उडान



कमला गाहा मगर

सिन्धुपाल्चोक जिल्लाको एउटा सानो पहाडी गाउँमा आरव नामको एउटा बालक बस्थ्यो । गाउँ सुन्दर थियो तर विकासका हिसाबले धेरै पछाडि थियो । बिहान घाम उदाउँदा चराहरूको चिरबिर, हरिया डाँडाहरू र चिसो हावाले गाउँलाई रमणीय बनाउँथ्यो । तर त्यही गाउँका अधिकांश मानिस गरिबी, अभाव र संघर्षसँग जुधिरहेका थिए । आरवको परिवार पनि त्यही संघर्षको एउटा हिस्सा थियो । उसका बुबा किसान थिए र आमा घरको कामसँगै खेतबारीमा सघाउनुहुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएकाले नयाँ कपडा, राम्रो जुत्ता वा चाहेजस्तो पुस्तक किन्ने अवस्था थिएन । तर एउटा कुरा भने प्रशस्त थियो । मेहनत गर्ने बानी र ठूलो सपना देख्ने साहस थियो । आरवलाई सानैदेखि आकाशमा उड्ने चराहरू हेर्न मन पथ्र्यो । कहिलेकाहीँ गाउँमाथिबाट विमान उड्थ्यो । विमान देख्नेबित्तिकै ऊ दौडेर खुला डाँडामा पुग्थ्यो र टाढासम्म त्यसलाई हेरेर बसिरहन्थ्यो । उसको मनमा एउटै प्रश्न खेल्थ्यो, ‘के म पनि एक दिन यस्तै उड्न सक्छु ?’ विद्यालयमा विज्ञान विषय उसलाई सबैभन्दा बढी मन पथ्र्यो । शिक्षकले हवाईजहाज, अन्तरिक्ष र वैज्ञानिकहरूको कथा सुनाउँदा ऊ झन् उत्साहित हुन्थ्यो । साथीहरूले कहिलेकाहीँ उसको सपना सुनेर हाँसिदिन्थे । ‘हाम्रो गाउँको केटा पनि पाइलट बन्छ रे ।’ उनीहरूले जिस्काउँथे । तर आरव मुस्कुराउँदै भन्थ्यो, ‘सपना देख्न त कसैले रोक्न सक्दैन ।’ उसको आमाले सधैँ हौसला दिनुहुन्थ्यो । ‘छोरा, मेहनत गर्ने मानिसको उडान कसैले रोक्न सक्दैन ।’ यी शब्दहरू आरवको जीवनको सबैभन्दा ठूलो प्रेरणा बन्यो । समय बित्दै गयो । आरवले विद्यालयमा उत्कृष्ट नतिजा ल्यायो । शिक्षकहरूले उसलाई छात्रवृत्तिको अवसर खोज्न सहयोग गरे । आर्थिक कठिनाइका बाबजुद पनि ऊ उच्च शिक्षा अध्ययन गर्न सहर पुग्यो । सहरको जीवन गाउँभन्दा निकै फरक थियो । बिहान कलेज, बेलुका ट्यूशन पढाउने र राति पुस्तकालयमा बसेर अध्ययन गर्ने उसको दैनिकी बन्यो ।

कहिलेकाहीँ थकानले शरीर गल्थ्यो । साथीहरू घुम्न जाँदा ऊ काममा व्यस्त हुन्थ्यो तर उसले आफ्नो लक्ष्य कहिल्यै बिर्सेन । एक दिन विज्ञान प्रदर्शनीको सूचना आयो । आरवले कम खर्चमा उड्ने ड्रोनको नमुना तयार गर्ने योजना बनायो । आवश्यक सामग्री किन्न पैसा थिएन । उसले पुराना तार, मोटर, ब्याट्री र फालिएका सामानहरू संकलन गरेर आफ्नो मोडल बनायो । धेरै रातसम्म नसुती मेहनत गरेपछि अन्ततः उसको ड्रोन तयार भयो । प्रदर्शनीको दिन धेरै महँगा र आकर्षक परियोजनाहरू प्रस्तुत भएका थिए । आरवलाई लाग्यो, ‘सायद मेरो काम कसैले मन पराउने छैन ।’ तर जब निर्णायक टोलीले उसको परियोजना परीक्षण ग¥यो, सबै चकित भए । सस्तो सामग्रीबाट बनेक ड्रोन सफलतापूर्वक उड्यो । आरवले प्रथम स्थान प्राप्त ग¥यो । त्यो जितसँगै उसले राष्ट्रियस्तरको छात्रवृत्ति पनि पायो । अब उसको जीवनले नयाँ मोड लियो । उसले इन्जिनियरिङ अध्ययन सुरु ग¥यो । पढाइसँगै अनुसन्धानमा पनि लागिरह्यो । कठिनाइहरू अझै थिए तर आत्मविश्वास पहिलेभन्दा धेरै बलि भइसकेको थियो । वर्षौँको मेहनतपछि उसले नेपाली भौगोलिक अवस्थाका लागि उपयोगी सानो उद्धार ड्रोन निर्माण गर्ने टोलीको नेतृत्व गर्ने अवसर पायो । पहिरो, बाढी वा दुर्गम क्षेत्रमा औषधि पु¥याउन सक्ने यो प्रविधिले धेरैको ध्यान तान्यो । देशभर उस्को कामको चर्चा हुन थाल्यो । समाचारमा उसको अन्तरवार्ता आयो । गाउँका मानिसहरू गर्वले भन्न थाले, ‘यो त हाम्रो गाउँको छोरा हो ।’ एक दिन आरव आफ्नै विद्यालयमा प्रमुख अतिथिका रूपमा पुग्यो । त्यही खुला मैदान, त्यही कक्षा र त्यही वातावरणमा देख्दा उसलाई आफ्ना पुराना दिनहरू सम्झना आए ।

उसले विद्यार्थीहरूलाई भन्यो, ‘उडान भनेको केवल आकाशमा उड्नु होइन । आफ्नो डर, अभाव र असफलतामाथि विजय प्राप्त गर्नु पनि उडान हो । सपनाले दिशा देखाउँछ तर मेहनतले मात्र गन्तव्यमा पु¥याउँछ ।’ विद्यार्थीहरू तालीले गुञ्जिए । कार्यक्रम सकिएपछि एक सानो बालक ऊकहाँ आयो र भन्यो, ‘दाइ, म पनि ठूलो सपना देख्न सक्छु ?’ आरव मुस्कुरायो र उसको काँधमा हात राख्दै भन्यो, ‘अवश्य सपना सबैका लागि हुन्छ । त्यसलाई पूरा गर्ने साहस पनि आफैँभित्र हुन्छ ।’ साँझपख ऊ गाउँको डाँडामा उभिएर आकाशतिर हेर्दै अगाडि बढिरहेको थियो । सानो हुँदा त्यही विमानलाई हेरेर उसले देखेका सपना आज सम्झीरह्यो । एउटा विमान नीलो आकाशमा कुनै कल्पना पनि रहेन । उसको वास्तविक उडान सुरु भइसकेको थियो । उसले महसुस ग¥यो कि मानिसलाई माथि उठाउने कुरा धन वा भाग्य मात्र होइन, आत्मविश्वास, अनुशासन, निरन्तर प्रयास र सही सोच पनि हो । जीवनमा धेरै पटक ऊ लड्यो, निराश भयो, आर्थिक अभावले रोक्ने प्रयास ग¥यो, तर हरेक पटक ऊ फेरि उठ्यो । वर्षौँपछि आरवले आफ्नै गाउँमा विज्ञान तथा प्रविधि अध्ययन केन्द्र स्थापना गन्यो । त्यहाँ दुर्गम क्षेत्रका विद्यार्थीहरूले निःशुल्क प्रयोगशाला, पुस्तकालय र तालिम पाउन थाले । गाउँका धेरै बालबालिकाले विज्ञान र प्रविधितर्फ रुचि देखाउन थाले । एक दिन आरवले केन्द्रको प्रवेशद्वारमा एउटा वाक्य लेख्यो । ‘सपनाको कुनै सीमा हुँदैन, सीमा त केवल प्रयास रोक्ने सोचको हुन्छ ।’ त्यो वाक्य पढेर आउने हरेक विद्यार्थीको मनमा नयाँ आशा पलाउँथ्यो । आरवको कथा गाउँदेखि देशभर फैलियो तर उसले कहिल्यै आफ्नो संघर्ष बिर्सेन । ऊ सधैँ भन्थ्यो, ‘मेरो सबैभन्दा ठूलो उपलब्धि पुरस्कार होइन, अरूको सपना उड्न मद्दत गर्नु हो ।’ यसरी एउटा सामान्य गाउँको बालकले अभाव, संघर्ष र निरन्तर मेहनतका पखेटा लगाएर आफ्नो जीवनलाई नयाँ उडान दियो । उसको उडान केवल व्यक्तिगत सफलतामा सीमित रहेन, त्यो हजारौँ युवाका लागि प्रेरणाको आकाश बन्यो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार