दाङका ५५ वर्षीय लेखराज सार्कीलाई उमेरले छेकेन कमाइ



गणेश रावत
कोहलपुर, आफ्नै जन्मभूमिमा कर्म गर्न कसको रहर नहोला । चाहे सानो होस् वा ठूलो, आफ्नै ठाउँमा आयआर्जनका लागि काम गर्न चाहन्छन् । तर, जब चाहे जस्तो रोजगारी वा काम पाइँदैन मान्छे अनि आफ्नो भूमि छाड्न बाध्य हुन्छ । जन्मिएको प्यारो ठाउँ छाडेर विदेश होस् या अर्काे जिल्ला । यसमध्यका एक हुन्, ‘दाङस्थित ५५ वर्षीय लेखराज सार्की ।’


आफ्नो परिवार पाल्न मुस्किल भएपछि उनी बाँकेस्थित कोहलपुरमा बसाइँ सारे । उमेर जन्म गाउँमै बिताए पनि बुढेसकालमा उनी रोजगारीका लागि आठजनाको परिवार लिएर कोहलपुरमा छन् । जीविकोपार्जनको कुनै पनि माध्यम नभएपछि अवसरको खोजीमा उनी सपरिवार कोहलपुरमा आइपुगेका हुन् । उनी कोहलपुर आएको पनि चार वर्ष बितिसक्यो । कोहलपुरस्थित चौराहा नजिकै रहेको पीपलको रुखमुनि बसेर उनी जुत्ता सिलाउँछन् । जुत्ता सिलाएरै दुई छोरी, एक छोरा, दुई नातिनातिनी र श्रीमतीलाई पाल्दै आएका छन् । उनका छोरासमेत मजदुरी गर्छन् । उनी भन्छन्, ‘पहिलेदेखि नै घरको आर्थिक अवस्था कमजोर थियो । त्यस कारण पढ्न लेख्न पाइएन । गरिबीले बुढेशकालमा थातथलो छोड्नुप¥यो ।’

उनी आफू त पढ्न लेख्न पाएनन् । गरिबीका कारण आफ्नो छोरालाई समेत उच्च शिक्षा अध्ययन गराउन सकेनन् । साहुसँग ऋण निकाल्दै, मजदुरी गर्दै कक्षा दशसम्म पढाएको उनी बताउँछन् । मिसन टुडेसँग कुराकानी गर्दै उनले भने, ‘के गर्नु, दुई कट्ठा जग्गाले परिवार पाल्न सकिएन । खान लाउन मुस्किल भयो । जुत्ता सिलाएको पैसाले कहिल्यै पुगेन ।’ बाध्य भएर अवसरको खोजीमा जन्मथलो छोड्नु परेको विवशता सुनाउँछन् उनी । बिहान आठ बजेदेखि साँझ अँध्यारो हुँदासम्म जुत्ता सिलाउने गरेको सार्कीको भनाइ छ । दिनमा न्यूनतम पाँचदेखि एक हजारसम्म कमाइ हुने गरेको उनले बताए ।
‘व्यवसायमा सधै भनेको जस्तो कहाँ हुन्छ र ? कहिलेकाहिँ त नास्ता खाने पैसासमेत कमाइ हुँदैन । जति दुःख परे पनि सहेरै जीवन चलिरहेको छ,’ उनी भन्छन् । पानी पर्दा, आन्दोलन हुँदा र सवारी नचलेको बेला आम्दानी शून्य हुने उनी सुनाउँछन् । पराइँको ठाउँमा जुत्ता सिलाएर घरका सबै आवश्यकता पूर्ति गर्न आफूलाई निकै समस्या भएको उनले बताए । भावुक हुँदै सार्कीले भने, ‘गरिब हुनुको पीडा मलाई मात्र थाहा छ । घरपरिवारको मूल मान्छे भनेकै म हुँ । सबैको मन बुझाउँनुपर्छ ।’

सबैको मन बुझाउँदाबुझाउँदा कहिले आफू भोकभोकै बस्नु परेको पनि उनले बताए । पहिला मजदुरी गर्दा एउटै हातका चोरवटा औँला गुमाएका सार्कीले चार औँलाले काम गर्न निकै असजिलो हुने बताए । यसरी नै उनको दैनिकी चलिरहेको छ । ५५ वर्षीय सार्की भन्छन्, ‘अहिले सहरको बसाइँ छ । जेनतेन घरपरिवार पालेको छु । काम कै लागि अपांग भए । एउटा औँला नहुँदा काम गर्दा समस्या हुन्छ । लालाबालाहरुको लागि पनि नसकीनसकी काम गर्नु परेको छ ।’ शारीरिक अवस्थाले साथ दिएसम्म जुत्ता सिलाउने काम गर्ने यो सोचाइ छ । उनको व्यवसायमा उनकी श्रीमती र छोराले समेत साथ दिँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार