सुर्खेत विमानस्थल बन्द हुने



सुर्खेत ।

कर्णाली प्रदेशको स्थायी राजधानीमा रहेको सुर्खेत विमानस्थल २५ दिनका लागि बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्ग ओभर–ले गर्न लागिएकाले उक्त अवधिभर नियमित उडान बन्द हुने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले जानकारी दिए । उनका अनुसार मंसिर १० देखि पुस ५ गतेसम्म नियमित उडान बन्द गरिने छ ।

‘यो नियमित प्रक्रिया हो । समय समयमा हामीले सुर्खेत मात्र नभइ आन्तरिकतर्फका विभिन्न विमानस्थलको नियमित मर्मत सम्भार गर्दै आएका छौं,’ उनले भने, ‘ओभर–लेको काम २५ दिनभित्र सकाउने योजना छ ।’

विसं. २०२३ सालमा स्थापना भएको यो विमानस्थलको धावनमार्गको लम्बाई १२ सय ५५ मिटर छ भने चौडाइ ३० मिटर छ । यो विमानस्थलमा एटीआर–४२ सिरिजको जहाजले उडान–अवतरण गर्दै आएको छ ।

यो विमानस्थलमा निजी वायुसेवा कम्पनी बुद्ध एयरले नियमित उडान गर्दै आएको छ । यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै बुद्धले काठमाडौं–नेपालगन्जका लागि थप एउटा उडानसहित दैनिक ६ उडान गर्ने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार