कर्णाली प्रदेश प्रमुखमा परियार



कोहलपुर ।

कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार नियुक्त भएका छन् । संघिय सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई हटाएर परियारलाई नियुक्ती गरेको हो ।

परियार यसअघि प्रदेश २ का प्रदेश प्रमुख भएका थिए । तत्कालिन केपी ओली शर्मा नेतृत्वको सरकारले उनीहरुलाई हटाएको थियो । बाँके कोहलपुरका परियारलाई सोमबारको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

बैठकले सुदुरपश्चिम र प्रदेश १ मा समेत नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । प्रदेश २ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त गरेकी छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ’ख’ बमोजिम उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार