‘नमुना’ सद्भाव बोकेको बाँके



नेपालगन्ज ।

२०८० सालमा भारतमा चलिरहेको एक विवादका सन्दर्भमा बाँकेका एक व्यक्तिले सामाजिक सञ्जालमा फरक धर्मलाई होच्याउने गरी लेखेको एउटा स्टाटसले जिल्लावासीहरुलाई दुई समूहमा बाँड्यो । मेलमिलापपूर्ण तवरले बसिरहेका मानिसहरु एक व्यक्तिले लेखेको स्टाटसलाई लिएर झडपमा उत्रिन थालेपछि प्रशासनलाई समेत उक्त स्थिति सम्हाल्न हम्मेहम्मे भयो । त्यहीबेला हिन्दू र इस्लाम समुदायका धर्मगुरुहरु एकआपसमा हात समातेर सडकमा आए, सद्भावको आह्वान गर्दै ।

विभिन्न धर्मका गुरु, राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सांसद, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता निकालिएको सद्भाव ¥यालीपछि इस्लाम धर्मगुरु मौलाना जब्बार मन्जरीको हात समातेर बोल्दै बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले केही व्यक्तिले उचालेको भरमा नेपालगन्जवासीहरु विभाजित हुन नहुने बताए ।

योगीले भने, ‘यो समाजमा केही कुतत्वहरु छन्, त्यो तत्वहरुले नसडीजस्तो भएर केही छाप्छन् भन्दैमा हाम्रो सामाजिक सद्भाव खलबलिनेवाला छैन ।’सोही अवसरमा इस्लाम धर्मगुरु मन्जरीले सामाजिक सद्भावलाई बचाएर राख्न आह्वान गर्दै भने, ‘नेपालको सामाजिक सद्भावको चर्चा नेपालमा मात्रै होइन । देशविदेशमा पनि हुन्छ । त्यसैले यो सामाजिक सद्भावलाई बचाइराखौँ र अझै बलिया बनाऔँ ।’ यसरी धर्मगुरुहरुले अग्रपंक्तिमा आएर सद्भावको आह्वान गरेपछि बिस्तारैै स्थिति साम्य हुँदै गयो र समाज पूर्ववत् अवस्थामा फर्कियो ।

नेपालगन्जमा पटक पटक कुनै न कुनै कारणले धार्मिक मनमुटाव उत्पन्न गराउने पर्यत्न भइरहेकै हुन्छ । तर त्यसलाई फैलिन नदिन धर्मगुरु तथा सामाजिक अगुवाहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नेपालगन्जमा धार्मिक विवाद भड्किन नदिन धर्मगुरुहरुले २०६३ सालदेखि नै पहल गर्दै आएका छन् । उनीहरुले समस्या उत्पन्न भएका बेला होस् या अन्य अवसरहरुमा एउटै मञ्चमा उभिएर सद्भावको आह्वान गर्दै आएका छन् । धर्मगुरुहरु योगी र मन्जरीले त एक समय धार्मिक सद्भावको सन्देश दिन सँगै घुमफिर गर्ने र मञ्चहरुबाट एकताको सन्देश दिने काम गरे ।

त्यसपछि पनि पटक पटक विवादहरु उत्पन्न गराउने प्रयासहरुलाई धार्मिक अगुवाले मात्रै नभई यहाँको समुदायले पनि अस्वीकार गर्दै आएको छ । केही व्यक्ति तथा समूहरुले नै विवादलाई बढावा दिन खोजेपछि धार्मिक तथा सामाजिक अगुवाले त्यसलाई प्रतिरोध गरेर विवाद साम्य पार्ने गरेका छन् । केही समूहहरुले योजनाबद्ध रुपमै एकअर्काको धार्मिक आस्थालाई चोट पु¥याउने तथा अतिवादतिर लैजाने पर्यत्न नभइरहेको भने होइन ।

तर त्यसलाई सामाजिक रुपले नै अस्वीकार गरिने, उनीहरुले सद्भाव ¥याली निकाल्ने, प्रशासनको सुरक्षा योजनामा साथ दिने र उत्तेजनात्मक गतिविधिहरुलाई निरुत्साहित गर्ने गर्दा उनीहरुका योजना पूरा हुन पाउने गरेका छैनन् । अहिले सुनसरीबाट सुरु भएको सामाजिक सद्भावविरुद्धका गतिविधि र त्यसमा राज्यको कमजोरीले समस्या मधेश प्रदेशभरी फैलिएको बेला बाँकेबाट त्यहाँका स्थानीयहरुले पनि बाँकेको सकारात्मक अभ्यासलाई अनुशरण गर्नसक्ने देखिन्छ ।

केही जिल्लामा त्यसको अनुशरण गर्दै धार्मिक सद्भाव ¥यालीहरु पनि निकालिएका देखिएको छ । यता बाँकेमा पनि पछिल्लो घटनाक्रमको प्रभाव नपरेको होइन । केही व्यक्तिहरुले सामाजिक सञ्जालमा भड्काउपूर्ण अभिव्यक्ति दिइरहेकै छन् । तर, समुदायले त्यस्ता व्यक्तिहरुले मनासाय बुझेर नकारिरहेको त्यस्ता स्टाटस तथा पोष्टमुनिका कमेन्टले नै बताइरहेका छन् । यसपटक पनि बाँकेका धार्मिक, सामाजिक, राजनीतिक तथा पेशागत अगुवाहरुले सद्भावको आह्वान गर्दै ¥याली निकाल्ने तय भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शनिबार बिहान नेपालगन्जमा सद्भाव ¥याली निकाल्ने निर्णय गरेको छ । सो ¥यालीमा धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायलगायत सहभागी हुनेछन् । उक्त बैठकले सद्भाव कायम राख्नका लागि सार्वजनिक स्थानमा डिजे तथा ठूलो आवाजका साउन्ड सिस्टम बजाउन विगतमा भएका सर्वदलीय तथा सर्वपक्षीय बैठकका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

¥याली र जुलुसका क्रममा हतियार प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिने तथा परम्पराअनुसार हतियार प्रदर्शन गर्ने चलन भएका स्थानमा वास्तविक हतियारको सट्टा प्रतिकात्मक सामग्री मात्र प्रयोग गर्ने निर्णय गरिएको छ । यसैगरी, बाँकेका प्रमुख राजनीतिक दलहरूले पनि शान्ति, सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपिल गरेका छन् ।

नेपाली काँग्रेस बाँकेको कार्यालयमा जम्मा भएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी बाँकेका नेताहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

उक्त विज्ञप्तिमा कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई उनीहरुले आग्रह गरेका छन् ।उनीहरुले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक तथा उत्तेजनात्मक सामग्री प्रसारण वा साझा नगर्न आग्रह पनि गरेका छन् ।

सद्भावका केन्द्र मजारहरु

बाँकेमा रहेका केही मजारहरुले पनि धार्मिक सद्भाव जोड्ने कडीको रुपमा काम गरिरहेका छन् । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा रहेको हजरत बाबा कम्मर शाहको मजार र बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार त्यसका उदाहरण हुन् । यी दुवै मजारहरु यहाँका हिन्दु र मुस्लिम दुवै धर्मावलम्वीहरुले आस्थाका केन्द्र हुन् ।

यी मजारमा वर्षमा एकपटक मेला लाग्छ र ती मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् । ती मेलामा बाँके र बर्दियाका हिन्दु र मुस्लिम दुवै समुदायका सर्वसाधारण सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक समेत आउने गरेका छन् । यी मजारमा पनि हिन्दु, मुस्लिमसहित विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायतका कार्य गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार