बाँके ।
सन् २०२१ मा नेपालगन्ज मेडिकल कलेज र नेपालगन्ज नर्सिङ क्याम्पस सञ्चालन गर्ने लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेडले एक अर्ब ४६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।
सन् २०२० मा कम्पनीको कारोबार ३.४४ प्रतिशतले ओरालो लागेको भए पनि २०२१ मा भने ६ प्रतिशतले बढेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले उल्लेख गरेको छ ।
रेटिङ्स नेपालकाअनुसार कम्पनीले सन् २०२० मा एक अर्ब ३८ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा एक अर्ब ४३ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०२० र सन् २०२१ मा कम्पनीले अस्पतालबाट गर्ने आम्दानी कोरोना महामारीका कारण प्रभावित बनेको बताइएको छ ।
लर्ड बुद्ध एजुकेसन एकेडेमीले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल पनि सञ्चालन गरिरहेको छ । कोरोना उपचारका लागि शिक्षण अस्पताल कोहलपुरलाई प्रयोग गरिएको थियो । कम्पनीले सन् २०२१ मा अस्पताल सञ्चालनबाट करिब ५० प्रतिशत आम्दानी गरेको थियो भने मेडिकल कलेजबाट २५.२५ प्रतिशत आम्दानी गरेको हो ।
कोरोनाकै कारण नियमित कक्षा र एमबीबीएस शुल्क घटाइएकाले कम्पनीको कारोबारमा असर परेको केयर रेटिङ्स नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ । कोहलपुरको अस्पताल सात सय ५० शड्ढया र नेपालगन्जको दुई सय ५० शड्ढया क्षमता रहे पनि अहिले कम्पनीसँग करिब सात सय शड्ढया मात्रै सञ्चालनमा रहेको छ ।
कम्पनीले एक अर्ब रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । नौ करोड ६० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी बी र ९० करोड ४० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको हो ।
कम्पनीको बोर्डमा आठजना रहेका छन् । दिनेश श्रेष्ठ कम्पनीको अध्यक्ष छन् भने डा. सुरेशकुमार कनोडिया प्रबन्ध निर्देशक छन् । सन् १९९७ मा कम्पनीले एमबीबीएस पढाइ सुरु गरेको थियो । सन् २००० मा आएर कम्पनीले नर्सिङ कार्यक्रम सुरु गरेको थियो । सन् २०२० मा एमबीबीएस, एमडी÷एमएस र बीएससी (नर्सिङ) मा भर्ना नै रोकिएको थियो ।
कोरोना महामारीका कारण सन् २०२० मा हुनुपर्ने इन्ट्रान्स परीक्षा सन् २०२१ मा भएको थियो । सन् २०२१ मा भएको इन्ट्रान्स परीक्षामा इनरोल्मेन्ट रेसियो २२ प्रतिशतमा झरेको केयर रेटिङ्स नेपालले उल्लेख गरेको छ । सन् २०१९ मा इनरोल्मेन्ट ८२ प्रतिशत थियो । सन् २०२१ मा सरकारले कानुनी कारण देखाउँदै लर्ड बुद्ध एजुकेसनले सञ्चालन गरिरहेको नर्सिङ कार्यक्रम रद्द गरिदिएको थियो ।









प्रतिक्रिया दिनुहोस्