पीडितलाई न्याय दिलाउने नाममा बाहिर हल्लाखल्ला, प्रहरीमा परेन उजुरी



बाँके ।

कोहलपुरको एक विद्यालयका शिक्षकले छात्रामाथि म्यासेन्जरमार्फत यौन दुव्र्यवहार गरेको भन्दै पीडितलाई न्याय दिलाउने भन्दै बाहिर हल्लाखल्ला भएपछि प्रहरीमा भने अझैसम्म पनि पीडित तथा उनका आफन्तले उजुरी नदिएको खुलेको छ ।

यस विषयलाई लिएर पीडितका तर्फबाट प्रहरीमा हालसम्म कुनै पनि उजुरी दर्ता नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले यस्तो कुनै पनि उजुरी आफूकहाँ नआइपुगेको स्पष्ट पारे ।

‘मैले पनि बाहिर बाहिरै यो कुरा थाहा पाएँ,’ डिएसपी भण्डारीले मिसन टुडेसँग भने, ‘पीडित कहाँ छ ? छ कि छैन ? पत्तो छैन, पीडितलाई न्याय दिलाउने नाममा बाहिर हल्लाखल्ला भइरहेको सुनिन्छ । कसलाई न्याय दिनुपर्ने माग हो खै मैले त केही बुझिनँ ।’

यसरी पीडितका नाममा अनावश्यक हल्लाखल्ला गर्दा भोलि पीडित भए र उसले आत्महत्या गर्ने अवस्था आएमा नराम्रो परिणाम आउन सक्नेतर्फ पनि उनले सचेत गराए ।

‘यसरी हल्लाखल्ला मच्चाउँदा साँच्चै पीडितले आत्महत्या गर्ने अवस्था आयो भने के हुन्छ ?’ उनले भने, ‘भोलि आत्महत्या दुरुत्साहनमा हल्लाखल्ला मच्चाउनेहरू पक्राउ पर्ने अवस्था आउन सक्छ ।’ उनले कसको के स्वार्थले यस्तो भइरहेको हो भन्ने कुरा बुझ्न नसकिएको बताउँदै यस्ता निराधार हल्लाका पछाडि लाग्न नहुने स्पष्ट पारे ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार