कोहलपुरका ‘बा’ उर्फ लुटबहादुर रावत । जसले पश्चिम नेपालको उदाउँदो सहर कोहलपुरमा १५ वर्ष शासन गरे । गाविस अध्यक्ष र नगरप्रमुखको हैसियतमा ह्याट्रिक कार्यकाल पूरा गरेका रावत हाल आरामको जीवन जिइरहेका छन् । रावत प्रथम पटक २०४९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन कोहलपुर गाविसको अध्यक्ष निर्वाचित भएका थिए । दोस्रोपटक २०५४ सालको स्थानीय तहकै निर्वाचित फेरि कोहलपुर गाविसको अध्यक्ष चुनिए । देश संघीयतामा गएपछि पहिलोपटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा रावत कोहलपुरको पहिलो नगरप्रमुखका रुपमा जनताबाट अनुमोदित भएका थिए । सरल, सादगी र इमान्दार राजनीतिज्ञको परिचय बनाएका रावत वर्तमान कोहलपुरका सूत्रधार मानिन्छन् । सल्यानमा जन्मिएर कोहलपुरलाई कर्मथलो बनाएका रावतको ‘सक्रिय राजनीतिबाट सन्यास’पछिको दैनिकी, बाल्यकाल, राजनीतिक जीवन, संघर्ष, सफलता र सन्यासबारे केन्द्रित प्रस्तुति ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
रावत हरेक दिन बिहान ४ बजे उठ्छन् । उठ्नेबित्तिकै दुई गिलास तातोपानी पिउँछन् । त्यसपछि शौच, दन्तमन्जन, दुईदिन बिराएर दाह्री काटने, नुहाउने उनका दैनिकी हुन् । त्यति कर्म सकिएपछि घरभित्रकै हलमा निस्कन्छन् । त्यहाँ करिब १ घण्टा शिव भगवानलाई सम्झेर मुरली पढ्छन् । अध्ययनपछि दुई चार वटा प्रणाम गर्छन् । केहीबेरको आरामपछि आफू सुत्ने बेडमा गएर खुट्टाका लागि केही व्यायाम गर्छन् ।
स्वास्थ्यकै लागि मोरंगा मिसाएर एक गिलास तातोपानी पानी पिउँदै आराम गर्छन् । कहिलेकाहीँ बिहानपख तरकारी बारीतिर जान्छन् । बिहानको खाना खाने, पत्रिका पढ्ने, युट्युव हेर्ने उनको दैनिकी हो । कहिलेकाहीँ महत्वपूर्ण काम हुँदा बाहिर निस्कन्छन् । साँझ सबेरै खाना खाएर सुत्छन् । नगरप्रमुखबाट निवृत्त भएलगत्तै साथी हुमाकान्त पाण्डेसँग सडकमा मर्निङ वाकका लागि निस्किन्थे । उमेर ढल्कदै जाँदा खुट्टाको समस्याका कारण बाहिर हिँड्न छोडेका छन् ।
लुटबहादुर रावतको जन्म र बाल्यकाल
रावतको जन्म सल्यान जिल्लाको तत्कालीन कालीमाटी गाविसको वनगाउँमा विसं २००४ असार १ गते भएको हो । उनका बुवाको नाम रत्नलाल रावत र आमाको नाम कौशिल्या रावत हो । निम्नवर्गीय परिवारमा जन्मिएका रावतको परिवारको आकार भने ठूलो थियो । रावतका बुवा रत्नलाल ६ महिनाको गर्भे टुहुरा हुन् । उनका बुवा नजन्मदै हजुरबाको निधन भएको थियो । कालीमाटीको लक्ष्मीपुर रावतको मावली हो । आफ्नी हजुआमाले माइती घरमै आफ्ना बालाई हुर्काएको रावत बताउँछन् । उनका मावली भने पर्वतबाट सल्यान आएका हुन् । रावतका बुबाले दुई वटा विवाह गरेका थिए । पहिलो श्रीमतीबाट तीन छोरी र दुई छोरा जन्मिसकेपछि दोस्रो विवाह गरेको उनले बताए । रत्नलालकी कान्छी श्रीमती कौशिल्याको कोखबाट जन्मिएका उनी कान्छो सन्तान हुन् ।
‘त्यतिबेला सानै उमेरमा विवाह गर्ने चलन थियो । मेरा बाबा र आमाको कति वर्षको उमेरमा विवाह भएको हो भन्ने थाहा छैन । परिवार ठूलो थियो । जीविकोपार्जनका लागि खेतीपाती गर्नुपथ्र्यो,’ उनले सुनाए । उनी जन्मथलोमै घाँसपात, उकालीओराली गर्दै हुर्किए, बढे । त्यतिबेला गाउँमा स्कुल थिएनन् । घरको आर्थिक स्थिति राम्रो हुनेहरुले घरमै शिक्षक राख्थे । तर, रावत परिवारको आर्थिक हैसियत राम्रो थिएन । अलि पछितिर मधेशबाट आएर शिक्षकले गाउँका चौरहरुमा गाउँले केटाकेटीहरुलाई सामूहिक रुपमा पढाउन थाले । गाउँभरीका बच्चा जम्मा पार्ने र चौर र गोठमा पढाउने काम हुन्थ्यो । त्यतिबेला आफूहरुले बाह्रखरी र दुना, दुर्गा कवाज, चण्डी, तमसुक र राजीनामा लेख्न सिकेको रावत सम्झिन्छन् । आफूले विद्यालयमै गएर शिक्षा आर्जन गरेर नभई घरमै प्रारम्भिक शिक्षा लिएको उनी बताउँछन् ।
भारतमा अध्ययन, स्वदेश फर्किएर शिक्षक
२०१४–१५ सालतिरको कुरा हो, रावतका गाउँले भारतको बासबरेलीमा बस्थे । उनी त्यहाँ ऊनको कम्पनीमा काम गर्थे । आफ्ना ठूला दाजुले आफूलाई पढ्न जाने भनेर भारत पठाएको उनले बताए । बासबरेली गएर उनी एक हाइस्कुलमा भर्ना भए । रावत त्यहाँ कक्षा चारमा भर्ना भए । त्यही नै उनको पहिलो औपचारिक विद्यालय शिक्षा थियो । जहाँ उनी कक्षा ५ सम्म पढे । पछि उनी जन्मघरमै फर्किए । २०१७ सालतिरको कुरा हो, त्यतिबेला उनको गाउँमा पाँच कलाससम्म पढेको कोही पनि थिएनन् । गाउँलेले उनलाई शिक्षक बनाइदिए । उनले गाउँमै पढाए । उनले पढाएबापत हरेक विद्यार्थीबाट चामल, गहुँको पिठो र तरकारी लिन्थे । महिनामा प्रतिविद्यार्थी एक रुपैयाँ लिने गरेको उनले सुनाए । मासिक पचास रुपैयाँसम्म कमाइ हुन्थ्यो । दैनिक आफूले ३० देखि ४० जनालाई पढाएको रावतको भनाइ छ । उनको कक्षामा सबै छोरामान्छे मात्रै हुन्थे । छोरीहरु हुन्थेनन् ।
२०२१ सालमा रावतले प्राथमिक तहको शिक्षक तालिम लिए । त्यतिबेला कक्षा आठ पास गरेकालाई उक्त तहको तालिम दिइन्थ्यो । तालिमपश्चात् २ वर्ष आफ्नै गाउँमा आफ्नै अगुवाइमा स्थापना भएको विद्यालयमा प्राथमिक तहको शिक्षकको रुपमा अध्यापन गराए । त्यहाँ उनले २०२६ सालसम्म पढाए । ‘चौरमा बस्ने पढाउने । एउटा कक्षामा १५ मिनेट पढाउने । फेरि अर्को कक्षामा जाने पढाउने । यस्तै हुन्थ्यो,’ उनले भने । त्यतिबेला प्रयोगात्मक, नैतिक, सांस्कृतिक र आध्यात्मिक शिक्षा हुन्थ्यो । गाउँनजिकै भर्खर स्कुल खुलेको थियो । गाउँमा पढाउँदा–पढाउँदै उनी तीन वर्ष उक्त स्कुलमा पढे । कक्षा ८ त्यही स्कुलबाट पास गरेका हुन्,उनले ।
पैदलै हिँडेर पढ्न नेपालगन्जसम्म
स्कुलमा पढाउँदा पढाउँदै फेरि आफू नै पढ्न कस्सिएको उनको भनाइ छ । उनले स्कुलमा शिक्षक पदबाट राजीनामा दिए । नेपालगन्ज आएर महेन्द्र माविमा कक्षा ९ मा भर्ना भए । सल्यानबाट हिँडेरै नेपालगन्ज आएको उनले बताए । २०२६ साल भदौमा उनले पहिलोपटक नेपालगन्जमा पाइला टेके । त्यतिबेला गाडीको सुविधा थिएन । दुई दिन हिँडेर पुगेको उनको भनाइ छ । सल्यानबाट घुइयाबारी, खड्कवार, कोहलपुर हुँदै नेपालगन्ज पुगेको उनलाई अहिले पनि सम्झना छ । त्यतिबेलाको नेपालगन्ज कस्तो थियो ? अहिले जस्तो त छँदै थिएन । एकलैनी थियो, त्यति बेलाको मुख्य बजार । उनी सल्यानी बगिया भन्ने ठाउँमा डेरामा बसे । २०२३ सालमा उनका दाजुले अहिलेको कोहलपुर ८ पिपिरीमा जग्गा किनेर घर बनाएका थिए ।
नेपालगन्जबाट कोहलपुर आएर आफूलाई चाहिने अन्न चामलहरु लिने गरेको उनले बताए । त्यतिबेला साँझ साढे ६ देखि राति साढे ९ बजेसम्म पढाइ हुन्थ्यो । ‘कलास राति हुन्थ्यो । दिनभर कोठामै बस्नुपथ्र्यो । मनमनै राति पढ्छु । दिउँसो जागिर खोज्छु भन्ने योजना थियो,’ रावतले सुनाए । त्यतिबेला उनका दाजु यमबहादुर रावत जाजरकोट जिल्लाको भूमि सुधार अधिकारी थिए । त्यति नै बेला देशभर ३९ वटा भूमि सुधार कार्यालय कटौतीमा पर्दा जागिर गएको थियो । त्यहीबेला नेपालगन्ज आएको बेला आफूलाई जागिर लगाइदिन भने । उनले दाईलाई भने, ‘राति पढ्छु । दिनभर खाली भएँ । भूमि सुधार कार्यालयमा जागिर खुलेको छ भन्दिनु ।’
त्यतिबेला भूमि सुधारमा वैदार पदमा भर्ना खुलेको थियो । विजयप्रसाद रेग्मी भन्ने भूमि सुधार अधिकृत थिए । दाईको भनसुनबाट उनी वैदारमा नियुक्त भए । उक्त पदमा १ वर्ष ६ महिना काम गरे । फेरि सोही कार्यालयमा खरदारसरहको बचत सहायक निरीक्षक पदमा आवेदन खुल्यो । उनले पनि आवेदन दिए । बचत सहायक निरीक्षकको काम किसानहरुबाट भूमि सुधारसम्बन्धी नगद र जिन्सी संकलन गर्ने हुुन्थ्यो । रावत बचत सहायक निरीक्षक पदमा नियुक्त भए । त्यतिबेला मासिक तलब १५० रुपैयाँ थियो । वैदारको चाहीँ मासिक ८५ रुपैयाँ पारिश्रमिक थियो ।
२०२६ सालमै उनले बर्दियाबाट टेस्ट पास गरे । बचत सहायक निरीक्षकमा २०२९ सालसम्म काम गरे । २०३०–३१ सालतिर शिक्षा कार्यालयमा शिक्षकको पद खुलेपछि उनले त्यहाँ आवेदन दिए । उनी भन्छन्, ‘यसो सोँचे, आफ्नै गाउँघरतिर स्कुलहरु खाली होलान् ।’ त्यतिबेला गाउँमा धेरै विद्यालय खुलिसकेका थिएनन् । कोहलपुरमा भने पिपिरीमा स्कुल सुरु भइसकेको थियो । उनले केही वर्ष शिक्षण पेसा अंगाले । २०३२ सालमा त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक भए । त्यहाँ उनले २०४४ सालसम्म पढाए ।
शिक्षक हुँदै शिक्षक संगठनमा सक्रिय

२०३६ सालको कुरा हो । त्यतिबेला शिक्षक संगठन जन्मिसकेको थियो । उनी कम्युनिष्ट निकट शिक्षक संगठनमा आबद्ध थिए । त्यतिबेला कम्युनिष्ट धारका ४–५ जना मात्रै थिए बाँके जिल्लामा । अरु भने प्रजातान्त्रिक धारतर्फका काँग्रेस निकट थिए । २०४६ सालको जनआन्दोलनमा उनको जागिर गयो । आफ्नो जागिर कसरी गयो भन्ने प्रसंग कोट्याउँदै उनले भने, ‘त्रिमाविमा पढाउँथे । यहीँनेर सानो जग्गामा सानो घर थियो । चटारको थारु साथीसँग ६ हजार रुपैयाँमा किनेको थिएँ । शारदाप्रसाद कोइराला लगायतका तीन जना शिक्षकहरु मिलेर यहाँ जग्गा किनेका थियौँ ।’
उनी शिक्षक हुँदै कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनमा आबद्ध भइसकेका थिए । शिक्षक र राजनीतिलाई सँगसँगै लगे । उनीसँगै तनहुँबाट सरुवा भएर आएका हरिभक्त अधिकारीसँगै शिक्षकको राजनीति गरे । उनी पिपिरीमा बस्थे । कुसुममा पढाउँथे । पछि भने त्रिमाविमै सरुवा भयो । अधिकारीमार्फत उनी राजनीतिक बिस्तारै सक्रिय हुँदै जान थाले । त्योभन्दा अघि उनी युवा संघको प्रारम्भिक कमिटीका सभापति भएका थिए । बेलाबेला शिक्षककै विभिन्न कामले सुर्खेत आउजाउ गरिरहन्थे ।
सुर्खेतमा युवाहरुको वर्गीय संगठन थियो । त्यहाँ भेटघाट भइरहन्थ्यो । कार्यालयमा वामपन्थी धारका थुप्रै किताब राखिएका हुन्थे । रसियन दूतावासले देशैभर किताब बाँड्थ्यो । सुर्खेतमा उनीसँगै पढेका रविलाल सुवेदी निर्देशक सचिव थिए, संगठनको । त्यहाँ बस्दा उनले किताब दिए । किताबको नाम थियो, ‘माओ के उत्घिर, उत्घिया’ । हिन्दी भाषामा लेखिएको किताब आफूले माया गरेर पढेको उनको भनाइ छ । किताब अध्ययनपछि वामपन्थी धारतर्फ उनी आकर्षित हुँदै गए । आफू जेल जाँदा छोराछोरीहरुले उक्त किताब जलाइदिएको उनी बताउँछन् । २०४६ सालको जनआन्दोलनपछि पार्टीको संगठित सदस्यता लिए ।
दुई महिने जेल जीवनका रमाइला किस्सा
२०४६ सालको जनआन्दोलनका क्रममा उनी दुई महिना जेल परे । उनलाई घरबाटै पक्राउ गरिएको थियो । पछि रावतसहित १५ जनालाई जेल चलान गरियो । जेलमा राजबन्दी मेस थियो । त्यहाँ कैदीबन्दीहरुको श्रेणी हुन्थ्यो । व्यवस्थाको विरोध गरेर जेल परेका कैदीबन्दी ‘क’ श्रेणीका हुन्थे । त्यतिबेला प्रतिकैदी ५ रुपैयाँ दिइन्थ्यो । त्यही पैसाले रासन, सागसब्जी किनेर खानुपथ्र्यो । जेलमा काँग्रेस, माले लगायतका राजनीतिक दलका ४२ जना थिए । उनी जेल अनुभव सुनाउँदै भन्छन्, ‘पुलिसले धृणा गर्थे । तर भित्र भने स्वतन्त्र वातावरण थियो । खुब रमाइलो गथ्र्यौँ । बाहिरबाट गाली गर्थे, रिसाउँथे । एकतिर महिला र अर्काे भागमा पुरुषहरु राखेको हुन्थ्यो ।’
त्यहाँ बस्दा आफूले विभिन्न खालका अपराधीहरु देखेको उनको भनाइ छ । त्यहाँ एक जना सुर्खेतका मान्छे थिए । उनी होटलमा पहिला साथीसँग रक्सी खाएका रहेछन् । घर जाँदा बाटोमा विवाद भएपछि ढुंगाले हानेर हत्या गरेको अभियोगमा जेल परेका थिए । उनलाई सुर्खेतबाट बाँकेमा जेल सरुवा गरिएको थियो । उनले पिसाब फेर्न गएको बेला ब्लेडले आफ्नो गुप्तांग काटेछ । पछि अस्पताल लिएर बचाए । ‘म बस्ने कोठमा ८ जना जति वामपन्थी र दुई जना काँग्रेस निकट थिए । नेपालगन्जका ओमजंग राणा भन्ने व्यक्ति पनि जेल परेका थिए, पछि उनी जिल्ला विकास समिति बाँकेको सभापति पनि भए,’ उनले भने ।
आफूहरुलाई भेट्न जानेहरुले फलफूलहरु लिएर जाने गरेको पनि उनि सम्झिन्छन्, ‘बाहिरबाट आएका सबै जम्मा गरिन्थ्यो । एउटै ठाउँमा राखिन्थ्यो । अरुले चोरेर खाँदा रैछन् । साँझ हेर्दा बिहान राखेको भन्दा थोरै मात्रै हुन्थ्यो । साँझ ६–८ बजेसम्म बाहिर आउन अनुमति हुन्थेन । दिशा पिसाब लाग्दा माटोको भाँडामा गर्ने र नालीमा फाल्ने हुन्थ्यो । ८–९ बजेको बीचमा दैनिक केही समय बत्ती बन्द हुन्थ्यो । त्यतिबेला भन्सार पास भन्दै त्यो बचेकुचेको फलफूल खान्थ्यौँ ।’ एक जना अर्का भारतको बहराइचका डाँका थिए । उनलाई एकदिन आफूले तुम कैसे डाँका बनगया ? भनेर सोधेको उनले सम्झे । उनले हिन्दी भाषामा भनेको कुरालाई नेपालीकरण गर्दै ‘मलाई यो कुरा नसम्झाउनु । यसको लामो कहानी छ’ भन्ने जवाफ फर्काएको सुनाए । धेरैपटक हामीले उनलाई सुनाउन भनेपछि आफन्तहरुले आफ्नै बाबालाई मारेको र बदलामा उनीहरुको हत्या गरेको आरोपमा पक्राउ परेको सुनाए ।
‘त्यो एक्लो छोरो रहेछ । अंश विवादमा बन्दुक हानेर मारेका रहेछन् । पछि ठूलो भएपछि बदला लिएको रहेछ । ऊ खोलामा माछा मार्नेहरुबाट पैसा असुली गरेर जीविकोपार्जन गर्दै आएको रहेछ । त्यही क्रममा एकदिन ठूलो डाँकाको समूह भेटाएछ । त्यो समूहसँग तीन महिना बसेको रहेछ । बस्दै जाँदा आफ्ना काकाले बुवाको हत्या गरेको र त्यसको पनि त्यसरी नै हत्या गर्न आग्रह गरेछ । त्यो डाँकाको समूहले उसले भनेबमोजिम काकाको हत्या गरिदिएछन् । पछि त्यही समूहसँगै गएछ । पछि चोरी गर्ने क्रममा पुलिसले पक्राउ गरेर ल्याएको रहेछ,’ रावत सुनाउँछन्, ‘उनको जीवनशैली विलासी थियो । सरसफाइमा ध्यान दिन्थ्यो ।
दैनिक दुई जनाले उसको शरीर मालिस गर्थे । शरीर मालिस गरेबापत दुवै जनालाई पैसा दिन्थ्यो । त्यहाँ कोही अरुको लुगा धोएर पैसा कमाउँथे । कोही अरुको भाँडा माझ्थे । अनि पैसा कमाउँथे । हामीलाई पनि खाना पकाइदिने थिए । हामी खान मात्रै जान्थ्यौँ । खान नपाएर दुवो खानेदेखि तास खेलेर हरिकंगाल बनेकासम्म कैदी थिए । आन्दोलनपश्चात् प्रजातन्त्र घोषणापछि दुई महिनापछि रिहा गरियो । खुसीले थाल बजाउँदै नाच्नै उर्फिँदै नाचियो । रिहाइको पत्र दिँदै सिन्दूरको टीका लगाउँदै छाडियो । नगर परिक्रमा गरियो । साँझ घर पुगियो ।’
तीन कार्यकाल कोहलपुरको नेतृत्व

उनी भन्छन्, ‘जेलबाट निस्किँदा जागिर चैट भइसकेको रहेछ । त्यसपछि पार्टीले पनि तपाईँ पार्टी राजनीतिमा आउनुपर्छ भन्यो । मलाई कार्यालय सचिव बनाइयो ।’ पछि २०४८ सालको प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि संगठन निर्माणमा समेत आफू खटिएको रावत बताउँछन् । त्यतिबेला उनी कटकुइयाँ, लक्ष्मणपुर, बालापुर, नरैनापुर, मटेरिइया, फत्तेपुर, भवानियापुर र राप्ती सोनारी क्षेत्रमा खटिएका थिए । २०४९ सालमा गाविस निर्वाचन घोषणा भयो । जिल्लाभरका गाविसमा आकांक्षीहरुको आवेदन मागियो । उम्मेदवार छनौटका लागि सम्बन्धित क्षेत्रमा भेला आयोजना गरिए ।
कोहलपुर गाविसबाट कर्णबहादुर थापा, हरिभक्त अधिकारी र लुटबहादुर रावत आकांक्षी थिए । पछि तीन जना उम्मेदवारमध्ये कसको लोकप्रियता बढी छ भन्ने विषयमा ९ वटा वडामा सर्वेक्षण र सुझाव मागियो । प्रेम भुसालको एकल आयोगले लुटबहादुर रावतको पक्षमा जनता देखिएको निष्कर्षसहित जिल्लामा उनको नाम पठायो । रावत सिफारिस भए, उम्मेदवार बने र गाविस अध्यक्ष जिते । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका नेत्रलाल ओली थिए । कोहलपुुर पञ्चायतका प्रधानपञ्च भइसकेका ओलीलाई रावतले हराए ।
२०५४ सालको स्थानीय तहमा पनि कोहलपुर गाविसको अध्यक्षमा पुनः निर्वाचित भए । त्यसपछि लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन भयो । लामो समयपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा रावत कोहलपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए । उनले दुई कार्यकाल कोहलपुर गाविस र एक कार्यकाल कोहलपुर नगरपालिकाको नगरप्रमुखको कार्यकाल पूरा गरेपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेनन् । उनी भन्छन्, ‘मैले क्षमताले भ्याएसम्म नगरबासीको सेवा गरेँ । स्याल कराउने गाउँलाई सम्भावना बोकेको सहर बनाएँ । पूर्ण इमान्दारिताका साथ काम गरेँ । पार्टी र जनताको विश्वास टुट्ने कुनै काम गरिनँ ।’
अघिल्ला दुई कार्यकालभन्दा नगरप्रमुखको कार्यकाल केही चुनौतीपूर्ण रहेको उनले सुनाए । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको स्थानीय तहको नेतृत्व गर्नु सीमित अधिकार र साधनस्रोतको गाउँ विकास समिति हाँकेजस्तो सजिलो थिएन् । ‘गाविसमा थोरथोरै बजेट हुन्थ्यो । नचाहेर पनि पूर्वाधार विकासमा माथिको मुख ताक्नुपथ्र्यो’, रावत सुनाउँछन्, ‘अहिले बजेटको खास समस्या छैन । राजनीतिक खिचातानी ज्यादा छ ।’ चुनौतीका बीच उनले कोहलपुरमा दीर्घकालीन प्रभाव पार्ने खालका काम गरे । उनकै कार्यकालमा कोहलपुरमा बाँकेको पहिलो साक्षर पालिका घोषणा गरियो ।
हरेक वडामा आफ्नै भवनमा स्वास्थ्य केन्द्र निर्माण भए । सामुदायिक विद्यालयको स्तरोन्नति तथा दरबन्दी मिलानको सुरुवात गरियो । कभर्ड हल, क्रिकेट मैदान, लामो दूरीको बसपार्क निर्माण, भ्यू टावर र उज्यालो कोहलपुर बनाउन पहल गरे । कोहलपुरले आफ्नो पालामा काँचुली फेरेको उनी दाबी गर्छन् । लामो समय सक्रिय राजनीतिमार्फत जनताको सेवा गरे । आफ्नो कार्यकालमा भएका विकासप्रति उनी सन्तुष्ट देखिन्छन् । अब भने जीवनको अन्तिम श्वास फेर्नुभन्दा अघि नै एउटा आत्मकथा प्रकाशित गर्न पाएको भए हुन्थ्यो भन्ने छ, उनलाई ।









प्रतिक्रिया दिनुहोस्