दाङमा ‘सूचना प्रविधि मेला’



दाङ ।

‘कोड फर चेन्ज दाङ’ को आयोजनामा शुक्रबारदेखि यहाँ तीन दिने सूचना प्रविधि मेला सुरु भएको छ । मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गरे । नगर प्रमुख चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताए ।

उनले प्रविधिलाई केवल अध्ययनको विषयका रूपमा मात्र नभई उद्यम, रोजगारी र समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले सूचना प्रविधि र सञ्चार क्षेत्र एकअर्काका परिपूरक रहेका उल्लेख गर्दै डिजिटल युगमा सिर्जना हुने प्रविधिले समाजलाई सही दिशामा लैजानुपर्ने बताए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दाङसहित विभिन्न जिल्लाका कलेजमा सूचना प्रविधि (आईटी) अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले विकास गरेका विभिन्न मोबाइल एप, सफ्टवेयर, डिजिटल सामान तथा नवीन प्रविधिमा आधारित आइडियाको प्रतिस्पर्धा हुने कोड फर चेन्ज दाङका अध्यक्ष जगदीश ओलीले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार