विराटनगर ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएको थियो । प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो ।
प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै एक पक्षीय, दुई पक्षीय छलफलमा रहेका दलहरूले आइतबार दिनभर काठमाडौँमा आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नै पार्टीका नेताहरूसँग भेटघाट भए पनि अन्य दलका नेताहरूसँग कुनै छलफल र भेटघाट नभएको बताए । ‘भर्खरै सरकार गठनको आव्हान भएको छ,’ उनले भने, ‘अब समयमै नयाँ सरकार गठन गर्नेछौँ ।’
उता, नेपाली काँग्रेस कोशी प्रदेश समितिको पदाधिकारीको बैठक पनि काठमाडौँमा बसेको छ । उक्त बैठकले आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । उक्त बैठकले आफ्नै दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरेको उनले बताए ।

यस्तै नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा जुटेका छन् । उनले पनि राप्रपा र जसपालाई फकाएर पुनः आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेका छन् ।
हाल विपक्षीमा रहेका काँग्रेस, माओवादी, नेकपा (एस) र जसपाले भने गठबन्धन बनाएर सरकार गठन गर्ने जनाएका छन् । कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा भने ठोस निर्णय लिन भने शीर्ष नेतालाई जिम्मा दिएको काँग्रेस नेता राईले बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् ।
प्रदेशसभाको सबभन्दा ठुलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् । एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जान सक्ने धेरैले अनुमान गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्