नरैनापुरको नीति तथा कार्यक्रममा शैक्षिक सुधार र पूर्वाधार प्राथमिकतामा



कृष्ण ओली । बाँके ।

नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । आइतबारबाट सुरू भएको १३औँ गाउँसभामा गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाको शैक्षिक सुधार र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा गाउँपालिकाको विशेष महŒव मानिने योजनाहरू शैक्षिक सुधार र पूर्वाधार विकास मुख्य प्राथमिकतामा रहेको जानकारी दिए । शिक्षा क्षेत्रको विकासका लागि माध्यमिक र उच्च तहका कक्षाहरूमा विद्यार्थीको सहज पहुँचका लागि प्रशस्त अवसर सिर्जना, प्राविधिक शिक्षालाई गुणस्तरीय र व्यवस्थित गर्न विभिन्न कार्यक्रमसमेत अगाडि सारिएको छ । साथै सबै विद्यालयमा विद्युत् जडानको सुनिश्चितता र शैक्षिक संस्थामा इन्टरनेट सेवा विस्तार गरिनेछ ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पु¥याउन, परम्परागत तथा धार्मिक विद्यालयमा कक्षा पूरा गरेको बालबालिकालाई माथिल्लो कक्षा अध्ययनका लागि कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष शाहले बताए । चालु आर्थिक वर्षमा समेत गाउँपालिकाले शैक्षिक सुधार र पूर्वाधार विकासलाई नै पहिलो प्राथमिकतामा राखेको थियो । सामूहिक कृषि कार्यमा युवालाई उत्प्रेरित तथा कृषिमा रोजगारी सिर्जना गर्न सबै वडाहरूमा ‘गाउँपालिका प्रमुख युवा कृषि कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले ‘कृषि र पशुपालनबाट स्वरोजगार समृद्ध नरैनापुर रोजगारीको आधार’ भन्ने नारा अगाडि सारेको छ । त्यसका लागि कृषि विकासका लागि पकेट क्षेत्रको पहिचान गरी सबै वडामा व्यावसायिक खेती, नगदे एवम् उच्च सम्भावनायुक्त तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहनका लागि उन्नत बीउ, मल, उपकरणको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा छ । स्वास्थ्यतर्फ १५ शैड्ढयाको अस्पताल भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने, सर्पदंश उपचार केन्द्रको लागि पहल गर्ने, स्वास्थ्य चौकी तथा केन्द्रहरूको सेवा प्रभावकारी बनाउनेलगायतका कार्यक्रमहरू समेटिएको छ ।

नरैनापुरको बजेट ४८ करोड ६२ लाख

नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४८ करोड ६२ लाख दुई हजार आठ सय ७३ रूपैयाँको बजेट पेस गरेको छ । वडाध्यक्ष कृष्णचन्द्र मौर्यले आइतबार १३औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट पेस गरेका हुन् ।

बजेटमा स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि पाँच करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि तीन करोड ३० लाख छुट्याइएको वडाध्यक्ष मौर्यले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास क्षेत्रको लागि १० करोड विनियोजन गरिएको छ । सभामा पेस भएको बजेटमा सामाजिक विकास क्षेत्रको लागि २० करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ ।

संघ र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न योजनाका लागि समपुरक कोषको लागि दुई करोड विनियोजन गरिएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिवडा ५० लाखका दरले तीन करोड रूपैयाँ सीधैं वडामा पठाउनेगरी रकम छुट्याइएको छ ।

वडा कार्यालयलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पूरा गर्ने कार्यालयको रूपमा विकास गर्ने उद्देश्यले वडामा बजेट विनियोजन गरिएको बताइएको छ । शिक्षा, पूर्वाधार, कृषिलगायतका क्षेत्रमा धेरै बजेट छुट्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । ‘नीति तथा कार्यक्रममा प्राथमिकता दिइएका विषयहरूले बजेटमा समेत प्राथमिकता पाएका छन्,’ उनले मिसन टुडेसँग भने, ‘सकेसम्म हामीले पूर्वाधार र शिक्षामा सबै वडालाई ध्यान दिएर आगामी आवको बजेट बनाएका छौं ।’

‘समृद्ध नरैनापुरका लागि त्रिकोणात्मक समन्वय आवश्यक’

तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरे मात्र नरैनापुरको विकास र समृद्धि सम्भव भएको सरोकारवालाहरूले बताएका छन् । आइतबार नरैनापुर गाउँपालिकाको १३औँ गाउँसभामा बोल्दै संघ र प्रदेशका सांसद तथा गाउँपालिका अध्यक्षले सो कुरामा जोड दिएका हुन् ।
संघीय सांसद सूर्यप्रसाद ढकालले एउटै तहको प्रयासले मात्रै नरैनापुर समृद्ध बन्न नसक्ने बताउँदै सबैको सहयोग र सहकार्य नै अहिलेको आवश्यकता रहेको बताए ।

‘हामी सांसद र स्थानीय जनप्रतिनिधि मिलेर अगाडि बढ्दा नरैनापुरको विकासमा सहज हुनसक्छ,’ उनले भने, ‘हामी मात्रै मिलेर हुँदैन, तपाईँ नरैनापुरवासीले समेत साथ दिनुपर्छ ।’ पूर्वमन्त्रीसमेत रहेकी लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले तीनै तहका जनप्रतिनिधिबीच त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिइन् । पछिल्लो पाँच वर्षमा नरैनापुर र राप्तीसोनारीको अवस्था फेरिएको बताउँदै उनले अझै यहाँ गर्नुपर्ने कामहरू धेरै रहेको बताइन् ।

‘मैले पहिलोपटक यही क्षेत्रबाट चुनाव जित्दा यो क्षेत्रमा बिजुली, सडक, स्वास्थ्य, शिक्षा केही पनि थिएन । पाँच वर्षमा यी सबै कुराहरू भएका छन्,’ सांसद नमुनाले भनिन्, ‘तीनै तहका जनप्रतिनिधिबीच सहकार्य र समन्वय भए सबै काम गर्न सकिन्छ । तीनै तहका जनप्रतिनिधिबीच त्रिकोणात्मक सम्बन्ध अहिले आवश्यकता हो ।’

आफ्नो क्षेत्रको विकासका लागि आफू सबै कुराहरू गर्न तयार रहेको बताउँदै सांसद नमुनाले तीनै तहको बजेटले विकास सम्भव हुने धारणा व्यक्त गरिन् । गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पालिकाको बजेटले नपुग्ने भएकोले प्रदेश र संघ सरकारसँग समेत थप बजेट माग्नुपरेको बताए ।

‘प्रदेश र संघका सांसद ज्यूहरूसँग यहाँका विभिन्न योजनाका लागि बजेट माग्दै आएको छुँ,’ उनले भने, ‘हाम्रो बजेटले यहाँको सबै विकास गर्न पुग्दैन । प्रदेश र संघसँग सहकार्य गर्न नरैनापुर तयार छ ।’ आफूहरू शैक्षिक सुधारका लागि लागिपरेको भन्दै अन्य क्षेत्रको विकासका लागि संघ र प्रदेशको सहयोग अपरिहार्य रहेको गाउँपालिका अध्यक्ष शाहले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ११ गते सोमबार