन नसकेर जिउँदो लास जस्तै बिरामी पल्टिरहेको हेर्नुपर्ने बाध्यता आइलागेको उनले बताए ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार