ओली सरकार बदलाको राजनीति गर्दैछ : महासचिव गुरुङ



कोहलपुर (बाँके) ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको राजनीति गरिरहेको बताएका छन् । पार्टी भित्र र बाहिर आफ्ना विरोधीहरूलाई कमजोर बनाउन बदलाको राजनीति गरिरहेको उनले आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महासचिव गुरुङले नेकपा एमालेको केही दिन अघिको सचिवालय बैठकको प्रसंग उल्लेख गर्दै यस्तो बताएका हुन् ।

नेकपा एमालेले केहीदिन अघि मात्रै पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी निस्कासन गरेको थियो । विवादित व्यापारीबाट रकम लिन हुन्न भनेकै कारण पूर्वउपाध्यक्ष भीम रावल, विन्दा पाण्डे र केन्द्रीय उषाकिरण तिम्सेनामाथि कारबाही गरेको हो ।

यस्तै, पछिल्लो निर्वाचनबाट वैकल्पिक राजनीतिबाट उदाएको पार्टीका सभापति रवी लामिछानेमाथि सरकारले देखाएको व्यवहारपनि बदलाको राजनीतिबाट प्रेरित रहेको उनको भनाइ छ । महासचिव गुरुङले बालकोट बुढानिलकण्ठ भ्रष्टाचारका अखडा भएको आरोप लगाए ।सत्ताधारी दलहरूकै कारण भ्रष्टाचार मौलाएको महासचिव गुरुङले दाबी छ । ‘वर्तमान सरकार बदलाको राजनीति गर्दैछ । दलाल पुँजीवादी प्रवृत्तिको पक्षपोषण गरिरहेको छ । सरकारका विरुद्धमा शसक्त रूपमा विरोध गर्नुपर्छ,’ उनले भने ।

देश काण्डै काण्डमा मुछिएको भन्दै त्यसमा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नै संलग्न रहेको उनले बताए । गिरीबन्धु, यती होल्डिङ, ओम्नी, भुटानी काण्ड मच्चाएर देशलाई बदनाम गराएको महासचिव गुरुङले आरोप लगाए ।

पछिल्लो समय नेकपा माओवादीप्रति जनताको आकर्षण बढ्दै गएको उनले दाबी गरे । गत मंसिरमा सम्पन्न स्थानीय चुनावमा देशलाई अझै माओवादीको खाँचो छ भन्ने पुष्टि भएको उनले बताए ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपालका क्रान्तिकारी वामपन्थीहरू एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार देशको समृद्धिको लागि कम्युनिष्ट पार्टीहरूबीच एकता हुुन आवश्यक छ । एकता प्रक्रियाको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले नै गरिरहेको अध्यक्ष बरालको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार