खेसरीले भताभुंग बनाएको सुकलालको जीवन



सुकलाल थारु त्यतिबेला भर्खर जवानीको अवस्थामा थिए । बर्दियाको धधवारको किसान परिवारमा जन्मिएका उनका सपना ठूला थिएनन् । सामान्य किसानको लयमा रहेको उनको जीवनमा एक अज्ञात रोगले उथलपुथल ल्याइदियो । सुरुमा झमझमाउने भएर अन्तमा उनका खुट्टाहरु चल्न अप्ठ्यारो हुन थाल्यो । जवानीमै एकाएक खुट्टा चल्न अप्ठ्यारो हुन थालेपछि उपचारका लागि भ्याएको ठाउँ पु¥याइयो । तर रोग पत्ता लागेन ।

त्यसबखत गाउँमा खेसरीको दाल प्रशस्त उत्पादन हुन्थ्यो । सुकलालले पनि उक्त दाल लगातार खाँदै आएका थिए । चिकित्सकले उनलाई त्यही दालले पक्षघात गराएको हो भने । उपचारको प्रयास सफल भएन । अन्ततः उनी सदाका लागि खट्टा चलाउन अप्ठ्यारो हुने स्थितिमा पुगे ।

(खेसरीको दाल लगातार वर्षौंसम्म प्रयोग गर्दा शरीर झमझमाउने र बिस्तारै प्यारालाइसिस भएर पूरै शरीर नचल्ने हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनले उक्त दाललाई हानिकारक सूचीमा राखेको छ । नेपालमा खाद्य नियमावली २०२७ लागू भएदेखि नै खेसरीको उत्पादन, बिक्रीवितरण र उत्पादनमा कानुन रूपमै बन्देज लगाइएको छ ।)

सुकलाल गाउँघरका युवाहरुमा बलिया, मिहिनति युवा थिए । जब हिँड्न नसक्ने भए त्यसपछि परिवार र गाउँघरमा उनको शारीरिक अवस्था सुरुमा सहानुभूति र पछि गएर खिसीको विषय बन्न थाल्यो । सबैले उनलाई अब यसले केही गरी खान सक्दैन भन्न थाले । आँटिला स्वभावका सुकलाले एक दिन श्रीमति सुन्दरीलाई भने, ‘हामी गाउँ छोडेर जाऔँ । जे जसरी हुन्छ दुईटा ज्यान पालिहालिन्छ ।’ आँटिली सुन्दरीले पनि उनलाई साथ दिइन् । उनीहरु नेपालगन्ज आए ।

त्यसरी घर छोडेको कति वर्ष भयो ? सुकरामलाई ठ्याक्कै याद छैन । भन्छन्, ‘उही जमानामा हो हजुर । त्यतिबेला त छोराछोरी केही पनि थिएन ।’ अहिले सुकलाल ९० वर्ष र सुन्दरी ६० वर्षकी भइन् । उनीहरुले सुरुमा आएर जहाँ आश्रय लिएका थिए, त्यहीँ (नेपालगन्ज–१२ बेलासपुर) एउटा साँघुरो कटेरोमा उनीहरुको जीवन चलिरहेको छ । उनले बर्दिया छोडेपछि मर्दापर्दाबाहेक फर्केर गएनन् । नेपालगन्जकै स्थायी बासिन्दा भए । नागरिकता पनि बाँकेबाटै लिए ।

यसबीचमा सुकलाल र सुन्दरीले जीवन चलाउन के–के संघर्ष गर्नुपरेन । एकएक गर्दै चार छोराछोरी भए । उनीहरुले आफू र छोराछोरीको पेट पाल्न इमानसहित गर्नुपर्ने सबै काम गर्न भ्याए । सुकरामले सुरुका दिनमा बिस्तारै सार्न मिल्ने खुट्टाले सक्नेजति मजदुरीको काम गरे । बिस्तारै हिँडेर गर्नुपर्ने काम पनि गर्न नसकिने अवस्था आयो । त्यहीबेला उनले एक आरन पेसा गरिरहेका व्यक्तिलाई भेटे । उनले आफूले हातले जतिसुकै बलियो काम गर्न सक्ने विश्वास दिलाए । करिब पाँच वर्षअघिसम्म उनले आरनमा फलाम पिटी नै रहेका थिए ।

श्रमिति सुन्दरी भन्छिन्, ‘यस्तो बलियो थियो नि । बुढेसकालसम्म पनि यसले फलाम पिटिरहेको थियो । दुईटा लठ्ठी टेक्दै भए पनि हिँडिराख्थ्यो ।’ एकातिर उमेरले साथ छाड्दै थियो । अर्काेतिर नेपालगन्जमा सडक विस्तार हुन थाले । उनको आरन चल्ने सडक किनारहरुमा उनी विस्थापित हुँदै आए । अन्ततः आरन राख्ने ठाउँ पनि फेला पर्न छोड्यो । त्यसपछि उनको जिन्दगीबाट आम्दानीका सबै विकल्प सदाका लागि हराए ।

खुट्टाले साथ नदिँदा नदिँदै भए पनि जीवनभर कसैका अघि हात नफैलाएका उनको बानी अहिले पनि परिवर्तन भएको छैन । उनी अहिले पनि घरमै बसिराख्न मन गर्दैनन् । हिँडिराख्न मन पराउँछन् । तर उनलाई हिँड्नका लागि सहारा चाहिन्छ । अहिले त उनलाई खुट्टाले थोरै पनि साथ दिन छोडेका छन् । करिब तीन वर्षअघि नेपालगन्ज उपमहानगरपालिकाले हातले चलाउन मिल्ने ह्विलचियर दिएको थियो ।

उक्त ह्विलचियरले उनलाई पखेटा लगाएजस्तै भयो । उनी ह्विलचियरमा नेपालगन्ज बजार घुम्न थाले । बिस्तारै ह्विलचियरका पनि टायर पन्चर हुन थाले, रिङ दोब्रिरिए । मर्मत गर्ने पैसा भएन । थोत्रो भएको ह्विलचियर पनि उनले चलाउन छोडेनन् । एकदिन त ह्विलचियर डेग नचल्ने भएर थन्कियो । केही दिनअघि बिग्रेर सडक कुनामा थन्काएको उक्त ह्विलचियर पनि चोरी भइसक्यो ।

अहिले सुकरामको सहारा श्रीमति छिन् । एक कान्छा छोरा छन् । अरु छोराहरु कोही भारतमा छन् । कोही सुर्खेत । श्रीमति र कान्छा छोरापछिको सुकरामको सहरा दुईटा लठ्ठी हुन् । त्यही टेकेर उनी भ्याएको हिँड्ने प्रयास गर्छन् । कहिलेकाहिँ टाढा पुगेपछि घरसम्म फर्किन सक्दैनन् । ‘कतिपटक पुलिसले ल्याएर पु¥याइदिन्छन् । यसरी किन हिँड्न दिनुहुन्छ भनेर रिसाउँछन् । यसले मान्दै मान्दैन । हिडिराख्न खोज्छ,’ सुन्दरीले भनिन् । सुन्दरी छिमेकका केही घरमा भाँडा माझेर खर्चको जोहो गर्छिन् ।

कान्छा छोराले घरमा पेन्टिङ गर्ने सीप सिकेका छन् । तर, सधैं काम मिल्दैन । ठेकेदारले बोलाएपछि काम पाउँछन्, नभए घरमै । सुकलालले पाउने ज्येष्ठ नागरिक भत्ताले यस्तो महँगीमा के भ्याउँथ्यो । सानो दुई कोठाको कटेरोमा उनीहरुको जीवन गुज्रिरहेको छ । त्यही कटेरो पनि भाडामा छ । एउटा कोठाको एकापट्टिको भित्ताबाट घामपानी सहजै घरभित्र पस्ने गर्छ ।

सुकराम उपमहानगरपालिकाले पहिला दिएजस्तै ह्विलचियर दिन्छ कि भन्ने आशामा बसेका छन् । उपमहानगरपालिकाले पनि शारीरिकरुपले अशक्त भएकाहरुका लागि सहायक सामग्री दिने योजना बनाएको छ । सुकराम पर्खिरहेका छन् फेरि ह्विलचियर पाउने र सरर गुड्न पाउने दिन ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार