बर्दियाको मधुवनमा बाघको आक्रमणबाट वृद्धको मृत्यु



बाँके ।

बाघको आक्रमणबाट बर्दियामा भैँसी चरणका लागि सामुदायिक वनमा गएका एकजना वृद्धको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–२ मा रहेको कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका स्थानीय ६१ वर्षीय झुठारु थारुको ज्यान गएको हो । आइतबार वनमा भैँसी चराउन गएका थारुको बाघको आक्रमणबाट ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

आइतबार बेलुकासम्म घर नफर्केपछि उनका आफन्तले वन, प्रहरीलगायत ठाउँमा जानकारी गराएपछि खोजी कार्य भएको थियो ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा थारुको शव फेला परेको थियो । रात परेकाले घना जंगलमा खोजी हुन नसकेपछि सोमबार बिहान खोजतलास गर्दा शरीरका केही भाग, छाता र चप्पल फेला परेका थिए ।

भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।

बर्दियासँगै जोडिएको खाता जैविक मार्गमा रहेको उक्त सामुदायिक वन घना भएकाले खोजी कार्यमा समस्या भएको खाता रेन्ज पोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले चरिचरण र अन्य प्रयोजनका लागि एक्लै वनमा नजानका लागि पटकपटक आग्रह गरे पनि अटेर गरेका कारण वन्यजन्तुले आक्रमण गर्ने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २८ गते मंगलबार