बल्ल पास भयो कर्णालीको बजेट



सुर्खेत ।

कर्णाली प्रदेशमा दोस्रो चौमासिकको अन्तिम महिनामा बजेट पारित भएको छ । मंगलबार विनियोजन अध्यादेश, २०७८ र आर्थिक अध्यादेश, २०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्बाट बहुमतले पास भएको हो ।

असार १ गते कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेशसभामा बजेट पेस गरेको थियो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्मा प्रस्तुत गरेका थिए । नेकपा एमालेको संसद् अवरुद्धका कारण उक्त बजेट पारित हुन सकेको थिएन ।

बजेट पारित नहुँदा विकास निर्माणका कामदेखि अन्य काममा सञ्चालनमा समस्या भएको थियो । सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको नवौँ अधिवेशन सुचारु भएको २८ फागुनमा ६० दिन पुग्नुअगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् । अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार