दानवीरको कथाः जसले सबै सम्पत्ति सामाजिक क्षेत्रलाई दान गरे



वीरेन्द्र जैसी । नेपालगन्ज ।

एक समय थियो । जतिबेला उनको पूरै घर खानतलाशी गर्दा मात्र ३५ रुपैयाँ फेला परेको थियो । एक सय रुपैयाँ पु¥याउन नसक्दा उनको एउटा रहरले झण्डै आत्महत्या गरिसकेको थियो । तर अहिले उनी करोडौ रुपैयाँ मूल्यको जग्गा दान गर्ने दानवीर बनेका छन् ।

कुनैबेला बिघाका मालिक रहेका नेपालगन्ज–९ निवासी जयकेश सिंह अहिले आफ्नो स्वामित्वमा भएको चार बिघा १२ कठ्ठा जमिन दान गर्दै केही धुर जग्गामा सीमित भएका छन् । जयकेश भन्छन्, ‘बरु जग्गा आफूसँग हुँदा अभाव महसुस हुन्थ्यो ।

अहिले त सन्तुष्टि र सुखबाहेक केही छैन ।’ उनले दान दिएको चार बिघा दुई कठ्ठा जग्गामा अहिले सरकारले बालसुधार गृह सन्चालन गरिरहेको छ भने अर्काे १० कठ्ठा जमिन मानव सेवा आश्रमलाई दान गरेका छन् ।

आफ्ना पुर्खाहरु भारतको एक राजा रजौटा खलकका रहेका र औरंगजेबको पालामा भारतबाट शरण खोज्दै उत्तरतर्फ लाग्ने क्रममा यहाँ आइुपगेका जयकेशको भनाइ छ । उनीहरु नेपाल आएर सुरुमा हालको जानकी गाउँपालिकाको गुवागाउँमा बसोबास गरेको र पछि हालको नेपालगन्जको दक्षिणी क्षेत्रमा जमिन फडानी गर्दै असमानपुर, सूर्जपुर, सुन्दरपुर र परसनपुर गरी चार मौजा बनाएर बस्न थालेका उनको भनाइ छ ।

उनका खलकहरु हाल असमानपुर र सुर्जपुरमा मात्रै बसिरहेका छन् । जमिनदारी प्रथा अन्त्य भएपछि उनका बाजेका भागमा परेको जमिन उनका बुवासम्म आइपुग्दा करिब ३ बिघामा सीमित भएको थियो । भागबण्डा भएपछि उनका बुवाको परिवारमा आर्थिक संकट आइलाग्यो । त्यो संकट जयकेश विद्यालय पढ्दासम्म पनि जारी रह्यो ।

२०२२ सालमा जन्मिएका जयकेश एकपटक कक्षा १० मा अध्ययन गर्दा ताकाको अवस्था सम्झिन्छन् । उनी त्यतिबेला रुपैडिहास्थित एक विद्यालयमा अध्ययन गरिरहेका थिए । विद्यालयले अर्काे टाढाको सहरमा एल्बम र भलिबल प्रतियोगितामा सहभागिताका लागि नाम टिपाउन भन्यो र प्रत्येक विद्यार्थीले एक सय रुपैयाँ तिर्नुपर्ने सुचना जारी ग¥यो । जयकेशलाई उक्त प्रतियोगितामा एकदमै रुची भएकोले नाम दर्ता गराए । तर प्रतियोगितामा जाने अघिल्लो दिनसम्म पनि एक सय रुपैयाँ जोहो उनका बुवाले गरिदिन सकेनन् ।

बुवाले त्यस रात घरका पैसा हुनसक्ने सबै ठाउँ टट्क्याए । आमाले आफ्ना गाँठा फुकाइन् । तर जम्मा भयो मात्र ३५ रुपैयाँ । एक्लो छोरोको प्रतियोगितामा जाने हुटहुटी पूरा गर्न नसकेर उनका बुवाका आँखा आँशुले भरिए । आमा पनि रुन थालिन् । त्यो रात उनीहरुको रोएरै बित्यो । अर्काेदिन आफ्नाअघि आँशु भरिएका आँखा लिएर उभिएका जयकेशलाई देखेपछि उनका शिक्षक दान बहादुर सिंहले उनको पीडा बुझे । विद्यालयकै खर्चमा उनलाई प्रतियोगितामा सहभागी गराइयो । मिसन संवाददाता सामू आफ्नो यो कथा भनिरहँदा जयकेशको गला अवरुद्ध भयो । केहीबेर आँशु पुछे ।

त्यो दुःखको समयपछि उनका बुवा र उनी मिलेर रातदिन मिहिनत गरे । कोल्डड्रिङ्कको व्यापारदेखि संघसंस्थामा आफ्नो समय दिँदै अनि शिक्षण पेशा । साथै शिक्षक ट्रेनरको रुपमा सक्रियता । जयकेशले भ्याएको मिहिनत गरे । बुवाले किसानीमा जिउज्यान लगाए । उनीहरुले ३ बिघा पैत्रिक सम्पत्तिमा थप करिब ३ बिघा जमिन जोडे । बुवाले उनलाई आशिर्वाद दिएका थिए,‘तँ यस क्षेत्रकै उदाहरणीय व्यक्ति बन्नू । अहिले जय केशले आफ्नो नाममा हालसम्म बचेको पैत्रिक सम्पत्ति सबै जग्गा दान गरेर एक उदाहरणीय व्यक्ति बनेका छन् । अब उनीसँग सम्पत्तिका नाममा मात्र ७ धुर जमिनमा भएको एउटा घरमात्रै बाँकी छ ।

जयकेशको दानवीरताको प्रशंसा गर्दै बुद्धिजीवी नरेन्द्रजंग पिटरले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘अझै प्रलयको दिन (कयामतका दिन) अइसक्या छैन । निराशा र स्वार्थी मात्रै समाज छैन । मानव केन्द्रित सोच मात्रै हैन, कर्म गर्ने व्यक्तित्वहरू पनि समाजमा छन । एनजिओवादी भएर समाजसेवी हैनन् आफ्नै तन, मन, धन खर्चेर अगुवा बन्ने हाम्रो समाजमा अझै छन् । नेपालगन्जमा अवतारदिन चौधराइन र फत्तेजंग शाहपछि त्यो हकवाला बन्दै जयकेश सिंह (जेके सिंह) ले अर्को कोसे ढुङ्गा गाडे ।’

‘जेके’ जयकेशलाई विद्यार्थीहरुले दिएको नाम हो । उनी लेखाशास्त्रका सेवा निवृत्त शिक्षक हुन् । उनलाई उनका विद्यार्थीहरुले जेके सरका नामले नै चिन्छन् । २०४६ सालमा जानकी माविमा शिक्षकको रुपमा प्रवेश गरेका जयकेश २०५५ सालमा एमपी स्कुल नेपालगन्जमा सरुवा भए । २०७७ सालमा उपादान लिएर उनले शिक्षक पेशाबाट निवृत्ति लिए ।

जयकेशको जीवनमा एक बिडम्बना आइप¥यो । उनका केही सन्तान गर्भावस्थामै तुहिए । एक सन्तान जन्मिएको एक घण्टाभित्रै बिते । ती घटनाले जयकेशलाई नयाँ सोचमा पु¥यायो । सन्तानको परिभाषामा उनले जैविक सन्तानमात्रै विकल्प देखेनन् । उनले आफ्नो कृतिलाई पनि सन्तानका रुपमा लिन सकिने देखे । उनी भन्छन्, ‘जैविक सन्तानले नाम बोक्ने एक पुस्ता वा बढीमा ५०, ६० वर्ष हो । तर कृतिरुपको सन्तानले त हजारौँ वर्ष सम्झिने बनाइदिन्छ ।’

यसैबीच, २०६७ सालमा तत्कालिन महिला बालबालिका तथा समाज कल्याण मन्त्री रहेका सर्वदेव ओझालाई भेट्न उनका साथीले ओझाको घरमा लिएर गए । भेटका क्रममा ओझाले आफूले बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएकाहरुका लागि केही काम गर्न जमिन खोजिरहेको बताए । साथीले जबरजस्ती मन्त्रीकोमा लगेको जयकेशले त्यहीबेला ओझालाई जग्गा आफूले दिने प्रस्ताव गरे । त्यसमा उनले विविध चारवटा शर्तमध्ये एक शर्त राखे, उक्त जग्गामा जे बन्छ त्यसमा मेरो नाम जोडिनुपर्छ ।

मन्त्री सहमत भए । त्यसपछि २०६७ साल भदौ ७ गते उनले सयौँ रुख र फलफुल बगिया रहेको डुडुवा–६(साविक हिरमिनिया–५) स्थित चार बिघा जग्गा सरकारका नाममा गरिदिए । उक्त जग्गामा सरकारले बालसुधार गृह स्थापना ग¥यो । बासुधार गृह नाम उनले बुवा तप्तबहादुर र आमा हिमरानीको नाममा राख्न चाहेका थिए । तर बुवा आमाले मानेनन् । त्यसपछि जयकेश आफू र उनकी श्रीमति इन्दुको नामलाई जोडेर बालसुधार गृहको नाम राखियो ‘जयन्दु बालसुधार गृह’ ।

जग्गा दान गर्दा उनका बुवाले उनलाई धर्मपुत्र वा धर्मपुत्री राख्न सुझाव पनि दिएका थिए । तर जयकेशले त्यसो गर्नुभन्दा आफूसँग भएको सम्पत्तिले सयौँ छोराछोरीले लाभ लिन मिल्ने विकल्प सही भएको ठाने । उक्त जमिनलाई हजारौँ वर्षसम्म समाज र देशले उपयोग गर्न पाएमा त्यसको महत्व अझ बढी हुने भनेर सम्झाए । त्यसपछि परिवार पनि सहमत भयो । बालसुधार गृहलाई सरकारले अझ व्यवस्थित गर्दै उनीलाई भविष्यमा समाजमा पुनस्र्थापित हुन र जीवजापनका लागि योग्य बनाउनेगरी काम गर्नुपर्ने उनको सुझाव छ । त्यसका लागि बालसुधार गृहको क्षमता बढाउँदै उनीहरुका लागि सीपमूलक तालिमका कार्यक्रमहरु सन्चालन गरिनुपर्ने उनी बताउँछन् ।

यसका साथै पछिल्लोपटक डुडुवा–६ मै रहेको घरसहितको १० कठ्ठा जग्गा उनले मानव सेवाश्रमलाई दान गरेका छन् । आश्रमले देशका अन्य ठाउँमा गरेको काम देखेर र थुप्रै दुःखी पीडितले आफ्नो कारणले सेवा पाउने देखेर जग्गा दान गरेको उनको भनाइ छ । अब उनीसँग नेपालगन्ज–९ मा ७ धुरमा रहेको एक घरबाहेक अरु कुनै सम्पत्ति छैन ।

जयकेश सन्तानको लागि मरिहत्ते गर्नु उपयुक्त नहुने बताउँछन् । अहिले पनि छोराकै लागि बहुविवाह गरेको, धेरै सन्तान जन्माउने गरेको देखेर उनलाई हाँसो उठ्छ । सन्तान भएकै कारण कति मानिसहरुको जीवनको अन्तिम अवस्था दुःखद भएको उनलाई थाहा छ । त्यसकारण कम सन्तान जन्माउन, सन्तान नै नभएमा दुःख मनाउ गर्नुभन्दा आफ्नो जीवन अरु दुःखी पीडित पनि सन्तान नै हुन् भन्ने ठानेर उनीहरुको सेवामा समर्पित गर्न उनको सुझाव छ ।

सम्पत्ति नै नभएपछि बुढेसकालमा कसले सेवा गर्ला भन्ने असुरक्षा महसुस हुँदैन? भन्ने प्रश्नमा मुस्कुराउँदै जयकेशले भने, ‘अहिले मसँग कुनै चिन्ता छैन । हामी दुई बुढाबुढी छौँ । मैले जग्गा दान गरेको मानव सेवाश्रमले तपाईंको बुढेसकालमा सेवा गर्ने जिम्मा हाम्रो भयो भनेको छ । यदि कसैले गरेन र एक्लै परेर मरिहाल्यौँ भनेपनि नगरपालिकाले लाश उठाएर सद्गद सम्म त गरिदेला..(हाँसो) ।’ उनकी श्रीमति इन्दू पनि आफूहरुको स्वामित्वमा आएको सम्पत्ति धेरै मानिसहरुको लागि उपयोगी हुँदा आनन्दको अनुभूति भएको बताउँछिन् । ‘कोही एक व्यक्तिलाई दिएको भए उसले रक्सी र जुवामै सकिदिन्थ्यो कि । अहिले हामीले धेरै सन्तान कमाएका छौँ ।’

जयकेश दान, जीवन र समाजमा शान्तीको अनोन्याश्रीत सम्बन्ध रहेको बताउँछन् । दानले मनस्थितिमा शान्ति र सकारात्मक उर्जा पैदा गर्ने र त्यसले मनलाई सन्तुष्टि मिल्ने उनको अनुभव छ । मनमा सन्तुष्टि भएपछि नै सुख प्राप्त हुने र त्यसले मोक्ष प्राप्त गरेको जस्तै सुखानुभूति जीवित रहँदै गर्न सकिने उनी बताउँछन् । ‘मानिसहरु स्वर्ग माथि छ भन्छन् । म त भन्छु स्वर्ग यहीँ छ । तपाईंले जब सुख र शान्ति एकैपटक महसुस गर्नुहुन्छ त्यतिबेला यहीँ स्वर्ग हुन्छ । त्यस्तो अवस्था दान गर्दा नै प्राप्त हुन्छ ।’

उनलाई दान गर्न सम्पत्ति नै हुनुपर्छ भन्ने पनि लाग्दैन । भन्छन्, ‘तपाईंसँग जीवन धान्ने प्रयाप्त साधनस्रोत छ भने तपाईंलाई चाहिने जति राखेर नचाहिने र थुपारिराख्न मिल्ने चिज त्यसको अति आवश्यक भएकाहरुलाई बाड्नुहोस् । त्यही दान हो ।’

अहिले समाजमा व्याप्त भ्रष्टाचार र अकुत सम्पत्ति कमाउन भइरहेको होडबाजी देखेर उनलाई दिक्क लाग्छ । त्यसरी कमाएको सम्पत्तिले कहिले सुख दिन नसक्ने उनको दाबी छ । जयकेशको कर्म बुझ्दा र उनको विचार हुन्दा बुद्धिजीवी पिटरले भनेझैँ महसुस हुन्छ, ‘अझै प्रलयको दिन अइसक्या छैन ।’

  • No tags available
प्रकाशित मिति : २०७९ असार २९ गते बुधबार