श्रृष्टी सिंह
मेरी हजुरआमा मेरो लागि त्यस्तै एउटा सुरक्षित ओत हुनुहुन्छ । जसले आफ्नो वृद्ध, शिथिल र जीर्ण शरीरलाई मेरो खुसीको बेदीमा अर्पण गर्नुभएको छ । बिहान–बेलुकाको ओसिलो चुल्होदेखि बारीको कठिन श्रम, अनि फुर्सदको समयमा अरुको घरमा सेविकाका रूपमा काम गर्ने उहाँको दैनिकी मेरो उज्ज्वल भविष्यका लागि गरिएको मौन तपस्या हो । मलाई सधैँ लाग्छ– मेरा आमाबाबुले यो संसार छाड्दा मलाई जुन अमूल्य धरोहर सुम्पिएर गए, त्यो मेरी हजुरआमा हुनुहुन्छः र उहाँका लागि त्यो अमूल्य रत्न म हुँ । उहाँको यस निःस्वार्थ त्यागको ऋण तिर्न त म कहिल्यै सक्दिन तर उहाँको गौरवको खम्बा बनेर सदैव खडा हुन सकूँ भन्ने दृढ अठोट आज म आफैँभित्र खोजिरहेको छु । आज म चौध वर्ष पार गरेर पन्ध्रौँ वर्षमा प्रवेश गरेँ । गाउँको पुरानो पिपल चौतारीमा बसेर स्वर्गीय आमाबाबुको स्मृतिमा टोलाइरहँदा मेरा नयनहरू कतिखेर आँसुको भेलले भरिएछन् मैले पत्तै पाइनँ । भनिन्छ नि ‘गरिबलाई धन प्यारो, धनीलाई ज्यान प्यारो ।’ तर म नितान्त टुहुरो भएर पनि हजुरआमाको न्यानो काखका कारण आमाबाबुको अभावबाट कहिल्यै छटपटाउनु परेको थिएन । तर आज किन हो यी आँखाहरू साउनको झरीझैँ निरन्तर बगिरहेका छन् । रोकिने कुनै छाँटकाँट छैन । म धुरुधुरु रोएँः सायद यो मेरो बाल–हृदयभित्र वर्षौँदेखि गुम्सिएर रहेको गहिरो वेदनाको प्रस्फुटन थियो । त्यत्तिकैमा कतै टाढाबाट एउटा विदीर्ण आवाज हावामा तैरिएर आयो– ‘सिते ! सिते… सीतारामा ! ओई सीताराम…!’ मैले टाउको उठाएर हेरेँ । हाम्री छिमेकी दिदी हस्याङफस्याङ गर्दै आइन् र काँपेको स्वरमा भनिन्, ‘ऊ… उ.. हुहुहु… तेरि हजुरआमा त रहिनन् । हाम्लाइ छाडेर गइन् ।’ उनका ती शब्दहरू मेरो कलिलो छातीमा यमराजको तीखो बाण प्रहारजस्तै भएर बिझे । मेरा आँखाबाट अब आँसु मात्र बगेनन्, मनमा यस्तो बज्रपात भयो कि शरीरका सम्पूर्ण अङ्गहरू एकैचोटी संज्ञाशून्य भएर विलिन भए पग्लिएझैँ महसुस भयो । म कसरी दौडिएर घर पुगेँ, मलाई अझै पनि पत्तो छैन ।
घरको आँगनमा १५–२० जना मानिसहरूको भीड जम्मा भइसकेको थियो । चारैतिर कोलाहल थियो, सबैजना रोइरहेका थिए । जब म रुँदै भीड चिरेर भित्र पसेँ, वातावरणमा एक्कासि एउटा मसानघाटकोजस्तै भयावह मौनता छायो । अब त्यहाँ गुन्जिरहेको एकमात्र क्रन्दन मेरो थियो । मानिसहरूले मलाई समातेर सम्झाउने कोसिस गरिरहे । मैले हजुरआमाको त्यो चिसो, निष्प्राण गोडा समातेर चिच्याउँदै रोएँ, ‘अब मलाई कसले गाँस दिन्छ ? कसले ओढ्ने ओछ्याउने दिन्छ ? मलाई कसले माया गर्छ ?’ तर मेरो यो आर्तनादको उत्तर दिने हजुरआमा त अनन्त मौनताको यात्रामा निस्किसक्नुभएको थियो । उहाँको त्यो मौनतासँगै दिन ढल्यो र गाउँलेहरूको सहयोगमा उहाँको दाहसंस्कार सकियो । म रित्तो मन र रित्तो ज्यान लिएर फर्किएँ । आफूलाई सम्हाल्ने प्रयत्न गर्दागर्दै पनि दिनभरिको भोक, प्यास र मानसिक थकाइले गर्दा मेरो शरीर शिथिल भयो । ओछ्यानमा पल्टिनासाथ म कतिखेर निन्द्रामा परेँ, पत्तै भएन । तर पेटको भोकले मध्यरातमा अचानक मेरो आँखा खुले । बाहिर पुष्प अँध्यारो थियो । मैले अर्धनिन्द्रामैँ कराउँदै भनेँ, ‘हजुरआमा, भोक लाग्यो तर कतैबाट कुनै प्रतिउत्तर आएन । निस्तब्ध रातमा एउटा चिसो सन्नाटा मात्र व्याप्त थियो । त्यत्तिकैमा ढोकामा आवाज आयो ढ्याक–ढ्याक, ढ्याङ्… म जुरुक्क उठेँ र त्रासित मनले ढोका खोलेँ । ढोकाको संघारमा ६०–७० वर्षकी एकजना चाउरिएकी वृद्धा आमा हातमा कचौरा लिएर उभिनुभएको थियो । ती आमाको अनुहारभन्दा पनि मेरो भोको आँखा सिधै उहाँको हातको कचौरामा रहेको मकैमा प¥यो । उहाँले काँपेको स्वरमा भन्नुभयो, ‘बाबु’… कतैबाट मेरो कानमा आवाज आयो– ‘केही खानेकुरा भए देऊ न, खानेकुरा देऊ न भनेर ।’ म आफैँ भोकले यसरी व्याकुल भएको थिएँ कि चेतना नै हराएको । मैले सोच्दै नसोची उहाँको हातबाट त्यो मकैको कचौरा खोलेँ र ढोका ड्याम्म बन्द गरेर हतार–हतार सबै खाइदिएँ ।
क्षणभरमै बाहिरबाट फेरि उही स्वर आयो, ‘मेरो खानेकुरा देऊ.. मकै देऊ…’ त्यो आवाज अत्यन्तै मधुर, थकित र भोकले छट्पटाएको स्पष्ट बुझिन्थ्यो । ठ्याक्कै त्यही समयमा बाहिर मुसलधारे पानी पर्न थाल्यो । आकाश गर्जियो तर मभित्रको स्वार्थी डरले गर्दा मैले ढोका खोलिन र भित्रै लुकेर बसिरहेँ । केही समयपछि उहाँको आवाज मलिन हुँदै बन्द भयो तर अचानक वातावरण फेरि बदलियो । कता–कताबाट हावाको झोक्कासँगै अर्को आवाज सुनिन थाल्यो– ‘बाबु सीताराम, मलाई भोक लाग्यो । मलाई खानेकुरा देऊ ।’ त्यो आवाज हुबहु मेरी हजुरआमाकोजस्तै थियो । तर मेरो तर्कशील मनले भन्यो– ‘यो मेरी हजुरआमाको स्वर हुनै सक्दैन, किनकि उहाँ जीवित छँदा आफ्नो भोक बिर्सेर मलाई खुवाउनुहुन्थ्यो, उहाँले कहिल्यै आफ्नो लागि भोक लाग्यो भन्नुभएको थिएन ।’ ‘बाबु भोक लाग्यो, सीताराम खानेकुरा देऊ’ यो दर्दनाक आवाज बारम्बार गुन्जिरहेपछि मैले आफ्नो डर र कौतुहलतालाई दबाउँदै बिस्तारै ढोका खोलेँ । बाहिर ती वृद्धा आमा ओरालो बाटो लाग्दै हुनुहुन्थ्यो । तर अचम्म उहाँको हातको एउटा औँलामा लगाएको रत्न (औँठी) त्यो अँध्यारो रातमा पनि चम्चमी चम्की रहेको थियो । त्यो चम्किलो रत्नले मलाई मनमा अनेक सोच बनायो र म उहाँको पछि लाग्न बाध्य भएँ । रातको त्यो भीषण हावाहुरी, गर्जन र वर्षाको पर्वाह नगरी म पानीले लत्पतिएर ती वृद्धा आमाको पछिपछि दगुरिरहेँ । अचानक, जमिनको एक ठाउँमा त्यही रत्न झिलमिल चम्किरहेको देखियो । मेरो नजर त्यहीँ अडियो । मलाई लाग्यो, त्यो रत्न फेला पारेँ भने केही खाने कुरा पाउँछु, भोक मेटिनेछ । म अगाडि बढेँ र बलियो गरी त्यो रत्नलाई समातेर तानेँ । तर तान्नेबित्तिकै मेरो आङ जिरिङ्ग भयो । मेरो हातमा केवल औँठी मात्र आएको थिएन, बरु कसैको रगतपच्छे कान्छी औँला पो लुछिएर आयो– त्यो मेरी हजुरआमाको थियो ! ठ्याक्कै त्यही समयमा बिजुली चम्कियो, आकाश भयानक रूपमा गर्जियो र पृथ्वी जोडले हल्लियो । मेरो सातो गयो । डरले मेरो खुट्टा मुनिको जमिन भासिएझै भयो । र एक्कासि…!! ‘उठ बाबु उठ, उज्यालो भइसक्यो । मैले पूजाको बत्ती पनि बाल्दिसकेँ’ भन्दै मेरी हजुरआमाले मायालु स्वरमा ढोका ढकढक्याउँदै कोठाभित्र प्रवेश गर्नुभयो । अनि मात्र मेरो होस आयो । म निथ्रुक्क भिजेको थिएँ– पानीले होइन, डरको चिसो पसिनाले । त्यो त एउटा अत्यन्तै भयानक दुःस्वप्न पो रहेछ । हजुरआमालाई आफ्नै अगाडि देखेपछि मेरो मनको अनिश्चय र संशयको ‘डरको दर्पण’ चकनाचुर भएर फुट्यो । संसारको सबैभन्दा ठूलो सत्य र सुरक्षा त हजुरआमाको काख नै रहेछ भन्ने बोधका साथ मेरो मनको सारा भय सधैँका लागि बिलाएर गयो ।









प्रतिक्रिया दिनुहोस्